खेल

घरेलु जुनियर प्रतियोगिताको खाँचो: सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार राष्ट्रिय खेल संघहरूले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

भारतको जयपुरमा भएको आइएचएफ ट्रफीमा कांस्य पदक जित्न सफल यु–१८ टोलीलाई बधाईका साथै सोही प्रतियोगितामा सहभागी यु–२० ह्यान्डबल टोलीको स्वागत गर्न आयोजित कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।

‘हरेक खेल संघले घरेलु जुनियर प्रतियोगिता आयोजनामा जोड दिनुपर्छ। जुनियर प्रतियोगितालाई ध्यान नदिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा सम्भव हुँदैन,’ सदस्यसचिव घिसिङले ‘राष्ट्रिय टिम बलियो बनाउन पनि जुनियर प्रतियोगितामा जोड दिनै पर्छ। ’सदस्य–सचिव घिसिङले पुराना पदाधिकारीसहित राष्ट्रिय खेल संघमा युवा नेतृत्व पनि आउनुपर्ने धारणा व्यक्त गरे। ‘खेल संघमा युवाहरू पनि नेतृत्वमा आउन जरुरी छ। 

पूर्वखेलाडी, प्रशिक्षक, रेफ्री संघका पदाधिकारीका रूपमा आउनुपर्छ। पुराना पदाधिकारी पनि चाहिन् । मिलाएर एउटा टिम बनाउनु पर्छ।’ सदस्यसचिव घिसिङले भने, ‘पुराना साथीहरूले पनि म भए सबै ठीक, अरू भए बेठीक भन्ने सोच त्याग्नुपर्छ।’ घिसिङले पदकविजेता टोलीका साथै सहभागी टोलीका खेलाडीलाई सीमित स्रोत र साधानका बावजुद उच्च प्रदर्शन गरेकोमा प्रशंसा गरे।

सो अवसरमा सदस्यसचिव घिसिङले खेलाडी, प्रशिक्षक र व्यवस्थापकसंग प्रतियोगितामा सहभागी हुँदाको अनुभव, खेलाडीको प्रदर्शन तथा घाइते खेलाडीबारे चासो व्यक्त गर्दै खेलाडीको उपचारमा विशेष ध्यान दिन संघलाई निर्देशन दिए।

जुलाई १० देखि १४ तारिखसम्म भएको प्रतियोगितामा यु–१८ तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३०–२८ ले पराजित गरेको थियो। यु–२० मा भने तेस्रो स्थानका लागि नै भएको खेलमा माल्दिभ्सले नेपाललाई हराएको थियो। दुवै उमेरसमूहमा नेपालबाट पुरुष टोलीले सहभागिता जनाएको थियो। टोली मंगलबारै स्वदेश फर्किएको हो।

यु–१८ खेलाडी टोली सोनिश तामाङ, हविन छन्त्याल, रोशन विक, विवेक थापा, ऋतिक परियार, प्रसनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, नीरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा ।

यु–२० खेलाडी टोली प्रलेश गुरुङ, सुदीप घले, निशान परियार, मनीषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राणा, दबिन जुग्जाली पुन, मिलन खवास, मनीष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दीपेश खड्का र सुमित राणा।

प्रकाशित: २ श्रावण २०८१ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App