खेल

इन्डोनेसियाकाे पेर्सिकबाट तेस्रो सिजन खेल्दै रोहित

नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केडिरीबाट लगातार तेस्रो सिजन खेल्ने भएका छन्।

पेर्सिकले शुक्रबार सामाजिक सन्जालमार्फत आक्रामक मिडफिल्डर रोहितसँग तेस्रो सिजन पनि सम्झौता नवीकरण गरेको जानकारी दिएको हो। पछिल्लो दुई सिजनमा ३२ वर्षीय रोहितले पेर्सिक लागि ५६ खेल खेल्दै तीन गोल गरेका छन्।

इन्डोनेसियन यो सिजनको लिगा वान अगस्ट दोस्रो सातादेखि सुरु हुँदै छ। गत सिजन पेर्सिक नवौं स्थानमा रहेको थियो। लिगामा १८ क्लबले सहभागिता जनाएका थिए।

नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मच्छिन्द्रबाट सन् २००९ मा उनले व्यावसायिक खेल करिअर सुरुआत गरेका थिए। सन् २०१० देखि २०१२ सम्म उनले भारतको आई लिग क्लब हलबाट खेले। त्यसपछि उनी लिगा वानमा खेल्न इन्डोनेसिया पुगे। पेकानबारुमा आबद्ध भएका उनले एक सिजन बिताए।

त्यसपछि उनी पेर्सिजा जकार्तामा आबद्ध भए। दुई सिजन पेर्सिजाबाट खेल्दा उनले ६६ खेलमा ६ गोल गरे। सन् २०१६ मा भने उनी मलेसियन लिग क्लब तेरेन्गानुमा अनुबन्धित भए।  अर्को सिजन उनी जकार्तामै फर्किए। त्यसअघि उनले मनाङ मर्स्याङ्दीबाट पनि खेलेका थिए।

त्यसयता उनी लिगा वान खेल्दै आएका छन्। रोहितले जकार्ताबाट सन् २०१८ को लिगा वान पनि जितेका थिए। त्यस वर्ष उनी सर्वोत्कृष्ट खेलाडी घोषित भए। जकार्तासँगको सम्झौता सकिएसँगै त्यसको चार वर्षपछि उनी पेर्सिक पुगेका हुन्।

रोहितले पेर्सिजाबाट खेल्दा लिगा वानबाहेक प्रेसिडेन्सियल कप र २०२१ को मेन्पोरा कप पनि जितेका छन्। अघिल्लो सिजन उनी लिगको उत्कृष्ट ११ खेलाडीभित्र परेका थिए। नेपाली राष्ट्रिय टोलीमा सन् २००९ मा डेब्यु गरेका उनले ९२ खेल खेलिसकेका छन्।

प्रकाशित: २९ असार २०८१ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App