खेल

चेन्नईविरुद्ध बैङ्गलोरः वर्षाले खेल प्रभावित भए कसको प्ले अफ यात्रा टुङ्गिन्छ?

इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफका लागि टिमहरू कसरतमा छन्। प्ले अफमा पुग्ने ४ मध्य २ टिमले स्थान सुरक्षित गरिसकेका छन् भने अब २ टिमका लागि स्थान खाली छ। जसका लागि साविक विजेता चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैङ्गलोर, लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावाद कसरतमा छन्।

अङ्क तालिकामा चेन्नई १४ अङ्कका साथ तेस्रो स्थानमा छ भने हैदरावाद चौथो, दिल्ली पाँचौ, बैङ्गलोर छैटौं र लखनउ सातौँ स्थानमा रहेको छ। जसमा दिल्ली र लखनउको प्ले अफमा पुग्ने सम्भावना निकै न्यून रहेको छ। जारी सिजनको समूह चरण अन्तर्गत अब ५ खेल हुन बाँकी छ।

तर, यी सबैमा चेन्नई र बैङ्गलोरबीचको खेलमा सबैको ध्यान हुनेछ। प्ले अफको रेसमा दुबैका लागि पर्सि १८ मे मा हुने खेल गर या मरको हुनेछ।

जारी सिजनमा चेन्नईले १३ खेल खेलेकोमा ७ मा जित हात पारेको छ। ७ खेलमध्य ५ खेल आफ्नै मैदानमा जितेको छ भने २ खेल विपक्षीको मैदानमा जितेको छ। अब उसले खेल्ने समूह चरणको आफ्नो अन्तिम खेलमाथि वर्षाको खतरा बढेको छ।

वर्षाका कारण यदि खेल रद्द भयो भने बैङ्गलोरको प्ले अफमा जाने सम्भावना सकिन्छ। हालसम्म बैङ्गलोरले १३ मध्ये ६ खेलमा जित निकालेको छ र १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ। यदि उसलाई प्ले अफमा पुग्नु छ भने अन्तिम खेलमा जित्नै पर्ने हुन्छ। त्यो पनि ठूलो मार्जिनका साथ। यदि खेल रद्द भयो भने दुबै टिमले समान १/१ अङ्क पाउने छ। र, चेन्नई प्ले अफमा पुग्ने रेसमै रहने छ। तर, खेल जितेको अवस्थामा चेन्नई सिधै प्ले अफमा पुग्ने छ। हाल चेन्नईको १४ अङ्क रहेको छ।

मौसम विभागका अनुसार बैङ्गलोरमा १४ मे देखि १९ मे सम्म वर्षाको सम्भावना रहेको छ। त्यसकारण खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

सिजनको उद्घाटन खेलमा चेन्नईको घरेलु मैदानमा बैङ्गलोर पराजित भएको थियो भने प्ले अफका लागि हुने खेलमा बैङ्गलोरले आफ्नो मैदानमा चेन्नईलाई हराउँदै बदला पनि लिन सक्छ। ऋतुरात गायक्वाडको कप्तानीमा रहेको चेन्नई र फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरका लागि समूह चरणको पर्सिको खेल गर या मरको हुनेछ।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:१४ बिहीबार

#ipl - indian premier league #Sunrisers_Hyderabad #chennaisuper_kings #royalchallengres_banglore #play_off