खेल

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

ट्वान्टी-२० विश्वकप छनोट एसिया क्वालिफायर

जितपछि समर्थकलाई अभिवादन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली। विकेट लिएपछि अविनाश बोहोरा (दायाँ) तस्बिर सौजन्य: क्यान

नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी-२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।

मंगलबार मलेसियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेसँगै सन्दीपले घरेलु टोली यस समय उपाधिको हकदार नै रहेको जिकिर गरेका हुन्। मलेसियामाथि ६ विकेटको जितसहित नेपाल समूह ‘ए’ बाट एक खेलअगावै जारी छनोटअन्र्तगत एसिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ।

सन्दीपले त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा नेपाल निकै राम्रो रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेका हुन्। ‘ब्याटिङमा पुराना समस्या हटेका छन्। एक जना चल्न नसक्दा ब्याकअप पनि पाइरहेका छौं। यो सुखद पक्ष हो,’ सन्दीपले भने, ‘समग्रमा अहिले तीनै पक्षमा हामी राम्रा रहेकाले उपाधि जित्न सक्छौं।’

आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धशतकीय इनिङ खेल्दै नेपाललाई सेमिफाइनलमा पुर्‍याए। म्यान अफ दी म्याच चयन कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे।

सन्दीपले दीपेन्द्रसिंह ऐरी लामो समयदेखि टोलीको महत्वपूर्ण सदस्य रहेको उल्लेख गर्दै उनी करिब एक/डेढ महिना मैदानबाहिर रहन सक्ने आफ्नो जानकारीमा आएको उल्लेख गरे। यद्यपि, दीपेन्द्रको अभाव टोलीमा धेरै खड्किन नदिने पनि सन्दीपको विश्वास छ। साथै उनले अहिले घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए।

‘नेपाल अहिले बलियो छ र कुनै पनि टोलीलाई घरेलु मैदानमा नेपालसँग खेल्न सहज हुने छैन,’ आगामी खेलबारे सन्दीपले भने, ‘ओमानसँग पनि यसअघिका खेल जस्तै लयमा रहेर खेल्नेछौं।’

यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भएको छ। समूहविजेताका लागि यी दुईबीच अन्तिम खेल आगामी बिहीबार हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६६ रनको लक्ष्य नेपालले १८औं ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धशतकीय इनिङ खेल्दै नेपाललाई जित दिलाए। म्यान अफ दी म्याच चयन कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे।

जितनजिक पुग्दा उनी १७औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे। कुशलले खेल फिनिस गर्ने अवसर पाए पनि सफल नभएकोमा दुःख लागेको बताए। त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्‍यो।

यो साझेदारीमा ओपनर कुशल भुर्तेलले नै ४३ रनको योगदान दिए। स्पिनर पवनदीप सिंहले भुर्तेललाई आउट गर्दै नेपालको पहिलो विकेट लिए। कुशलको इनिङमा समान चार चौका र छक्का रह्यो। अर्का ओपनर आसिफ शेखले दोस्रो विकेटका लागि कुशल मल्लसँग ६७ रनको साझेदारी गरे।

११.४ ओभरमा अमिरले नै आसिफलाई ३२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे। कप्तान रोहित पौडेल २ रनमा नै पभेलियन फर्किए। उनी पनि अमिरकै सिकार भए। तर, सन्दीप जोराले १८ रनमा अविजित रहँदै १२ बलअगावै जित सुरक्षित गराए।

मलेसियाको बलिङमा अमिरले तीन तथा पवनदीपले एक विकेट लिए। यस समूहमा लगातार दुई हारसँगै मलेसिया र सिंगापुरको यात्रा समूहचरणबाटै अन्त्य भयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।

आक्रामक सुरुआत गरेको मलेसियाले पनि २७ बलमा नै ५० रन जोड्दै नेपालका बलरमाथि दबाब बनाए। ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै मलेसियालाई राम्रो सुरुआत दिए।

अविनाश बोहोराले ५.५ ओभरमा जुबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए। त्यो विकेट पतनपछि पनि मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो।

एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए। तर, सातौं ओभरमा कप्तान अहमद पैmजल ३ रनमा नै रनआउट भए। एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे।

तथापि, लेग स्पिनर सन्दीपले अनुभवी ब्याटर वीरनदीप सिंहलाई ४ रनमा नै पभेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए। त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास गर्‍यो।

ओपनर सइदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी गरी इनिङ उकास्ने प्रयास गरे। तर, नेपालका कप्तान रोहितले सार्भिनलाई १३ रनमा कट एन्ड बोल्ड गर्दै उक्त साझेदारी तोडे। १४औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो।

यद्यपि, मलेसियाले खातामा थप ६ रन जोड्दा महत्वपूर्ण ब्याट्सम्यान सइदलाई ६८ रनमा गुमायो। गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच गराए। सइदको इनिङमा आठ चौका र दुई छक्का रह्यो। त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे। यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उन्नीले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्फ अग्रसर गराए।

 नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए। सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो। अनुभवी बलर सोमपाल कामी र करण केसी विकेटविहीन भएसँगै महँगा पनि रहे।

समूह ‘ए’ को प्रतिस्पर्धा रोमाञ्चक

जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरमा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्दा समूह ‘ए’ को प्रतिस्पर्धा भने रोमाञ्चक बनेको छ।

समूह ‘बी’ मा नेपाल र ओमानले समान दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्। यद्यपि, समूह ‘ए’ मा भने मंगलबार कमजोर मानिएको बहराइनले हङकङलाई २० रनले हराएसँगै सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ।

यो समूहमा संयुक्त अरब इमिरेट्स (युएई) दुई खेल जित्दै चार अंकका साथ शीर्ष स्थानमा छ। समान दुई खेलबाट समान एक जितका साथ बहराइन र हङकङ दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलमा पराजित कुवेत पुछारमा छ। यी चारै टोलीको समान एक खेल बाँकी छ।

समूहको अन्तिम खेलमा युएईले हङकङसँग र बहराइनले कुवेतसँग खेल्नेछन्। जित निकाल्न सक्दा चारै टोलीको सेमिफाइनल सम्भावना रहन्छ। यता, युएईले भने अन्तिम खेलमा हार बेहोर्दा सेमिफाइनल यात्राका लागि नेट रनरेटमा भर पर्नुपर्ने हुन्छ। त्यसैले बिहीबार हुने यस समूहका दुवै खेल सबैको प्रतीक्षामा हुनेछन्। 

प्रकाशित: १५ कार्तिक २०८० ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App