खेल

कबड्डीमा हामी नै आधिकारिक: लामा

काठमाडौं– लालकुमार लामाले आफूले नेतृत्व गरेको अखिल नेपाल कबड्डी संघ नै आधिकारिक भएको दाबी गर्दै आवश्यक परे कानुनी उपचार खोजिने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहीबार नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा अध्यक्ष र लामालाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिँदै कबड्डी संघ पुनर्गठन गरे पनि नयाँ विवाद सुरु भएको छ।

‘मलाई वरिष्ठ उपाध्यक्ष राखेर पुनर्गठन गरिएको भनिएको छ । त्यो झुटो हो । पत्र होइन मलाई सामान्य जानकारी समेत आएको छैन,’ राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पुनर्गठन गरेको भन्ने पनि पुष्टि भएको छैन । आधिकारिक जानकारी आएको छैन । कबड्डीको आधिकारिक मैले नेतृत्व गरेको संघ हो ।’

अध्यक्ष लामाले राखेप सदस्यसचिव केशवकुमार विष्ट रियो ओलम्पिकबाट फर्केपछि आधिकारिक धारणा लिने र त्यसपछि अगाडिको कदम लाग्ने बताएका छन् । ‘केही सञ्चारमाध्यममा पुनर्गठनको समाचार आएपछि हामीले आफ्नो धारणा राख्नैपर्ने भयो । सदस्यसचिवले फर्कंदासम्म कुर्छौं । त्यसपछि हामी आफ्नो बाटो लिन्छौं,’ राखेपका पूर्व सदस्य लामाले भने, ‘त्यस पनि आवश्यक परे कानुनी उपचार पनि खोज्नेछौं ।’

सदस्यसचिव नेपाली टोलीका सेभ दी मिसन हुँदै रियो ओलम्पिक पुगेका छन् ।

पुनर्गठनअघि पनि कबड्डीमा दुईवटा संघ अस्तित्वमा थियो । लामाले नेतृत्व गरेको संघलाई राखेपको मान्यता थियो भने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मान्यता दिएको संघमा सुनील राजकर्णिकार अध्यक्ष थिए ।

दुवै संघको सहमतिमा संघ पुनर्गठन गरेको भन्ने राखेको दाबीलाई पनि लामाले खण्डन गरेका छन् । ‘पुनर्गठनको विषयमा मसँग कुनै सल्लाह भएको छैन,’ उनले जोडे, ‘केही दिनअघि मात्र सदस्यसचिव आफैले बोलाएर संघको रकम फ्रिज हुन लाग्ने भनेर दिएर पठाउनुभयो । अहिले पुनर्गठनभन्दा म छक्क परेँ ।’

लामाले राखेप र एनओसी राजनीतिक आग्रहको आधारमा चलिरहेको र त्यहाँ भ्रष्ट मानसिकताका व्यक्तिहरू हाबी रहेको आरोप लगाए । ‘सबै हैन केही भ्रष्ट मानसिकताका छन् । सबैतिर पार्टीकरण गर्दै खेलकुद बिगार्ने काम भइरहेको छ,’ उनले आरोप लगाए, ‘क्रिकेट, बक्सिङ, टेबलटेनिस हुँदै अहिले कबड्डीमा आइपुगेको छ ।’

सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुदका क्रममा बंगलादेशमा तत्कालीन अध्यक्ष राजकर्णिकार र प्रशिक्षकहरूबीच झगडा भएपछि राखेपले आफ्नो नेतृत्वमा संघ पुनर्गठन गरेको स्मरण गर्दै लामाले भने, ‘नेपालकै बदनाम भए पनि राखेपले मलाई जिम्मा दिएको थियो । त्यसपछि हामीले निर्वाचन गरेर काम गरका थियौं । अहिले पनि निर्वाचनको लागि समय माग्दा सदस्यसचिवले ६ महिनाको अवधि दिनुभएको थियो। त्यसअनुसार भदौ १४ सम्म अझै हाम्रो कार्यसमितिको समय बाँकी छ । अहिले पुनर्गठन भन्ने हास्यास्पद तर्क हो।’

प्रकाशित: १९ श्रावण २०७३ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App