समाज

त्रियुगाका दलित 'सदा' समुदायमा उद्यम व्यवसाय मोह

क्याप्सनः त्रियुगा नगरपालिका। तस्बिर: महेश्वर/नागरिक

त्रियुगा नगरपालिकाका दलित तथा पिछडिएको समुदाय मुसहर (सदा) ले परम्परागत पेशा बद्लेर उद्यम व्यवसाय गर्ने रुची देखाएको छ। खेतबारी, निर्माणस्थल र खोला बगरमा ज्याला मजदुृरी गर्दै आएको सदा समुदायका अगुवाहरुले पेसा बदलेर उद्यम व्यवसाय गर्ने चाहना गर्न थालेका छन्।  

पुस्ताैंदेखि गरिव र बिपन्न बर्गमा सूचिकृत मधेसी दलित सदा समुदायमा ८/१० वर्ष उमेर हुँदै आमाबाउ र गाउँका अगुवाको साथ लागेर दैनिक ज्याला मजदुरी गर्न थाल्ने परम्परा छ। सानै उमेरदेखि शिक्षादिक्षाभन्दा ज्यु पाल्ने काममा लाग्ने गरेका कारण अशिक्षा र गरिवीले कलिलै उमेरमा बिहे गर्ने, जन्मान्तर निश्चित नगरी बग्रेल्ती सन्तान जन्माउने यो समुदायलाई पुस्तौँदेखि जिवीकोपार्जनमै समस्या छ।  

तराई मधेस क्षेत्रमा बसोकास गर्दै आएको यो समुदायका अगुवाहरुले अव परम्परागत पेशा त्यागेर नयाँ उद्यम व्यवसाय गर्ने इच्छा प्रकट गरेका छन्। त्रियुगा नगरपालिकाले सदा समुदायको पेशा रुपान्तरण र समग्र विकासलक्षित योजना सञ्चालन गर्न र्खरै सम्पन्न गरेको राय संक्रम कार्यक्रममा उनीहरुले आयआर्जनमुखी पेशा गर्ने चाहना व्यक्त गरेका हुन्।

नगर सभाकक्षमा आयोजित ‘आर्थिक उपार्जनमा सदा समुदायको संलग्नता’ विषयक अन्तरक्रियामा उनीहरुले सिप सिकेर उद्यम व्यवसाय गर्न चाहेको, धनी हुने मन भएको, पक्की घर बनाएर बस्न, मोटरसाईकल चढ्न मन लागेको बताए। कोहीले धेरै पढ्न, सिप सिक्न पाए हुन्थ्यो भन्ने अभिव्यक्ति दिए भने कसैले उद्योग खोल्ने, धेरै पैसा कमाउन मन परेको कुरा सुनाए। नगरप्रमुख बलदेव चौधरीले सदा समयदायलाई आयआर्जनमा लगाउँदै उद्यम व्यवसायतर्फ आकर्षित गर्न चाहेको बताएपछि उनीहरु हौसिदै सहयोग (अनुदान) पाए जुनसुकै उद्यम गर्न तयार रहेको बताए।  

१६ वडा र ८२ सदस्यीय कार्यपालिका रहेको त्रियुगा नगरपालिकामा एक मात्र सदा समुदायकी महिला सदस्य किसनवति सदा छिन्। त्रियुगा १२ नं. वडाबाट प्रतिनिधित्व गर्ने उनले परम्परागत पेसा त्यागेर उद्यम व्यवसायमा लाग्न तथा अन्यक्षेत्र काम गरेर आर्थिक उपार्जन गर्न चाहेको बताईन्। उनले सदा समुदायका बालबालिकालाई पढ्ने वातावरण बनाउनुपर्ने तथा युवा युवतिलाई प्लम्बिङ, सैलुन, ड्राइभिङ, अगरबती, मैनबत्ती, डकर्मी तथा सिकर्मी (फर्निचर)लगायत पेसा गर्नका लागि आवश्यक तालिम दिलाउन नगरपालिकासँग आग्रह गरिन्।  

अगुवाहरुले सदा समुदायमा रहेको बिकृति बिसंगति नहटेसम्म रुपान्तरण हुन गाह्रो हुने भन्दै त्यसलाई हटाउन जनचेतनाको खाँचो पनि औंल्याए। नगरपालिकाले आवश्यक तालिममार्फत सिप सिकाएर उद्यम व्यवसाय गर्न अनुदान तथा औजार उपकरणको पनि माग सहभागीहरुले गरे।

अगुवा मिश्रीलाल सदाले दुईचार दिन काम गरेर कमाएको पैसा नसकिन्जेल काम नगर्ने र बसिबसि रक्सी मासु खाएर सकेपछि मात्र काम गर्न जाने बानी नत्यागेसम्म सदा समुदाय अघि नबढ्ने बताए। उनले यस्तो बानी हटाउन जनचेतना बढाउन तथा काममा व्यस्त हुनुपर्ने उनको सुझाव थियो। दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने सदा समुदायलाई यस्तो अन्तरक्रिया, गोष्ठीजस्ता कार्यक्रममा आउँदा साँझमा हातमुख जोड्न समस्या हुने बताएपछि मेयर चौधरीले भत्ताको व्यवस्था गर्ने आश्वासन दिएका थिए।

नगर उद्यम विकास शाखा प्रमुख राजकुमार खड्काले त्रियुगा नगरभित्रका सदाहरुको अवस्थाबारे जानकारी दिएका थिए भने घरेलु तथा साना उद्योग महासंघ उदयपृुरका अध्यक्ष मधुकर थापाले पिछडिएको समुदायलाई व्यवसायिक तालिम दिएर उद्यममा लगाउँन सके आर्थिकोपार्जन गराउन महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाए। सदा समुदायको सीप विकास गर्न र उद्यम दर्ता कार्यमा महासंघले सहजीकरण गर्ने उनको प्रतिबद्धता थियो।

नगर सामाजिक विकास शाखा प्रमुख कार्यक्रम अधिकृत विश्वजीत राईका अनुसार त्रियुगाका १६ वडामध्ये ४ वटाबाहेक सबै वडामा सदा समुदायको बसोबास छ। वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १३ मा बसोबास रहेको सदा घरधुरी ५ सय ५८ र जनसंख्या २ हजार ५ सय ९ जना रहेको अधिकृत राईले बताए। 

उनका अनुसार वडा नं. १०, १४, १५ र १६ भने सदा समुदायको बसोबास छैन।  मेयर चौधरीले छलफलबाट निस्केको निचोडलाई अघि बढाउन नगरपालिकाले तत्काल कार्यक्रम तय गर्ने बताएका छन्। पिछडिएको सदा समुदायलाई परम्परागत, न्यून आय हुने पेशाबाट अलग गर्दै आयआर्जनमुखी काममार्फत आर्थिक, शैक्षिक, सामाजिक र सांस्कृतिक रुपमा अघि बढाउन नगरपालिकाले योजनाबद्ध कार्यक्रम छिट्टै घोषणा गरेर कार्यान्वयनमा ल्याउने उनले जनाएका छन्।

प्रकाशित: २ फाल्गुन २०७८ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App