समाज

तीन दिन पहिले बेपत्ता बालकको हत्या भएको पुष्टि

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबारदेखि बेपत्ता भएका नबालक बिवेक बिष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

सोमबार बिहान ११ बजेतिर दिदी नता पर्ने १५ वर्षीया पुनम बिष्टसँग घर नजिकै जामुन खान गएका उनी बेपत्ता भएका थिए। बिवेकलाई सडकमै छोडेर साथीको घर गएको र ५ मिनेटमा फर्कदा उसलाई नदेखेको पुनमले सुरुमा बताएकी थिइन्। 

दुई दिनपछि बुधबार झण्डै ५ किलोमिटर तल टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा बालक मृत अवस्थामा भेटिएका थिए। कैलालीका प्रहरी उपरीक्षक बिश्व अधिकारीले बालकको हत्या भएको अनुसन्धानबाट खुलेको बताएका छन्। 

‘पारिवारिक रिसिईवीका कारण बालकको हत्या भएको देखिन्छ’, उनले भने। बालकको हत्यामा संलग्नलाई आज नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उनले बताए। जामुन खान लगेकी दिदी लगायत अन्य व्यक्तिको पनि हत्यामा संलग्नता रहेको बारेमा अनुसन्धान भैरहेको उनले बताए।

प्रकाशित: २४ असार २०७८ ०५:१६ बिहीबार

नवालक बिवेक बिष्टको हत्या