समाज

कैलालीमा सक्रिय संक्रमित २ हजार बढी (अपडेट)

कैलाली जिल्लामा दोस्राे लहरको कोरोना संक्रमण तीव्ररुपमा बढेको छ। संक्रमणले जटिल प्रकृतिका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण दर र मृत्युदर कैलाली जिल्लामा रहेको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ। 

पिसिआर परीक्षण गरेका १४ सय ६८ र एन्टिजेन जाँच गरेका ६ सय ८६ गरी २ हजार १ सय ५४ सक्रिय संक्रमित रहेका छन्। कैलाली अस्पतालका आईसोलेसनमा ८५ जना संक्रमित उपचार गराईराखेको स्वास्थ्य  निर्देशनालयले जनाएको छ। अन्य संक्रमित होमआईसोलेसनमा रहेका छन्।

कैलालीमा अहिले सम्म ९ हजार १ सय ७७ जनालाई कोराना संक्रमण भएकोमा ६ हजार ९ सय ६० निको भएर घर फर्केका छन्।यहाँ कोरानाको  संक्रमणले अहिलेसम्म ६३ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य  निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको कैलालीमा बैशाख १२ गते यता ३२ जनाको मृत्यु भएको हो। 

दोस्राे लहरको कोराना संक्रमण पछिल्लो दुईुसाता यता तीव्र रुपमा बढेको हो। गम्भिर संक्रमितको चापले अस्पताल भरिभराउ भएका छन् भने आईसियु, अक्सिजन सहितको शय्याकाे अभाव भएको छ।  अक्सिजन नपाएर, आईसियु,   भेन्टिलेटर नपाएर संक्रमित छट्पटिरहेका छन्।  कैयौँले ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ।  सुदूरपश्चिम प्रदेशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४० रहेको छ।  कोरानाा संक्रमणले अहिले सम्म १ सय ४५ जनाको मृत्यु भएको छ।

प्रकाशित: २३ वैशाख २०७८ ०४:५१ बिहीबार

कैलाली सक्रिय संक्रमित