समाज

कोरोना सङ्क्रमितको शव उठेन

कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन।      

रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो।      

    सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेशन केन्द्रमा नै रहेको कोभिड–१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए।  

    शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन केन्द्र पुर्‍याएलगत्तै साँझ ५:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन्। उनीहरुले व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन माग गरेका छन्।      

    कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि– २०७६ मा शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्ने उल्लेख छ। कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ। यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ।      

    शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यकपर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए। अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको बताउनुभएका अध्यक्ष यादवले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने जानकारी दिए।  

सप्तरीमा योसँगै मृत्यु हुनेको सङ्ख्या दुई महिलासहित १० जना पुगेको छ। 

 

 

प्रकाशित: ५ आश्विन २०७७ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App