समाज

उपत्यकामा कोरोनाबाट एक सातामै ३१ जनाको मृत्यु

काठमाडौ उपत्यकामा दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणको कारण एक सातामै ३१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएदेखि यता कोरोनाबाट मृत्यु  हुनेको संख्या ८८ पुगेको छ।  

ती मध्ये मंगलबार ४ जना, सोमवार ८ जना र आइतबार ६ जनाको मृत्यु भएको थियो। नेपालमा कोरोना संक्रमण सुरुभएदेखि यता उपत्यकामा ९५ प्रतिशत मृत्यु एक महिनाको अवधिमा भएको तथ्याकंले औल्याएका छन्।  

उपत्यकामा कोरोना संक्रमणमा बृद्धि भएसंगै संक्रमितहरुको मृत्युदर पनि बृद्धि भइरहेको तथ्यांकले औल्याएको छ। पछिल्लो चरणमा मृत्यु हुनेहरुमा धेरै जसो ६० वर्ष माथिका व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ।  

पछिल्लो मृत्यु हुनेहरुको तथ्याकंले धेरै जसो दीर्घरोगी,शरिरको प्रतिरक्षा प्रणाली कमजोर भएका र बृद्ध–बृद्धा रहेकोले उनीहरुलाई घर बाहिर ननिस्कन र उनीहरुमा संक्रमणको जोखिम कम गराउन परिवारले सहयोग गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मंगलबार नै देशभरिमा थप १० जनाको मृत्यु भएको छ। ती मध्येमा ४ जना महिला र ७ जना पुरुष छन्। मृत्यु हुनेहरुमा सिराहाकी ३५ वर्षीया,बाराकी ५५,काठमाडौंकी ८६, रुपन्देहीकी ६४ वर्षीय महिला छन्। मृत्यु हुने पुरुषहरुमा सर्लाहीका ६४ बर्षीय, बाराका ५५ बर्षीय, काठमाडौंका ३४,९६,६६ र  मकवानपुरका ६१ र कपिलबस्तुका ५८ बर्षीय पुरुष छन्। थप मृतक सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ जना पुगेका छन्। कुल संक्रमित मध्येमा ०.६५ प्रतिशत अहिलेसम्मको मृत्युदर रहेको छ।  

मंगलबार नै काठमाडौं उपत्यकामा मात्र ६ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित देशभरिमा गत चौबिस घण्टामा थप १४ सय ५९ जना संक्रमित भएका छन्। थप संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या ५६ हजार ७ सय ७८ पुगेको छ। संक्रमित मध्येमा ४० हजार ६ सय ३८ जना निको भइसकेका छन्। यो हिसावले नेपालमा निको हुने दर ७१.५ प्रतिशत छ। हालदेशभरिमा १५ हजार ७ सय ७९ जना सकृय संक्रमित छन्।  

 

 

प्रकाशित: ३१ भाद्र २०७७ ०६:५३ बुधबार

कोरोना भाइरस कोरोनाबाट मृत्यु