समाज

कारागार बन्यो संक्रमणको केन्द्र

जिल्ला कारागार सिरहा।

प्रदेश २ मा बुद्यबार एक सय ६९ जना नयाँ संक्रमित थपिएका छन भने ५८ जना निको भएर घर फर्केका छन। यससँगै प्रदेशमा संक्रमितको संख्या एघार हजार पाँच सय ३९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या पाँच हजार ९ सय ४१ पुगेको छ।  

सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा ६, बारामा १४, रौतहटमा ३८, सर्लाहीमा ३, महोत्तरीमा ५, धनुषामा ३ , सिरहामा ६७ र सप्तरीमा ३४ जना नयाँ संक्रमित थपिएका छन्।  

यस प्रदेशमा सबैभन्दा बढी संक्रमित पर्सामा २ हजार ३ सय ८२ छ। संक्रमितको संख्या बारामा ९ सय ९६, रौतहटमा १ हजार ७ सय ५४,  सर्लाहीमा १ हजार ६ सय ८८, महोत्तरीमा १ हजार ३ सय ८२, धनुषामा १ हजार ८ सय १६, सिराहामा ५ सय ६४ र सप्तरीमा ९ सय ५० पुगेको छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ९२ छ। यस प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक सय ६ जनाले ज्यान गुमाएका छन्।

कारागार बन्यो संक्रमणको केन्द्र

सिरहा कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। क्षमताभन्दा चार दोब्बर कैदीबन्दी रहेको यस कारागारमा एकै दिन ५९ जना कैदीबन्दी संक्रमित भेटिएपछि आइसोलेसन व्यवस्थापनमा सकस परेको छ।

संक्रमितलाई तत्काल आइसोलेसनमा सार्नुपर्ने हो तर स्थान छनौटनमा समय लागिरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। संक्रमित व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयको निर्णय पर्खेर बसेको उनले बताए।

यस कारगारमा एक सय ३५ पुरुष र १५ महिला कैदीवन्दी राख्ने क्षमता छ। तर पाँच सय ९४ जना कैदीवन्दीलाई कोचेर राखिएको छ। यस अघि तीन जना कैदीवन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

जेलर बबिता कुमारी महतोकाअनुसार जिल्ला अदालतबाट थुना आदेश भई आएकाहरुलाई राख्नै पर्यो। क्षमताभन्दा चार दोब्बर कैदीवन्दी राखिएको जानकारी माथी सम्मै छ। उनले भनिन्,‘सबै कारागारको यस्तै हाल छ।’

सानो ठाउँमा धेरैजना कैदी राखिएसँगै भौतिक दूरी कायम गर्न सकिएको छैन। पर्याप्त शौचालय र खुला ठाउँ नभएको सो कारागारमा रहेका सबै कैदीबन्दीको पिसिआर गर्नुपर्ने स्वास्थ्य प्रमुख यादवले बताए। दुई दिन भित्र सबै कैदीवन्दीको पिसिआर गरेर संक्रमण भए नभएको यकीन गर्नुपर्छ।

हाल संक्रमित भएकामध्ये अधिकांशलाई लक्षण भने देखिएको छैन। त्यसकारण भित्रभित्रै फैलिएको हुनसक्ने डर देखिएको कारागारका जेलर महतोले बताईन। पिसिआर गरिएका अधिकतरमा कोरोना पोजेटिभ देखिएको उनले बताईन। सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राखिएकाले भित्र फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ‘हामीले सक्दो व्यवस्थापन गरेका छौं,’ उनले भनिन, ‘तर भित्र कतिलाई कोरोना छ भन्ने स्पष्ट छैन, केही नमुना परीक्षण गर्दा अधिकांशमा देखिएकोले पनि डर फैलिएको हो।’ उनका अनुसार कारागारमा संक्रमण फैलिएकोले अहिले कैदीबन्दी भेटघाटमा रोक लगाइएको छ।

 

 

प्रकाशित: २४ भाद्र २०७७ १२:४८ बुधबार

कोरोना भाइरस प्रदेश २