समाज

कोरोनाको नाममा अनियमितता, बैतडीमा साढे ११ करोड खर्च

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा बैतडीका स्थानीय तहले साढे ११ करोडभन्दा बढी खर्च गरेका छन्। जिल्लाका १० वटा स्थानीय तहले ११ करोड ५२ लाख ४१ हजार ७ सय ८७ रूपैयाँ खर्च गरेका हुन्। गत आर्थिक वर्षमा स्थानीय तहले गरेको खर्च अपारदर्शी भएको भन्दै धेरै स्थानीय तहमा विरोध हुन थालेको छ।  

कोरोना रोकथामका नाममा अनियमित भएको आशंकामा स्थानीयले खर्च विवरण सार्वजनिक गर्न मागसमेत गरेका छन्। सबैभन्दा बढी पाटन नगरपालिकाले खर्च गरेको छ। क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, आइसोलेसन निर्माण, राहत वितरण, औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री खरिद, गाडी भाडालगायतका शीर्षकमा १ करोड ७३ लाख रूपैयाँ खर्च गरेको हो। राहत वितरणमा मात्रै नगरपालिका ७३ लाख ५० हजार रूपैयाँ खर्च गरेको छ।

नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा समितिले खर्चबारे अध्ययन गरिरहेको बताइएको छ। नगरपालिकाले कोरोना नियन्त्रण र रोकथाम तथा अन्य विकास निर्माणका काममा गरेको खर्च नियमानुसार नभएको भन्दै स्थानीयले विरोध गरेपछि समिति गठन गरी छानबिन गर्न थालेको छ।

दोगडाकेदार गाउँपालिकाले पनि कोरोना रोकथाममा १ करोड ६५ लाख ६६ हजार रूपैयाँ खर्च भएको जनाएको छ। गाउँपालिकाले कोरोना राहत वितरणमा २८ लाख ३४ हजार रूपैयाँ खर्च भएको जनाएको छ। यस्तै क्वारेन्टिन निर्माण र व्यवस्थापनमा ७८ लाख १३ हजार रूपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए। स्वास्थ्यकर्मी जोखिम भत्तामा १२ लाख ८३ हजार रूपैयाँ खर्च भएको छ। स्वयंसेवक शीर्षकमा ७ लाख २१ हजार रूपैयाँ खर्च गरेको छ। यसैगरी औषधि र स्वास्थ्य सुरक्षा सामग्री खरिदमा २१ लाख २६ हजार रूपैयाँ खर्च भएको छ भने पेट्रोलिय पदार्थमा १ लाख २८ हजार रूपैयाँ खर्चिएको गाउँपालिकाले जनाएको छ।

खर्च नियमानुसार नभएको भन्दै स्थानीयले विरोध गरेपछि समिति गठन गरी छानबिन गर्न थालिएको छ।

पुर्चौडी नगरपालिकाले गत आर्थिक वर्षमा कोरोना नियन्त्रण तथा व्यवस्थापनमा १ करोड ५४ लाख ७२ हजार रूपैयाँ खर्च गरेको छ। १० वटा वडामा क्वारेन्टिन निर्माण गरिएका र ती क्वारेन्टिनमा भारतबाट फर्केका नागरिकलाई राखिएको बताइएको छ। आइसोलेसन भवन निर्माणका लागि २२ लाख रूपैयाँ खर्च भएको छ भने भवन निर्माणको काम जारी रहेको बताइएको छ। तर क्वारेन्टिनमा बसेका नागरिकले भने उपयुक्त सुविधा नपाएको गुनासो गरेका छन्। डिलासैनी गाउँपालिकाले १ करोड ५० लाख ७२ हजार रूपैयाँ खर्च गरेको छ। राहतमा ३७ लाख, क्वारेन्टिन व्यवस्थापन र आइसोलेसन निर्माण, औषधि र स्वास्थ्य सुरक्षा सामग्री खरिद, यातायात र विविध शीर्षकमा १ करोड १३ लाख ७२ हजार रूपैयाँ खर्च भएको जनाएको छ। गाउँपालिकाले बढी खर्च गरेको भन्दै स्थानीयले खर्च विवरण माग गरेका छन्।

पञ्चेश्वर गाउँपालिकाले १ करोड ४२ हजार रूपैयाँ खर्च गरेको छ। राहत वितरणमा ६१ लाख ७० हजार २ सय २९ रूपैयाँ यस्तै औषधि खरिदमा ८ लाख ३८ हजार रूपैयाँ स्वास्थ्य उपकरण खरिदमा ४ लाख ९१ हजार रूपैयाँ खर्च गरेको छ। क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा ७ लाख ४१ हजार रूपैयाँ खर्च गरेको छ। गाउँपालिकाले अपारदर्शी खर्च गरेको भन्दै स्थानीय युवाले खर्च विवरण माग गरेका छन्। सूर्नया गाउँपालिकाले ९२ लाख ८५ हजार रूपैयाँ खर्च गरेको छ। १ हजार ३३ जनालाई राहत वितरण गरेको र सो शीर्षकमा २४ लाख ३२ हजार २ सय ९४ रूपैयाँ खर्च भएको जनाइएको छ। यस्तै गाउँपालिका ८ वटै वडामा क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा १२ लाख ८१ हजार रूपैयाँ खर्च भएको जनाएको छ।

शिवनाथ गाउँपालिकाले ९२ लाख ३९ हजार रूपैयाँ खर्च गरेको छ। क्वारेन्टिन व्यवस्थापन तथा निर्माणमा ३८ लाख २२ हजार २ सय ३० रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। यस्तै आइसोलेसन निर्माणमा ८ लाख ७५ हजार, औषधि तथा स्वास्थ्य सुरक्षा सामग्रीमा १२ लाख ८७ हजार रूपैयाँ खर्च गरेको छ। दशरथचन्द नगरपालिकाले ९१ लाख ७७ हजार रूपैयाँ खर्च गरेको छ। गत फागुनदेखि असारसम्म सो खर्च भएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी बताए। विकास निर्माणका योजनामा र कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्न स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।

सिगास गाउँपालिकाले ७० लाख ९० हजार रूपैयाँ खर्च गरेको गाउँपालिकाले जनाएको छ। औषधि खरिदमा ९ लाख रूपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए। यस्तै स्वास्थ्य सुरक्षा सामग्री खरीदमा ८ लाख रूपैयाँ खर्च भएको छ भने किट खरिदमा ३ लाख रूपैयाँ खर्च गरिएको छ।

मेलौली नगरपालिकाले ६० लाख २० हजार रूपैयाँ खर्च भएको जनाएको छ। कोरोनाका कारण उत्पन्न समस्यालाई न्यूनीकरणका लागि सो खर्च भएको नगरपालिकाले जनाएको छ। क्वारेन्टिन व्यवस्थापन र गाडी भाडामा ५१ लाख ७० हजार रूपैयाँ खर्च भएको छ भने राहत वितरणमा ८ लाख ५० हजार रूपैयाँ खर्च भएको नगरपालिकाका जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७७ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App