समाज

कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।  अस्पतालमा भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ६ निवासी ४६ बर्षिया महिलाको सोमबार बेलुकी साढें ६ बजेतिर शंकास्पद मृत्यु भएको थियो।  उनको सोमबार दिउँसो स्वाब संकलन गरिएकोमा मंगलबार बेलुकी ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।  

‘शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आयो,’ उनले भने ‘रिपोर्ट पोजेटिभ आएपछि आज नेपाली सेना सहितको टोलीले दाह संस्कार प्रक्रिया अगाडि बढाएको छ।’ अस्पताल स्रोतका अनुसार गत जेठ ३० गते भर्ना भएकी महिलामा फोक्सोमा समस्या देखिएको थियो।  श्वास फेर्न कठिनाई भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।  कोरोना संक्रमणको शंका लागेपछि उनको स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको रिपोर्ट पोजेटिभ आएको हो।  

रिपोर्ट नआउँदै मृत्यु भएपछि महिलाको शव अस्पतालको शव गृहमा राखिएको थियो।  योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।  यसअघि बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर ५ निवासी २५ बर्षिय युवकको मृत्यु भएको थियो।  भारतको मुम्वईबाट फर्केर आएका युवक क्वारिन्टिनमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो।  उनको पनि मृत्यु पश्चात स्वाब संकलन गरेर पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।  शिक्षण अस्पताल कोहलपुरमै कैलालीका एक ब्यक्तिको पनि शंकास्पद मृत्यु भएको छ।  मृतकको पनि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।  उनको भने अहिलेसम्म रिपोर्ट आइसकेको छैन।  

 

 

 

 

प्रकाशित: ३ असार २०७७ ०६:०६ बुधबार

कोभिड १९ कोरोनाभाइरस