नेपालमा शनिबार २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । तीमध्ये ९ सय १३ जना निको भइसकेका छन् भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार ३६ जना निको भएर घर फर्केका छन् भने दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म संक्रमण ७२ जिल्लामा पुगेको छ ।
जेठ २० गतेसम्म नेपालमा दुई हजार ९९ बिरामी भेटिएका थिए भने पछिल्लो ११ दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । ११ दिनमा तीन हजार दुई सय ३६ जना संक्रमित थपिएका छन् । पछिल्लो समयमा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ ।
जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।
जेठ २० गतेसम्म नेपालमा दुई हजार ९९ बिरामी भेटिएका थिए भने पछिल्लो ११ दिनमा तीन हजार दुई सय ३६ जना संक्रमित थपिएका छन् ।
शनिबार थपिनेमा सबैभन्दा धेरै रौतहटका ९२ जना छन् । यस्तै सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, पर्सा र बर्दियामा ६–६ जना, झापा र रुपन्देहीमा ५–५ जना, मोरङ र पर्वतमा ४–४ जना, दाङ र गुल्मीमा २–२ जना, महोत्तरी, बारा र नवलपरासी एकएकजनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १ लाख २७ हजार २ सय ८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय २० नमुनाको आरडिटी परीक्षण गरिएको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको संख्या थप दुई गरी ४ सय ९७ पुगेको छ ।
प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी प्रदेश २ मा १ हजार ९ सय ८७ जना र प्रदेश ५ मा १ हजार ५ सय २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ का १३ जिल्लामा संक्रमण फैलिएको छ । प्रदेशभरिमा ३ सय ४६ संक्रमित भेटिएका छन् भने १ सय ६४ जना उपचारपछि घर फर्केका छन् ।
प्रदेश २ का आठ जिल्लामा १ हजार ९ सय ८७ जना संक्रमित पुष्टि भएका छन् भने ३ सय ८० जना उपचारपछि घर फर्केका छन् । प्रदेश २ मा शनिबार दुई मृतकमा कोरोना पुष्टि भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
वाग्मती प्रदेशका १२ जिल्लामा १ सय८६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४६ जना डिस्चार्ज भएका छन् । प्रदेश ३ मा चारजनाको कोरोनाबाट मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लामा १ सय ९२ जना संक्रमित भेटिएका छन् भने १४ जना निको भएर घर फर्केका छन् । यो प्रदेशमा एकजनाको मृत्यु भएको छ ।
प्रदेश ५ का १२ जिल्लामा १ हजार ५ सय २० जनामा कोरोना पुष्टि भएको छ भने २ सय ७१ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ मा हालसम्म कोरोनाबाट पाँचजनाको मृत्यु भइसकेको छ । कर्णाली प्रदेशमा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जना उपचारपछि घर फर्केका छन् । त्यस्तै यस प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ भने १३ जना निको भएर घर फर्केका छन् । दुईजनाको मृत्यु भएको छ । हालसम्म मनाङ, मुस्ताङ, रसुवा र हुम्लामा संक्रमित भेटिएका छैनन् ।
प्रदेश अनुसार संक्रमित हुनेको संख्या
प्रदेश संक्रमित संख्या निको भएको संख्या मृत्यु
प्रदेश १ ३४६ १६४ –
प्रदेश २ १९८७ ३८० ३
वाग्मती १८६ ४६ ४
गण्डकी १९२ १४ १
प्रदेश ५ १५२० २७१ ५
कर्णाली ९१२ २५ ३
सुदूरपश्चिम १९२ १३ २
कुल ५३३५ ९१३ १८
प्रकाशित: ३२ जेष्ठ २०७७ ०४:५५ आइतबार