समाज

सबै नाका बन्द : पैदल आवतजावत रोक

कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ। हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो।  

गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत जावत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए। छिमेकी स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा पनि गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ, उनले भने, आगामी जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यकबाहेकका अन्य कामसमेत बन्द गरिएको छ।

बन्दाबन्दीको अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ।  

दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्धार गरेर ल्याइएका हलेसीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।  जिल्लामै पहिलोपटक हलेसीमा कोरोना सङ्क्रमित भेटिएपछि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अपनाउनुपर्ने सतर्कतालाई कडाइका साथ लागू गरेका छन्।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App