समाज

पीसीआर खरिद गर्ने तयारीमा स्थानीय तह

कोरोना परीक्षणको दायरा पालिकास्तरसम्म ब्यापक बनाउन ताप्लेजुङका ९ स्थानीय तहले कम्तिमा २ हजार थान स्वाब संकलन गर्ने पीसीआर भाईल र स्टिक खरिद गर्ने भएका छन् । 

जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बुधवारको बैठकले यहाँका सबै ९ स्थानीय तहका लागि तत्कालमा २ हजार थान पीसीआर भाईल खरिद गर्ने प्रकृया अघि बढाउन आवश्यक रहेको भन्दै यसका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।‘अब स्थानीय तह आफैंले कम्तिमा २–३ सम्म पीसीआर भाईल खरिद गर्ने प्रकृया अघि बढाउने छौं’पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले भने ।

उनले यसका लागि आफूले नेपाल सरकारबाट व्यवसायका लागि अनुमतिप्राप्त व्यवसायिक प्रतिष्ठानसंग सम्पर्क गरिसकेको जानकारी दिए । मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले पीसीआर खरिद प्रकृयाका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले गरेको अनुरोध सकारात्मक रहेको भन्दै आफूहरुले यसका लागि ठूलो क्षति गर्ने बताए ।

आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष बिश्वनाथ सिटौलाले स्वाब संकलनका लागि प्रयोग हुने उपकरण खरिदमा आफुहरु सबै स्थानीय तहसंग मिलेर सहकार्य गर्न मञ्जुर रहेको बताए । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बिदेशमा अलपत्र परेका नागरिक समेतलाई देश फर्काउने अभियान सम्मको सरकारी योजनाका आधारमा आफुले सबै स्थानीय तहलाई पीसीआर खरिदका लागि प्रस्ताव गरेको बताए ।‘हामी पूर्णतया तयारी अवस्थामा बस्नु पर्छ’उनले भने ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जनसंख्या र लाक्षणिक अवस्थाका आधारमा प्रत्येक स्थानीय तहले कम्तिमा २ सय र बढीमा ३ सय थान पीसीआर खरिद गर्नुपर्ने गरी बैठकले निश्कर्ष निकालेको जानकारी दिए ।‘यो बिषयमा सबै पालिका प्रमुखहरुसंग छलफल भईरहेको छ’उनले भने ।  

स्थानीय तहले खरिद गरी ल्याईने पीसीआर भने जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको जिम्मामा रहने भएको छ । मापदण्ड र स्वास्थ्य अवस्थाका आधारमा पीसीआर परीक्षण गर्नुपर्नेहरुको पहिचान सम्वन्धित क्षेत्रका स्वास्थ्यकर्मीले गरेपछि परीक्षण प्रकृया अघि बढाईने छ । 

एक स्थानीय तहले खरिद गरेको संख्या अर्को स्थानीय तहका नागरिकले प्रयोग गर्नुपर्ने अवस्थामा त्यसको खरिद मूल्य सम्वन्धित पालिकाबाट शोधभर्ना हुनेगरीको व्यवस्था गर्न लागिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।  

यहाँका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको समन्वयमा आएका करिव सयथान पीसीआर र २०० थान द्रुत परीक्षण निदान(आरडीटी )किट रहेका छन् । चीनको स्ववाशित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले यहाँका लागि १ हजार २०० थान आरडिटी किट पठाइदिएको छ । आउने क्रममा रहेको यो आरडीटी परीक्षणमा पोजेटिभ पाईएका र कोरोना संक्रमणका लागि बढी शंकास्पद व्यक्तिहरुलाई मात्र पीसीआर गर्नेगरी प्रकृया अघि बढाउने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको तयारी रहेको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या १ लाख २७ हजार ४६१ हो । 

प्रकाशित: ७ जेष्ठ २०७७ १०:४३ बुधबार

कोभिड १९ पीसीआर स्वाब परीक्षण