समाज

शुक्रबारे बजारका दुई घरमा आगलागी

माइजोगमाई गाउँपालिका–३, शुक्रबारे बजारमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि एउटा घर भत्काइएको छ। आगोले स्थानीय वेदराम गर्ग र छत्रकुमारी लावरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।  

सँगै रहेको रुक्मिणा प्रधानको घर आगो नियन्त्रणका लागि भत्काइएको छ। कपडा पसल रहेको गर्गको घरबाट राति पौने १० बजे आगो सुरु भएको थियो। तर, मानिस नबस्ने घरमा बिजुली पनि नभएका बेला आगो कसरी सुरु भयो भन्ने खुलेको छैन।  

आगोले गर्ग र लावरको घरमा रहेका खाद्यान्न, कपडा, अन्नपात, भाँडाकुँडालगायत सबै जलेर नष्ट भएपनि क्षतिको पूर्ण विवरण आइनसकेको शुक्रबारे प्रहरी चौकीले जनाएको छ। आगोले घर ध्वस्त भएपछि छत्रकुमारीको परिवार विस्थापित भएको छ। प्रहरी र स्थानीयको सक्रियतामा बिहान ३ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।  

 

प्रकाशित: ३० वैशाख २०७७ ०१:४६ मंगलबार

आगलागी