पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेर सकिँदै छ।
परिक्रमा सहभागीहरू भारतको विशौल हुँदै बिहीबार जनकपुर आइपुगेका उनीहरू आज बिहानैदेखि जनकपुरधाममा अन्तरगृह परिक्रमा गर्दै छन्। जनकपुर क्षेत्रको अन्तरगृह परिक्रमा गरेपछि विधिवत रूपमा परिक्रमा सकिने छ।
बिहीबार जनकपुर आइपुगेका परिक्रमामा सहभागीहरू जनकपुरको बाह्रबिघा, धर्मशालालगायत मठमन्दिरमा राति विश्राम गरेर बिहान विभिन्न पोखरीमा स्नान गरी अन्तरगृह परिक्रमा सहभागी हुने गर्छन्।

फाल्गुन १५ गते धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेर सकिँदै छ। यसलाई पञ्चकोशी परिक्रमा पनि भन्ने गरिन्छ।
जनकपुरधामस्थित सुन्दर सदन कुटीबाट किशोरीजी र कचुरीबाट मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला माध्यमिक परिक्रमा हुँदै आएको छ।
नेपाल तथा भारतसहित कुल १ सय ३३ किलोमिटर लामो दूरीमा पैदल यात्रा गर्ने यात्रीहरू निकै नियम निष्ठाका साथ १५ दिनको समय बिताउने गर्छन्।
.jpg)
१५ दिवसीय परिक्रमामा सहभागी हुन नसकेकाहरू पनि अन्तिम दिन जनकपुर नगरक्षेत्रको परिक्रमामा सहभागी हुँदै आएको छ।
मिथिला मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीका मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाका पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरेका छन्।
त्यसपछि भारतको करुणा, विशौललगायत धार्मिकस्थल हुँदै १४औँ दिनमा जनकपुरधाम फर्कने छन्। त्यसपछि एक दिन जनकपुरधाममा विश्राम गरी भोलिपल्ट अन्तगृही घुमेपश्चात् परिक्रमा सम्पन्न हुन्छ। महोत्तरीको कञ्चनवन पुगेर श्रद्धालु भव्य रूपमा होली खेल्ने परम्परा छ। धार्मिक विश्वासअनुसार अन्तरगृह परिक्रमा सकेको अर्को दिन मात्रै जनकपुरमा होली मनाउने परम्परा छ।
प्रकाशित: १ चैत्र २०८१ ०८:३२ शुक्रबार