समाज

यति एयरलाइन्स दुर्घटनाको दुई वर्ष : बिर्सनै गाह्रो हवाई घटना

त्यो दिनको मौसम निकै खुलेको पनि थियो। माघे संक्रान्ति परेकाले सबैतिर पर्वको रौनक थियो। पोखरेली नागरिक पनि पर्वमै रमाइरहेका थिए। खुलेको सफा मौसम, उत्तरतिर देखिएका हिमाली शृंखला, चकमन्न घाम, पोखरा त्यो दिन बिहानैदेखि हाँसिरहेको थियो, तर बिहान ११ बजेको मात्र के थियो, हल्ला फैलियो– पोखरामा जहाज खस्यो।

सामाजिक सञ्जालमा फैलिएको हल्ला वास्तविक थियो। ठिक दुई वर्षअघि (२०७९ माघ १) आजकै दिन पोखरामा यति एयरलाइन्सको ९एन एएनसी कलसाइनको एटिआर ७२–५०० सिरिजको जहाज दुर्घटनामा परेको थियो। बिहान १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको जहाज एकाएक पोखरा महानगरपालिका– ७ र १५ को बीचमा पर्ने मितेरी पुलनजिकै सेती खोचमा खसेर दुर्घटनाग्रस्त हुँदा चालक दलका चार र ६८ जना यात्रुसहित ७२ जनाको ज्यान गएको थियो।

पोखराले झन्डै पाँच दशकअघि देखेको सपना पूरा गराउँदै दुर्घटनाको १५ दिनअघि मात्र (२०२३ जनवरी १) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो। पोखराको पुरानो विमानस्थलबाट भइरहेको हवाई उडान उद्घाटनकै दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा सरेको थियो। लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटनामा पर्दा पोखरा क्षेत्रले धेरै प्रियजन र आफन्त त गुमायो नै; त्यसको असर पर्यटन क्षेत्रमा लामो समयसम्म रहिरह्यो।

पोखरा क्षेत्रका लागि सबैभन्दा ठूलो पीडा त्यो दुर्घटनाले दिलाएको स्थानीयको भनाइ छ। पोखराका पर्यटन व्यवसायी धर्मराज पन्थी भन्छन्, ‘पोखरामा भएको यति एयरलाइन्सको त्यो दुर्घटनाको पीडा लामो समयसम्म रहिरह्यो। विदेशी पाहुनाले अहिले पनि बेलाबेला त्यो घटनाको स्मरण गराउँछन्। भुल्न सकिने अवस्था नहुँदो रहेछ।’ व्यावसायीका अनुसार पोखरा क्षेत्रको पर्यटनमा त्यो दुर्घटनाको असर लामो समय रहेको थियो।

‘अहिले त असर केही छैन, तर सबैको स्मरणबाट त्यो दुर्घटना हट्न भने सकेको छैन’, उनले भने, ‘ठूलो घटना भएकाले सबैतिर स्मरणीय हुन्छ।’ दुर्घटनामा आफन्त गुमाउनेका लागि मात्र नभई समग्र देशवासीको मानसपटलबाटै त्यो दुर्घटना र त्यसको असर हट्न नसकेको उनले बताए। ‘अहिले पनि बेलाबेला सन्दर्भ जोडिन्छ र त्यसबारेमा चर्चा हुन्छ। घटना भएको दुई वर्ष बितिसक्दा पनि आँखैअगाडिको दुर्घटनाको दृश्य झल्झली आउँछ’, पन्थीले भने, ‘गण्डकी प्रदेशवासीले होनहार आफन्त गुमाएको त्यो दिन बिर्सन सकिन्न।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठ पनि यति एयरलाइन्सको उक्त दुर्घटना पोखरेलीले भुल्न नसक्ने बताउँछन्। ‘हाम्रा लागि ठूलो पीडा दिएको घटना हो, त्यसलाई बिर्सने कुरा रहँदैन’, श्रेष्ठ भन्छन, ‘दुर्घटना सबैतिर र सधैंजसो हुन्छन्। दुर्घटनालाई टार्न पनि सकिन्न, तर हाम्रा लागि यतीको उक्त दुर्घटनाले ठूलो पीडा दिएको थियो।’ अझ पर्यटन क्षेत्रका लागि त त्यो दुर्घटनाले सबैभन्दा ठूलो मार पारेको उनले बताए।

श्रेष्ठको भनाइमा अहिले पनि विभिन्न मुलुकमा दिनहुँजसो घटना–दुर्घटना भइरहेका हुन्छन्। ती घटनाको आफ्नै असर रहिरहन्छ। पोखराले त्यतिबेला त्यस्तै मार खेपेको उनले बताए। ‘यतीको उक्त दुर्घटना नघटेको हुँदो हो त पर्यटन क्षेत्रले अहिलेभन्दा केही बढी उचाइ लिएकै हुन्थ्यो। दुर्घटनापछि मान्छे जहाजै चढ्न पनि डराए, तर अहिले त त्यो अवस्था छैन। उक्त घटनाले पोखरेली नागरिकमाथि सोच्दै नसोचेको पीडा भने थपिदिएको हो’, उनले भने, ‘दुर्घटनामा परेको हवाई कम्पनीलाई नै उकासिन लामो समय लाग्यो। नेपालको हवाई क्षेत्रप्रति नै आशंका उब्जिएको थियो। अहिले भने त्यो टर्दै गएको छ।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि दुर्घटनाको दुई वर्ष भए पनि पोहोर (एक वर्ष) सम्म त त्यसको असर ताजै रहेको बताउँछन्। ‘दुर्घटना भएको दुई वर्ष भयो, पोहोरसम्म त त्यसको घटना सबैको स्मरणमा थियो, तर अहिले विस्तारै कम हुँदै गएको छ’, पराजुली भन्छन्, ‘नेपालमा एउटा घटनाको असर सेलाउन नपाउँदै अर्काे घटना भएकाले पर्यटन क्षेत्रमा विशेषगरी असर पर्ने गरेको छ।’

पर्यटन क्षेत्रमा विशेषगरी त्यो दुर्घटनाले असर पारेको उनले बताए। ‘पोखरामा भएको उक्त दुर्घटना बिर्सन नसक्नुमा अरू कमजोरी रहे। हामीले तत्काल कमजोरी चिर्न सकेनौं’, उनले भने, ‘कम्तीमा थप सजग हुनुपर्छ भन्ने सन्देश उक्त दुर्घटनापछि बल्ल अनुभूत भएको पनि छ।’ छानबिन समितिले उक्त दुर्घटनाको कारण पहिचान गरिसकेकाले ती कमजोरीलाई आगामी दिनमा सच्याउने अवसर दिएको पनि उनले बताए।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि यति एयरलाइन्सको उक्त दुर्घटना बिर्सन नसकिने बताउँछन्। ‘नराम्रो घटना छिटो गरी बिर्सनु पर्छ भनिए पनि बिर्सन सकिन्न। यतीको घटना पनि त्यस्तै हो’, लामिछानेले भने, ‘पोखरामा उक्त हवाई दुर्घटनापछि सुस्ताएको पर्यटन क्षेत्र उकास्नका लागि धेरै प्रयत्न गर्नुपर्‍यो।’ पछिल्लो समय भएका पर्यटनसँग सम्बन्धित केही कार्यक्रम उक्त दुर्घटनालाई बिर्साउने कारक बनेको उनले बताए। ‘कुनै न कुनै तहबाट पोखरामा कार्यक्रम भइरहेका छन्। यस्ता कार्यक्रममार्फत दुर्घटनाको उक्त असर बिर्साउने प्रयास भएको छ।’ विश्वका कहीं कतै दिनहुँजसो घटना दुर्घटना भइरहे पनि त्यसपछिका गतिविधिलाई ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित: १ माघ २०८१ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App