समाज

शक्तिकी पर्याय सुनिता

शक्ति समूहकी सहसंस्थापक तथा ‘आँसुको शक्ति’ लेखक ४७ वर्षीया सुनिता दनुवारको निधन भएको छ। उनी सोमबार आफ्नो निवासमा अचेत अवस्थामा भेटिएकी थिइन्। तत्काल गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको र केही बेरमै चिकित्सकले मृत घोषणा गरेको शक्ति समूहकी अर्की संस्थापक चरिमाया तामाङले जानकारी दिइन्।  

‘उहाँ आफ्नै निवासमा अचेत अवस्थामा भेटिएपछि तत्काल नेपाल मेडिकल कलेज पुर्‍याइएको थियो,’ उनले भनिन्, ‘अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकहरूले मृत घोषणा गरे।’ सुनिता फाउन्डेसनकी संस्थापकसमेत रहेकी दनुवार गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएकी थिइन्। मानव बेचबिखनबाट प्रभावित महिलाहरूसँग मिलेर उनले शक्ति समूह स्थापना गरेकी थिइन्। शक्ति समूहले बेचबिखनमा परेका महिलाका लागि काम गर्दै आएको छ।

२०३४ साउन १ गते दैलेखमा जन्मिएकी उनी सन् २०१३ मा ‘रामोन म्यागसेसे अवार्ड’ र सन् २०१४ मा ‘सी–१०’ अवार्डबाट सम्मानित समेत भएकी थिइन्। अमेरिकाको फच्र्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता महिलाको सूचीमा उनलाई समावेश गरेको थियो। सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले सुनिता दनुवारलाई सन् २०१८ को ‘ट्राफिकिङ इन पर्सन हिरो’ अवार्डको सम्मान दिएको थियो। उनका पति नृप दनुवार, एक छोरी स्वस्तिका र छोरा सुसान छन्।  

२८ वर्षअघि भारतको मुम्बईमा बेचिएकी सुनिताले त्यहाँको कोठीमा पाँच महिना बिताउनुपरेको थियो। सन् १९९६ मा त्यहाँ भोग्नुपरेको पीडालाई स्मरण गर्दै उनले ‘आँसुको शक्ति’ पुस्तकसमेत लेखेकी थिइन्। उनको परिवार दैलेखबाट भारतको जम्मु काश्मिरमा बसाइँ सरेको थियो। कमजोर आर्थिक अवस्थाका कारण उनका बुबा र आमाका काँधमा १० जना छोराछोरीको लालनपालनको जिम्मेवारी थियो। विभिन्न रोग र कुपोषणका कारण ६ जनाको मृत्यु भइसकेको थियो।  

चार छोराछोरीसहितको परिवार भारतको जम्मु काश्मिरमा आलु खेती गथ्र्यो। पाँच वर्षको उमेरमा नेपाल छाडेकी उनले १४ वर्ष हाराहारीकी हुँदा गिटी कुट्न थालिन्। गिटी लिन आएका ट्याक्टर चालक र सहचालकले मिठाईमा बेहोस हुने औषधि खान दिएर उनलाई मुम्बईको कोठीमा बेचिदिएका थिए।  

उनी बेचिएको वर्ष भारतको महाराष्ट्र सरकारले उनीसहित करिब पाँच सय युवतीलाई विभिन्न कोठीबाट उद्धार गरेको थियो। कोठीबाट उद्धार गरिएका महिलाहरू मिलेर २०५७ सालमा स्थापना भएको शक्ति समूहले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको छ। शक्ति समूहले आफ्नो मातहतमा रहेका बेचबिखनमा परेका जीवितहरूको पुनर्वासका लागि केन्द्र स्थापना गरेर व्यावसायिक प्रशिक्षण प्रदान गरिरहेको छ।

प्रकाशित: ९ पुस २०८१ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App