समाज

रसुवा-सिम्पानी–रोक्सिङ भञ्ज्याङ सडक कालोपत्रे हुँदै

कालोपत्रे सडक शिलान्यास गर्दै मन्त्री राई । तस्बिरः महेश्वर चामलिङ राई/नागरिक

खोटाङको रसुवा सिमपानी हुँदै रोक्सिङ भन्ज्याङ भएर भोजपुर जोड्ने सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ । रसुवा–सिमपानी–रोक्सिङ भन्ज्याङ पानधारे सडकको १५ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।  

प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै सडकको कालोपत्रको काम औपचारिक रुपमा सुरु भएको हो । प्रदेश सरकारको ४६ करोड ७५ लाख ९८ हजार ६ सय ५७ रुपैयाँ लागतमा  सडक स्तरोन्नतिसहित कालोपत्रे हुन लागेको हो । 

खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्किराम्चेको रसुवाघाटदेखि सिम्पानी, रोक्सिङ भञ्ज्याङ हुँदै भोजपुरको सीमास्थल पानधारे जोड्ने सडक मन्त्री राईले प्रदेश भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएको एक सय दिन पुगेको अवसर पारेर शिलान्यास गरेका हुन् । खोटाङबाटै प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री बनेका राईले कार्यकालको सय दिन पुगेको उपलक्ष्यमा गृहजिल्लाको सडक कालोपत्रे गर्ने कामको थालेनी गरेका हुन् । 

सडकको निर्माणको रेखदेख तथा सुपरिवेक्षण गर्ने जिम्मा पाएको पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार हाल रसुवादेखि सिमपानीसम्म १५ किलोमिटर खण्ड कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको छ । पूर्वाधार कार्यालय प्रमुख (डिई) ललितकुमार चौधरीका अनुसार ५.५० मिटर चौडाई सडक कालोपत्रे हुने छ भने दुवैतर्फ १ मिटर सोल्जर रहने प्राविधिक अनुमान छ । सडकको दायाँबायाँ १.१० मिटर नाला निर्माण हुनेछ । 

सडक कालोपत्रे निर्माणको जिम्मा याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीले पाएको छ । २०८१ साउन ७ गते सम्झौता भएको सडक ३ वर्षभित्र अर्थात ०८४ साउन ६ गतेसम्ममा निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहेको डिई चौधरीले बताएका छन् । सम्झौता अवधिभित्रै सडक निर्माण सक्नेगरी काम गर्न मन्त्री राईले सम्बन्धित निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको पनि डिई चौधरीले बताए ।  

रसुवा–सिमपानी खण्डको कच्ची सडक सञ्चालनमा आएको लामो समयसम्म पनि स्तरोन्नति नगर्दा हरेक वर्षायाममा स्थानीयलाई आउजाउ गर्न कठिनाई हुँदै आएको छ । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकलाई जिल्लाभित्रका आन्तरिक सडकमध्ये सबभन्दा पहिलो ‘कालोपत्रे सडक’को रुपमा देख्न चाहे अनुसार बजेट विनियोजन गरेको मन्त्री राईले बताए । उक्त सडक कालोपत्रे भएमा खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिणीभेगको भूगोलबासीलाई उदयपुर सदरमुकाम गाईघाट हुँदै तराई भेगसँग जोडिन सजिलो हुने मन्त्री राई बताउँछन् ।

सडक सिल्यान्यास कार्यक्रममा उस्थित खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, केपिलासगढी अध्यक्ष समिर राई, बराहपोखरी अध्यक्ष शालिकराम बञ्जरा, रावाबेसी अध्यक्ष फटिककुमार श्रेष्ठ तथा हलेसी तुवाचुङ नगर उपप्रमुख रमेश राउत, खोटेहाङ उपाध्यक्ष रुपेश राईलगायतले तोकिएकै समयभित्र कालोपत्रे गरिसक्न मन्त्री राईसँग आग्रह गरे । निर्धारित समयभित्रै सडक कालोपत्रे भए खोटाङबासीले सडक विकासको महसुस गर्ने उनीहरुको भनाई थियो ।  

ज्वाफमा मन्त्री राईले सम्झौता म्यादभित्रै कालोपत्रे गरिसक्न निर्माण कम्पनीलाई निर्देश दिदै बजेट अभावको महसुस कहिल्यै गर्न नदिने प्रतिबद्धता जनाए । यदि बीचैमा काम अलपत्र पारेर छाडेमा त्यस्ता निर्माण कम्पनीलाई माफी नदिने चेतावनीसमेत मन्त्री राईले दिएका छन् ।  

प्रकाशित: ७ पुस २०८१ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App