भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरूलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौँ मान्छेहरू कर्मचारीको रुपमा सहकारीमा आबद्ध रहेको उल्लेख गर्दै उनीहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताए।
उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन केही कानुनी जटिलताहरू रहेको उल्लेख गर्दै नमिलेका कानुन, ऐन र विधिहरू समयानुकूल बनाउन सरकारले चासो दिएको बताए। उनले सहकारीहरू देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताए। मुलुकमा ३१ हजार बढी सहकारी रहेको भए पनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
मन्त्री अधिकारीले थोरै सहकारीहरूले बदमासी गरेको भए पनि सबै सहकारीहरू खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताए।
प्रकाशित: ११ मंसिर २०८१ १९:१६ मंगलबार