समाज

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

कोशी ब्यारेज भएर आवतजावतमा रोक

पानीको वहावले खतराको तह पार गरेपछि आवतजावतमा बन्द गरिएको कोशी ब्यारेज पुल। तस्बिर: नागरिक

५६ वर्षपछि सप्तकोशी नदीमा यस वर्ष पानीको बहाव उच्च पुगेको छ। अहिले सप्तकोशीमा खतराका तह पार गरेपछि उच्च सतर्कता अपनाउन रातो झण्डा गाडिएको छ।

शनिबार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव साँझ छ बजेको मापन अनुसार पाँच लाख ६७ हजार ७६० क्यूसेक पुगेको छ। कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ।

सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी संन १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। त्यसपछि दोस्रो पटक यस वर्ष पानीको बहाव उच्च भएको हो। पानीको बहाव बढी पुग्ने क्रममा सन् १९८७ मा पाँच लाख एक हजार ७७१ क्युसेक पुगेको थियो। 

खतराको तह पार गरेर ५६ वटै ढोका बिहानैदेखि खुल्ला गरेपनि निरन्तर पानीको बहाव बढिरहेको छ। जसले गर्दा कोशी ब्यारेजमा उच्च खतराका लागि रातो झण्डा गाडिएको छ।

कोशी ब्यारेजमा सामान्यतय पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिम तर्फ र दुई लाख काटनेवितिकै पूर्व तर्फ बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। पानीको बहाव खतराको तह पार गरेपछि झण्डा पनि फहराइएको हो।

खतराको तह पार गरेसँगै पूर्वी तटीय र पश्चिम सप्तरीतर्फको क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तीन दिनदेखि पहाडी जिल्ला र पूर्वी तराईमा निरन्तर पानी परि रहेकाले सप्तकोशीमा पानीको बहाव बढिरहेको हो। पानीको बहाव निरन्तर बढेकाले गर्दा जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुल भएर आउँजाउँ गर्न रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फूयालद्दारा जारी विज्ञप्तिमा आवश्यक काम परे वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। वैकल्पिक राजमार्गको रुपमा चतरामा पुल भएकाले गर्दा उदयपुरको रामपुर ठोक्सिला हुँदै आवतजावत गर्नमा कुनै समस्या हुँदैन। 

भारतको बिहार राज्यको जल संसाधन विभागले पनि जलप्रवाह थप बढ्ने भएकाले गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। जन संसाधन विभागले यस पटक कोशीमा पानीको बहाव सात लाख आसपास पुग्ने अनुमान गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको सतह उच्च सर्तकताभन्दा पार गरि सकेपनि अहिलेसम्म कुनै क्षति भने नभएको बताए।

सन २०११ साल वैशाख १५ गते नेपाल र भारत बिच कोशी योजना सम्बन्धी सम्झौता सम्झौता पश्चात् कोशी ब्यारेज बनेको थियो। २०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

त्यति बेला कोशी नदीले तत्कालीन समयमा पूर्वी तटबन्ध भत्काउँदा लौकही भाण्टाबारी क्षेत्रको करिब १४ किलोमिटर खण्ड ठाउँ ठाउँमा भत्काएको थियो। तत्कालीन समयमा पूर्वका मेची र कोशी अञ्चलको सम्पर्क देशका अरु भागसँग पुरै टुटेको थियो।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध बने पछि यात्रुहरुले डुंगाको जोखिमपूर्ण यात्रा गर्नु परेको थियो। डुङ्गामा यात्रा गर्दा थुप्रैले ज्यान समेत गुमाउनुपरेको थियो। चतरा रामपुर  क्षेत्रको सडकलाई जोड्ने प्रयास स्वरुप निर्माण गरिएको फेरी निर्माण गरिएको थियो। अहिले भने चतरामा पुल बनेको छ।

२०६५ सालमा सप्तकोशीले तटबन्ध भत्काउँदै धार परिवर्तन गरेकोमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो। एक पटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काए पनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्छ।

यसैबीच, सप्तकोशी नदीले खतराको तह पार गरेपछि कोशी प्रमुखका मुख्यमन्त्री हिक्मत कार्कीसहितको टोलीले अनुगमन गरेको छ। कार्की नेतृत्व टोलीले सुरक्षा निकायका प्रमुखलाई कुनै पनि खतरा हुन सक्ने भएकाले गर्दा पुरै जनशक्ति हाइअलर्टमा राख्न निर्देशन दिएका छन्।

श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या 

सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झण्डै तीन किलोमिटर पश्चिमको श्रीलंका टापुमा फसेका २१ जनालाई उद्धारमा समस्या भएको छ।

श्रीलंका टापुको पश्चिममा समेत कोशीको भँगालो रहेको र सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेकाले समस्या भएको हो।

नदीको बीचमा बस्ती भएकाले गर्दा शुक्रबार रातिदेखि नै फसेकालाई उद्धार गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखले हेलिकप्टरबाट उद्धार गर्ने योजना बनाए पनि सम्भव नभएको हो।

‘उद्धारका लागि केन्द्रीय सरकारसमक्ष हेलिकप्टरको कुरा मुख्यमन्त्रीले कुरा गरेपनि, मौसमले पनि साथ नदिँदा सम्भव भएन,’ बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले शनिबार साँझ भने, ‘अहिलेसम्म सवै जना सकुशल रहेको आफन्तबाट सूचना पाएका छौं। अब भोलि (आइतबार) हेलिकप्टर मगाएर उद्धार गरिनेछ।’

अरु उपाय नहुँदा हेलिकप्टर नै पर्खनु परेको उनले बताए। श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बिचमा अवस्थित छ। बर्खामा बस्ती घेरिन्छ र टापुको रूप धारणा गर्दछ। 

नगरपालिकाले श्रीलंका टापुमा नबस्न अपिल गरेपनि अटेर गरेर बसेकाले पनि समस्या भएको मेयर कार्कीले बताए।

पाँच दशक अघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यस बेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।

यसैबीच, वराहक्षेत्र वडा नं-६ कै मंगलमा बाढी प्रवेश गरेपछि सुरक्षित स्थानमा पुग्न समस्या भएका परिवारलाई नगरपालिकाको अगुवाईंमा उद्धार जारी राखिएको मेयर कार्कीले बताए।

डुङ्गार्फत बस्तीमा पुगेर उद्धार थालिएको जानकारी दिइयो। पुरै बस्तीमा उद्धार गर्नुपर्ने संख्या भने यकिन हुन सकेको छैन।

प्रकाशित: १२ आश्विन २०८१ १८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App