समाज

अविरल वर्षाले डुबानमा उदयपुर

बाढीले डुबान भएको गाईघाटस्थ्ति पूर्वपश्चिम बरुवा बसपार्क। तस्बिर: महेश्वर

लगातार ४ दिनदेखिको अविरल वर्षाले उदयपुर र खोटाङलाई सोझो यातायातले जोडेको फोक्सिन्टारस्थित पक्की मोटरेबल पुल बगाएको छ।

पुल सेक्टर १ धरानले १९ करोड ६० लाख लागतमा निर्माण गरेर २ वर्षअघि मात्र सञ्चालनमा आएको पुल शनिबार दिउँसोको बाढीले बगाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) पशुपतिनाथ ज्ञवालीले बताए।

बाढीले पुल बगाएको पुष्टि गर्दै डिई ज्ञवालीले पुलको आर्क भत्काइदिएको र स्वल्याब पनि बगाउन थालेको जानकारी दिए।

बाढीले जताततै डुबान भई जिल्लाको जनजीवन कष्टकर पारेको छ। बुधबार मध्यरातिदेखि सुरु वर्षा शनिबार बिहानसम्म सामान्य भए पनि मध्यान्हदेखि भीषण परिरहेकाले डुबान र कटानको समस्या आएको हो।

वर्षाले सदरमुकाम गाईघाट बजार, पुरानो गाईघाट, बोटेटोल, मोतिगडा, जोगीदह, हडिया, खैजनपुर, देउरी, जलजले, राजाबास, चुहाडेलगायत आसपासका होचा क्षेत्र सबै डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार हालसम्म ५ हजार भन्दा बढी घरधुरी डुबानमा परिसकेका छन्।

त्यसैगरी स्थानीय नदी, खोला खहरे सबै बाढीले भरिभराउ भएका छन्। बाढीले दर्जनौं ठाउँमा जमिन कटान गरिरहेको खबर आए पनि यकिन तथ्याङ्क भने सङ्कलन हुन बाँकी छ। वर्षा नरोकिए अझ जोखिम बढ्ने छ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार जिल्ला भरी बाढी पहिरोको समस्या भएको रिपोर्ट आइरहेको छ। डुबान, कटान र पहिरोको समस्या धेरैतिर भए पनि हालसम्म मानवीय क्षति भएको खबर भने कतैबाट नआएको सिडिओ ङिमिरेले बताए।

सम्भावित जोखिमबाट बचन र बँचाउन जिल्ला विपत व्यवस्थापन समिति बैठक राखेर तत्काल उद्धार गर्ने निर्णय गरेको उनले सुनाए। समितिले कुनै पनि बेला आई पर्ने विपतको सामना गर्न जनपथ र सशस्त्र प्रहरी तथा नेपाली सेनाको उद्धार टोली तैनाथ राखेको पनि घिमिरेले बताए।

वर्षाले जिल्लाका सबै आन्तरिक सडकहरू अवरुद्ध भएका छन्। उदयपुर हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटका अनुसार मदन भण्डारी लोकमार्ग बाहेकका पक्की तथा कच्ची सबै सडक अवरुद्ध भएका छन्। मदन लोकमार्ग पनि पहिरो र रुख ढलेकाले कतिपय ठाउँ अवरुद्ध भएको छ।

उता पहाडी भेगका  सडकहरू पहिरोले पुरिनुका साथै भत्किएका कारण सदरमुकामसँग यातायात आउजाउ रोमिएको छ। सङ्घका अध्यक्ष ओमभक्त मैनालीका अनुसार लगातारको वर्षाले २ दिनअघिदेखि नै पहाडी भेगमा यातायात सञ्चालन रोकिन पुगेको हो।

प्रकाशित: १२ आश्विन २०८१ १७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App