समाज

काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु, साधन बिना उद्धारमा प्रहरी

बाढी, डुबान र पहिरोका कारण काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै २३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २३ पुगेको हो । 

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार काठमाडौं जिल्लामा ९ जना, ललितपुर जिल्लामा ९ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरमा मृत्यु हुने ५ जनामध्ये दुई जना बारे प्रस्ट जानकारी भने नआइसकेको एसएसपी घिमिरेले जानकारी दिए । यस्तै पाँच जना बेपत्ता छन् ।  

एसएसपी घिमिरेका अनुसार प्रहरीले सीमित  स्रोतसाधनका बाबजुद उद्धार कार्य गरिरहेको छ । ‘हामीसँग जम्मा दुई वटा मात्रै डुङ्गा छ । ती डुङ्गा,डोरी, टायर र लाइफ ज्याकेटको मद्दतले उद्धार गर्नुपरिरहेको छ,’ उनले भने, ‘जे सुकै भए पनि हाम्रो टोलीले हरेस नखाएर जोखिम मोल्दै काम गरिरहेको छ ।’

हालसम्म धनमालसहित भौतिक क्षतिको बाँकी विवरण भने लिन नसकेको एसएसपी घिमिरेले बताए । उनले भने, ‘यहाँ मान्छेकै ज्यान जोगाउन हम्मे हम्मे परिरहेको छ । भौतिक क्षतिको त कुनै गणना नै हुन सकेको छैन ।’

प्रकाशित: १२ आश्विन २०८१ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App