समाज

बस्ती पस्यो नारायणी

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी गैंडाकोट र भरतपुरका केही बस्तीमा पसेको छ।

गैंडाकोट नगरपालिका–२, ६, ७ र ९ र भरतपुर महानगरपालिका १ र २५ का नदी किनारका बस्तीमा नारायणी पसेको पसेको हो।

नारायणीले सबैभन्दा धेरै गैंडाकोट तर्फ क्षति गरेको छ। गैंडाकोट-७ का स्थानीय लेखराम सापकोटाका अनुसार बाढी पसेपछि स्थानीयहरूले आफ्ना सर-सामान वस्तु भाउलाई सुरक्षित स्थान तर्फ लागेका छन्।

अहिले जनप्रतिनिधि र प्रहरी आएर सुरक्षित स्थान तर्फ जानका लागि सहयोग गरिरहेको उनले जानकारी दिए।

गैंडाकोट आसपासमा सयको हाराहारीमा घर डुबानमा परेका छन्। यस्तै, भरतपुर तर्फ देवघाट, नारायणगढ र भरतपुर २५ को सासुवानि क्षेत्रका नदी किनारमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका एक स्थित देवघाटमा रहेको जय भोले कुटी (थारु कुटी) र अखण्ड धर्मशालामा बस्ने एक सय मानिसलाई माडवारी समाजको भवनमा उद्धार गरी सारेको छ।

यस्तै, भरतपुर-२५ सासुवनिमा पनि एक फर्निचरमा नारायणी बस्ती पसेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाकारी दिएको छ।

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो। चितवनमा बिहीबारदेखि निरन्तर वर्षाका भइरहेको छ।

तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ।

प्रकाशित: १२ आश्विन २०८१ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App