समाज

ललितपुरको छम्पीमा आर्ट भिलेज बन्दै

ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वाःपाः (मुखाकृति) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माणकार्य सुरु भएको छ।

पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वाःपाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने जानकारी परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रूपकमान महर्जनले दिए।

ख्वाःपाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडिपट्टी ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ। विश्वकै ठूलो भैरवको ख्वाःपाः निर्माण हुने भएकाले यसलाई गिनिज बुकमा नाम लेखाउन सकिने विश्वास गरिएको छ।

कुल दुई सय ३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वाःपाः तथा अन्य सम्पदा र एक सय ८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ ।

‘भैरवको ख्वाःपाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ’, प्रवक्ता महर्जनले भने, ‘भवन परिसरमा भगवान् गणेशका १६ प्रकारका मूर्ति र भैरवका ६४ वटा विभिन्न मूर्ति समेत राखिनेछन्।’

भैरवको मुखाकृतिको ४२ फिट उचाइमा रहने आँखा (भैरव दृष्टि) बाट काठमाडौं उपत्यका तथा मनोरम हिमशृंखलाको अवलोकन गर्न सकिनेछ। ख्वाःपाः परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभाकक्ष निर्माण गरिनेछ। 

परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैंचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, वृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्यांक्वेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकुद, स्विमिङपुलको सुविधासमेत हुने बताइएको छ ।

परियोजनालाई कला नगरीका रूपमा विकास र प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ। महर्जनका अनुसार त्यहाँ निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न पाइनेछ। वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको नेतृत्वमा ख्वाःपाः निर्माण सुरु भएको थियो। हाल शाक्यका सुपुत्रद्वय स्वरूप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले सो जिम्मेवारी लिएको छ।

मूर्तिकार राजेश अवालेको परिकल्पनामा २०७४ सालमा जग्गा एकीकरण/संकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रूपमा शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष तथा कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वाःपाः निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले दिए।

विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्व समेतको संलग्नतामा परियोजना सुरु गरिएको शाक्यको भनाइ छ। कम्पनीका सञ्चालकमा अध्यक्ष राजेन्द्र शाक्यसहित राजेश अवाले, रूपकमान महर्जन, जीवनरत्न शाक्य, मदनमान महर्जन, उर्मिला शाक्य र सानुछोरी शाक्य छन्।

परियोजना नेपाली कला संस्कृतिकको जगेर्ना, परम्परागत सिप, कौशल उजागर, प्रचारप्रसार तथा पर्यटन प्रबद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रूपकमान महर्जनले बताए।

यो ललितपुरको एकान्तकुनाबाट भैंसेपाटी–बुङमति हुँदै १०.५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ। हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ। 

ललितपुरबाट हेटौडा जोड्ने कान्ति लोकपथको टीकाभैरवबाट तीन किलोमिटरको दूरीमा पुग्न सकिन्छ। हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश दुबै सरकारबाट समेत बजेट विनियोजन भइसकेको जनाइएको छ।

प्रकाशित: ९ भाद्र २०८१ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App