समाज

थामे: सबै थाम्यो, थामेन विपत्

सयौं वर्षदेखि आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिरहेको सोलुखुम्बुको थामे क्षणभरको बाढीले बगरमा परिणत भएको छ। शुक्रबार दिउँसो आएको प्राकृतिक विपत्तिमा थामेले आफ्नो सुन्दरता मात्रै गुमाएन, अर्बौंको क्षतिसमेत बेहोर्‍यो। थामेमा बाढीले विद्यालय, छात्रावास, स्वास्थ्य क्लिनिक, १४ वटा घर–होटल बगाएको छ। एक जना निमा नुरु शेर्पा सम्पर्कविहीन छन्। दिउँसोको समय भएकै कारण मानवीय क्षति कम भएको हो।

पर्यटकीय क्षेत्र भएकाले २०६० सालअघिदेखि नै दोलखाको जिरी हुँदै हालको लिखु पिकेबाट नाम्चे हुँदै पैदलयात्राबाट थामे पुग्ने रूट प्रयोगमा छ। त्यहाँ पुग्नुअघि नाम्चेबाट सगरमाथा जाने अर्को रुट छ। नाम्चेबाट खुम्जुङ, खुन्दे, तेङ्बोचे, फोर्चे, पाङ्बोचे, फेरिचे, दिङ्बोचे, गोक्यो, लबुचे, गोरखरुपे, कालापत्थरपछि पाँच हजार तीन सय ८० मिटर उचाइको सगरमाथा आधार शिविर पुगिन्छ।

नाम्चेबाट बायाँतिर तीन घण्टा हिँडेपछि थामे पुगिन्छ। आधार शिविरतर्फको यो मूल बाटो भने होइन । शेर्पा संस्कृतिको सुन्दर गाउँ भएकाले त्यहाँ जान पर्यटक लालायित हुन्छन्।

‘अफरुट’ भए पनि थामे पर्यटकहरूले अत्यधिक रुचाएको गाउँ हो । सिजनमा जुनसुकै बेला भरिभराउ पर्यटक हुने ठाउँ हो त्यो। बाढी रातको समयमा आएको भए सयभन्दा बढी मानवीय क्षति हुने सरकारी आकलन छ। तर दिउँसोको समयमा बाढी आएको देखेर एक विद्यार्थीले हल्ला गरेपछि भागेर थामेवासी बाँचेका थिए।

शुक्रबार थामेले बेहोरेको विपत्तिप्रति चिन्तित सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं रक्षामन्त्री मानवीर राईलगायतको ‘टिम’ शनिबार बिहान थामे पुगेर वस्तुस्थिति अवलोकन गरी काठमाडौं फर्किएको छ।

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा, सोलुखुम्बु प्रदेशसभा २ का (बाढीग्रस्त थामे क्षेत्रबाट निर्वाचित) सांसद एवं कोसी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र प्रहरी नायब उपरीक्षक  द्वारिकाप्रसाद घिमिरे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका अधिकारीहरू बाढीले क्षतिग्रस्त थामे पुगेका थिए।

अवलोकनका क्रममा रक्षामन्त्री राईले सरकारका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । ‘सम्पत्ति सकिएको छ, ज्यान मात्र बचेको छ। यसलाई हामीले ठुलो भाग्य मान्नुपर्छ। रिकभरका लागि सरकारले उचित प्रबन्ध गर्नेछ। म प्रधानमन्त्रीलाई त्यहाँको वस्तुस्थितिबारे जानेकारी गराउनेछुु,’ फर्केर आएपछि रक्षामन्त्री राईले भने। बाढीग्रस्त क्षेत्र पुगेका राष्ट्रियसभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति शेर्पाले त्यहाँको अवस्था निकै दर्दनाक भएको बताए। उनी खुम्बु क्षेत्रकै स्थायी बासिन्दा हुन् । ‘थामे पहिलेको प्राकृतिक थामेजस्तो रहेन । त्यहाँको अवस्था निकै दर्दनाक छ,’ उनले नागरिकसँग भने।

कोसी प्रदेशका सांसद एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले आँसु नै नथामिने गरी थामेमा प्राकृतिक विपत्ति आइलागेको बताए। आफू निर्वाचित क्षेत्रमा पर्ने थामेको अवस्था देखेर निकै पीडा भएको उनले बताए।

‘थामेलाई निकै ठुलो विपत् आइलाग्यो। त्यहाँ बाटो छैन। बत्ती छैन। फोन लाग्दैन। स्थानीयको ज्यानबाहेक पर्यटकीय गाउँ, श्रीसम्पत्ति सबै बगाएको छ। प्राकृतिक मनोरम स्थान थामेमा विपत्ति आइलागेको छ। राज्यले यस्तो अवस्थामा तुरुन्तै सम्बोधन गर्नुपर्छ,’ उनले भने।

गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले तल्लो भेगमा अझै पनि खतरा छ कि भन्ने शंका रहेको बताए। ‘त्यहाँ चारवटा पोखरी रहेछन्। तीनवटा पोखरी निला रहेछन्। छेउमा सानो पोखरी पनि रहेछ। त्यो फुटेको रहेछ । अब थप क्षति हुने अवस्था छैन,’ उनले भने।

शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीको वस्तुस्थिति बुझ्न सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग फोन संवाद गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले मानवीय क्षति हुन नदिन प्रजिअ पाण्डेलाई निर्देशन दिए । थामेको जनसंख्या करिब चार सय मात्रै हो।

तर पर्यटकीय मौसम नभएकाले आधाभन्दा बढी जनसंख्या काठमाडौं बसोबास गर्छ। गाउँपालिका अध्यक्ष शेर्पाको भनाइमा बाढी प्रभावित क्षेत्रमा ९३ जना, विद्यालयको छात्रावासका आठ शिक्षक, दुई कर्मचारी र ३२ विद्यार्थीसमेत १४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावितलाई तत्कालै गाउँपालिकाबाट ५० हजारको दरले नगद पनि शनिबार उपलब्ध गराइएको छ।

थामे तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित गाउँ हो। थामे २०७२ अघि साबिक नाम्चे गाविस–५ मा पथ्र्यो भने हाल खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ । साबिक खुम्जुङ, नाम्चे, चौरीखर्क र जुभिङ गाविसका चार वटा वडा १, ५, ६ र ९ मिलाएर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो।

थामे खोलालाई स्थानीय स्तरमा भोटेकोसी पनि भनिन्छ। तिब्बती भूमिमा समेत जोडिएको टसी लाप्चा हिमाल थामे खोला/भोटे कोसीको मुहान हो। टसी लाप्चा हिमालको भोट क्षेत्रबाट उत्पत्ति भएको खोलालाई भोटेकोसी भनिएको हो। थामे खोलाको मुहान टसी लाप्चा हिमाल सोलुको खुम्बु क्षेत्र, दोलखाको रोल्वालिङ उपत्यका र तिब्बतको सिमाना हो । जहाँबाट तिब्बत र दोलखाको रोल्वालिङ उपत्यका पुगिन्छ।

थामेमाथिको टसी लाप्चा ‘ट्रेल’ पर्यटकहरूका लागि मनोरमका साथै चुनौतीपूर्ण र जोखिमको गन्तव्य हो। जो पाँच हजार सात सय ५५ मिटर उचाइमा पर्छ। यो क्षेत्र साना–ठुला हिमताल/हिमपोखरी भएको क्षेत्र पनि हो।

सन् १९५१ मा प्रसिद्ध बेलायती आरोही एरिक सिप्टनले रोल्वालिङ उपत्यका, टसी लाप्चा ‘ट्रेल’ आसपास हिम मानव यतिको फोटो खिचेका थिए । यसपछि नै यति नेपालको हिमालयको यस क्षेत्रमा पाइन्छ भन्ने विश्वास संसारभर प्रचार भएको थियो।

खुम्बु क्षेत्रको अध्ययन–अनुसन्धान अनुसार थामे खोलाको माथिल्लो तटीय क्षेत्र अर्थात् टसी लाप्चा हिमालको सेरोफेरोमा तीन/चार वटा हिमताल÷हिमपोखरी छन्। जसमध्ये पारेचोम्बुचो सबैभन्दा ठुलो हिमताल हो। टसी लाप्चा पोखरी अर्को ठुलो जोखिमपूर्ण पोखरी हो। सोलुखुम्बुका पत्रकार माधव बस्नेतका अनुसार थामे खोला/भोटेकोसी नाम्चेभन्दा तल लार्चा दोभानमा दुधकोसीसँग मिसिन्छ। 

लार्चा दोभानबाट ओर्लाङघाट, जोरसल्ले, टकटक, मोन्जु, फाक्दिङ, मुसे, सुर्के, खरीखोला, वाक्सा, बासा, काया, दिब्ली, खोर्दा हुँदै दुधकोसी नदी थुलुङ दुधकोसी (साबिक दुधकौशिका) गाउँपालिका–१ नेलेबाहेक आठवटा वडा छुँदै बग्छ। खोर्दानजिकै छेस्केम, बुङ, सोताङ हुँदै बग्ने हुँगा दुधकोसी नदीमा मिसिएपछि यसको बहाव झन् शक्तिशाली बन्छ।

प्रकाशित: २ भाद्र २०८१ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App