समाज

काठमाडौंका नदीमा पानीको बहाव बढाउन सरकारको पहल

उपप्रधानमन्त्री सिंहले गरे विज्ञसँग छलफल

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञसँग छलफल गरेका छन् ।  

उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै बागमती, विष्णुमतीलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारे सुझाव लिएका थिए। सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा  राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल जारी राखेका हुन्।  

 ‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही  स्थानमा बोरिङ गरेर भएपनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘ यसमा विज्ञहरुको सुझाव राम्रा सुझावहरु आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरु कार्यक्रमहरु के के गर्न सकिन्छ गरौंला ।’

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको जानकारी दिए।  

सो क्रममा विज्ञहरुले सुख्खायाममा काठमाडौंका नदीमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ–आफ्नो राय राखेका थिए । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राख्नुभएको थियो भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने बताए।

पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताउ।  

‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उनले भने, ‘नदी सफाई, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा नागरिकलाई पनि सहभागि गराउनुपर्छ ।’

प्रकाशित: ३० श्रावण २०८१ १५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App