समाज

यी नौ दिन बागमतीमा हुन्छ दोब्बर पानी

मेलम्ची खानेपानी विकास समितिले यस वर्ष वर्षायाममा सहरी विकास मन्त्रालयबाट २० करोड लिटर सापटी लिइसकेको छ भने बाँकी १२ करोड लिटर पानी दसैं आसपासमा लिने भएको छ। यसरी सापटी लिएको पानी मेलम्चीले सुक्खा याममा बागमती विकास समितिलाई सोधभर्ना गर्छ ।

असार अन्तिम सातादेखि साउन १० गतेसम्म मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले मेलम्ची खानेपानी विकास समितिलाई पानी सापट दिएको थियो। बागमतीको धाप ड्यामबाट पानी सापटी दिने गरिएको छ। यो क्रम पोहोर पनि चलेको थियो। बागमती विकास समितिका अनुसार मेलम्ची खानेपानी विकास समितिले सोधभर्ना गरेको पानी नौवटा प्रमुख पर्वका दिन बागमती नदीमा छाडिन्छ, जसबाट पानीको बहाव अघिपछिभन्दा दोब्बर बढी हुन्छ। बागमती विकास समितिका सिँचाइ युनिट प्रमुख निश्चल छतकुलीका अनुसार सुक्खा यामका प्रमुख नौ पर्व छठ, हरिबोधनी एकादशी, बाला चतुर्दशी, माघे संक्रान्ति, माधवनारायण मेला, शिवरात्रि, रामनमवी, नयाँ वर्ष र मातातीर्थ औंसीमा बागमतीमा पानीको बहाव बढाएर प्रतिसेकेन्ड चार सय लिटर पुर्‍याउने गरिन्छ। बागमती विकास समितिका अनुसार पोहोर यी पर्वहरूमा बागमतीमा पानीको बहाव बढाइएको थियो।

सुक्खायाममा सामान्यता बागमतीमा पानीको बहाव प्रतिसेकेन्ड एक सय ५० देखि दुई सय लिटर हुन्छ। बागमती विकास समितिका अनुसार बागमतीमा पानीको बहाव सबैभन्दा बढी साउन १५ देखि भदौ १५ सम्ममा र सबैभन्दा कम बहाव फागुन १५ देखि चैत १५ सम्म हुन्छ। साउन १५ देखि भदौ १५ सम्म गौरीघाटमा बागमतीको पानी ११ हजार तीन सय लिटर प्रतिसेकेन्ड हुने गर्छ।

गत जेठमा मेलम्ची खानेपानी विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा वागमती विकास समितिबीच चारबुँदे सहमति भएको थियो। सहमतिपत्रमा मेलम्ची खानेपानी विकास समितिका सिनिएर डिभिजन इन्जिनियर वीरेन्द्र कँडेल, बागमती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहरा र केयुकेलबाट प्रमुख कार्यकारी अशोक पौडेलले हस्ताक्षर गरेका थिए।

जसमा धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखामार्फत केयुकेएललाई प्रवाह गर्ने र उक्त प्रवाह गरिएको पानी सुक्खा याममा सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्नास्वरूप बागमतीमा प्रवाह गर्ने सहमति छ।

वर्षायाममा बढी वर्षा भएको समयमा मेलम्चीको ढोका बन्द हुने भएकाले उपत्यकामा पानी अभाव हुन्छ। यही बेला बागमती नदीको उद्गमस्थल धाप ड्याममा क्षमताअनुसार पानी संकलन हुन्छ। विकास समितिका अनुसार खासगरी सुक्खा यामको नौ महिना बागमती नदीमा पानी चाहिएको हुन्छ। तर वर्षायाममा भने बागमतीमा चाहिनेभन्दा बढी पानी हुन्छ। बागमती विकास समितिका सिँचाइ युनिट प्रमुख छतकुलीले भने, ‘त्यसैले बागमती र मेलम्चीबीच पानी साटफेर गर्ने गरेका छौं।’ मेलम्चीले गत जेठ १८ गते बागमतीलाई चिठी लेखेर आगामी वर्षा याममा वर्षाका कारण मेलम्चीको पानी बन्द हुने भएकाले धाप ड्यामको पानी हाल ३२ करोड लिटर पानी अधिकतम चार सय लिटर प्रतिसेकेन्डका दरले सुन्दरीजल पानी प्रशोधन शाखामा प्रवाह गर्न प्रस्ताव गरेको थियो। वर्षाले मेलम्ची टनेल बन्द भएपछि धाप ड्यामको पानी उपलब्ध गराउन प्रस्ताव गरिएको थियो।

छतकुलीका अनुसार धाप ड्याममा हाल करिब १ अर्ब लिटर पानी छ। यसको अधिकतम क्षमता १ अर्ब ४६ करोड हो। धाप ड्याममा न्युनतत ७० करोड लिटर हुन आवश्यक छ। धाप ड्याम बागमती नदीको सहायक नदी बागमतीको उद्गम स्थल हो। यहीबाट बागमती सुरु हुन्छ।

प्रकाशित: २७ श्रावण २०८१ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App