समाज

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

फाइल तस्बिर

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानीको हेड बक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउन सक्ने बताएका हुन ।

२०७८ साल असार १ गतेको प्राकृतिक विपद्का कारण मेलम्चीको खानेपानी आयोजनाको हेड बक्स क्षति गरेको थियो । त्यसयता हेड बक्सको मर्मत सम्भारको काम भइरहेको छ ।वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गरिएको छ ।

बैठकमा बोल्दै सचिव आचार्यले काठमाडौंमा दीर्घकालसम्म पानी खुवाउनका लागि हेड बक्स सार्नुपर्ने अवस्था रहेको बताए ।उनले साबिककै हेड बक्सबाट वर्षातकको समयमा पानी खुवाउन नसकिने स्पष्ट पारे । उनले एडिबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रुपैयाँ अनुदान दिन लागेको जानकारी पनि दिए ।

त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेड बक्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताए । उनले हेड बक्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराए  । उनले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौं पठाइरहेको अवस्थामा वर्षातको समयमा पानी पठाउँदा टनेलमा ग्रेगर र माटो जमेर क्षति हुनसक्ने भएकाले वर्षातकको समयमा पानी नपठाइएको बताए । उनले बाढी घट्नासाथ भदौबाट मेलम्चीको पानी काठमाडौं पठाइने बताए ।

त्यस्तै बैठकमा बोल्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौं उपत्यकामा पानी वितरण गरिएको जानकारी दिए ।उनले वर्षातकको समयमा स्थानीय स्रोतहरूबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकेको बताए । 

प्रकाशित: २६ असार २०८१ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App