समाज

विपदबाट बच्न उद्धार अभ्यास

विपद्सम्बन्धी पूर्वतयारीमा विपद् व्यवस्थापन समिति र युवाहरू। तस्बिर : नागरिक

बर्सेनि विपदबाट हुने क्षति कम गर्न र विपदमा परेका घाइतेको तत्काल उद्धार गर्न कालिकोटका २८ जना युवाहरूलाई आधारभूत खोज तथा उद्धार तालिम दिइएको छ।

विपद् बाजा बजाएर आउँदैन, पूर्व तयारी गरौं, विपद्बाट बचौँ भन्ने नाराका साथ जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नरहरिनाथ र सान्नी त्रिवेणी गाउँपालिकाका युवाहरूलाई चार दिने खोज तथा उद्धार तालिम दिइएको हो।

नरहरिनाथ र सान्नीत्रिवेणीका १९ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित गरी मान्ममा सञ्चालन गरिएको तालिममा दुई वटा पालिकाका १८ वडाबाट एक एक जनाका दरले सहभागी थिए।

विपद् उद्धारसम्बन्धी ज्ञान, सीप पाएका युवाहरूले अप्ठेरोमा परेका व्यक्तिलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने दुई पालिकाका १८ युवा, सुरक्षा निकायबाट ७ र अन्य क्षेत्रबाट ३ गरी २८ जनालाई खोज तथा उद्धार तालिम प्रदान गरिएको छ।

विपद्को बेला सबैभन्दा पहिले पुग्ने स्थानीय युवालाई खोज तथा उद्धारसम्बन्धी सीप दिन आवश्यक भएकाले प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। विपद् पहिलो घटनास्थल पुग्ने स्थानीय युवा नै हुन्छन्। उनले भने युवालाई खोज तथा उद्धारसम्बन्धी सीप सिकाउन सकियो भने ज्यान बचाउन सकिन्छ। उनले तालिम पाएका युवाहरूमा आत्मविश्वास बढेर समाजसेवी बन्ने सुनाए।

जिल्ला प्रशासन कार्यालयले यस वर्षको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना पनि तयार गरिने बताए। प्लान इन्टरनेसनलको सहयोगमा किर्डाक नेपालले आयोजना गरेको खोज तथा उद्धार तालिममा सिकेको सीप जीवनभर काम लाग्ने सान्नीत्रिवेणीकी निरुता बोहोराले बताइन्।

विपद् जतिखेर पनि आउन सक्ने भएकाले पूर्व तयारीस्वरूप तालिमा सिकेका सीप सधैं काम लाग्छ। उनले भनिन्, ‘मेरो गाउँठाउँमा पहिरो, बाढी, आगलागी जस्ता विपद्मा परेका व्यक्तिलाई बचाउन प्रयास गर्नेछु। उनले पहिले खोज तथा उद्धारका काम पुरुषले मात्र गर्नसक्छन् भन्ने लागेको भए पनि सीप भए महिलाले पनि गर्न सकिने सिकाइ भएको सुनाइन्।’

तालिममा पहिरोमा च्यापिएका व्यक्तिको खोजी तथा उद्धार र प्राथमिक उपचार, ग्यास सिलिन्डर, घर तथा जंगलमा हुने आगलागी नियन्त्रण, बाढीमा बगेकाको खोजी तथा उद्धारलगायतका विषयमा सहभागीले सिकेको सान्नीत्रिवेणी गाउँपालिकाका विपद् फोकलसर्पन सागर शाहीले बताए।

उनले आफ्नो गाउँपालिकाले यस वर्षका लागि खोज तथा उद्धारसहितको विपद्का लागि आवश्यक पर्ने सामग्री खरिद गरेर वडा वडामा वितरण गर्ने प्रतिबद्धता गरे। नेपाल रेडक्रस सोसाइटी कालीकोटका तपेन्द्रबहादुर शाही, सशस्त्र प्रहरीका विमल शाहीले खोज तथा उद्धारको तालिम दिएका थिए।  

यसैबीच, पहिरोको उच्च जोखिममा रहेको कालीकोटको खाँडाचक्रमा पहिरोबाट बच्ने उपायसहित खोज तथा उद्धार, प्राथमिक उपचारलगायत विषय समेटेर पूर्व अभ्यास गरिएको छ। खाँडाचक्र ३ ताडी बसपार्कमा पहिरोको पूर्व अभ्यास गरिएको हो।

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको समन्वयमा नेपाली सेनाको शमशेर गुल्मद्वारा आयोजित पूर्व अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रस, स्वास्थ्य सेवा कार्यालयलगायत सरोकारवालाको सहभागिता थियो।

ताडी गाउमा भएको नमुना अभ्यासमा पहिलो गएर एक जनाको मृत्यु, ३ जना घाइते भएको घटनालाई आधार मानेर खोज तथा उद्धार, प्राथमिक उपचारबारे कृत्रिक अभ्यास गरिएको शमशेर गुल्मका उपसेनानी सुजन थापाले बताए। समुदायस्तरमा सचेतनाका लागि कृत्रिम अभ्यास गरिएको हो। उनले भने यसबाट समुदायलाई पनि सर्तक रहन र पूर्व तयारी रहन सहयोग पुग्छ।

ताडी बसपार्कनजिकै पहिरो गएको ठाउँबाट नेपाली सेनाले डोरीमा झुन्ड्याएर मृतकको लास सुरक्षित ठाउँमा ल्याएको थियो भने घाइतेलाई प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लगिएको दृश्य देखाइएको थियो। जिल्ला अस्पतालका डा. चन्दा शाहले घाइतेको श्वासप्रश्वास नचलेको अवस्थामा गरिने विधि प्रदर्शन गर्दै हातखुट्टा र ढाड भाँचिएका बिरामीलाई कसरी ब्यान्डेज गरेर सुरक्षित रूपमा स्वास्थ्य संस्थामा लैजान सकिन्छ भन्ने विधि प्रदर्शन गरिन्।

सशस्त्र प्रहरी बलका विमल शाहीले विपद्मा प्रयोग हुने अग्नि नियन्त्रण यन्त्र, डोरी, लाइफ जाकेट, बुट, ट्युब, पन्जालगायत सामग्रीबारे जानकारी दिँदै प्रयोग गर्ने विधिबारे जानकारी दिएका थिए। उनी कुरिनटारमा ३ वर्ष तालिम लिएर कालीकोटमा विपद् प्रशिक्षकको रूपमा काम गर्दै आएका छन्।

प्रकाशित: ३० जेष्ठ २०८१ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App