समाज

सबैमा उस्तै ‘कमनसेन्स’ हुँदैन

यस्ताे पनि!

फ्रान्सका साहित्यकार भोल्तेयरले भनेका थिए, ‘कमनसेन्स अर्थात् व्यवहारिक बुद्धि सबैमा हुँदैन, यो दुर्लभ कुरा हो।’

त्यसैले कसैले आफ्नो झुँझलाहट व्यक्त गर्नुपर्‍यो भने भन्छन्, ‘कम्तीमा कमनसेन्स प्रयोग गरे हुन्थ्यो।’ वास्तवमा भोल्तेयर सही थिए। संसारभर नै सबैमा कमनसेन्स हुनुपर्ने अपेक्षा गरिए पनि त्यो सबैमा उत्तिकै र उसरी नै हुँदैन।

प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज जर्नलमा विज्ञहरूले लेखेका छन्, ‘कमनसेन्स्लाई वैश्विक सत्य मान्ने चलन छ। एउटै कुरालाई संसारभरका मानिसहरूले उसरी नै बुझ्लान् भन्ने अपेक्षा गरिन्छ तर वास्तवमा त्यस्तो हुँदैन। सबैमा, उत्तिकै र उस्तै कमनसेन्स हुँदैन।’

यस्तो कुरा पत्ता लगाउन अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयको एउटा टोलीले चार हजार ४०७ जना भेला पारेको थियो। भेलामा मान्छेमा कमनसेन्स कति हुन्छ भनी जाँचेको थियो।

जस्तो कि, त्रिभुजमा तीन कुना हुन्छन्, एउटा ब्याट्रीले सधैँ उज्यालो दिइरहन सक्तैन, खेलकुद आयोजनाका बेला प्रशंसकहरूमाझ रक्सी बेचिनु हुन्न, बिरामीसँग धेरै नजिक हुनुहुँदैन, गितार बजाउनु छ भने शुरुमा तालिम लिनुपर्छ र पृथ्वी ग्रह गोलो छ जस्ता वाक्य बताएर त्यो कमनसेन्स हो कि होइन भनी बुझ्ने प्रयास गरिएको थियो।

अध्ययनमा सहभागी साढे चार हजार सर्वसाधारणमध्ये दुई हजारभन्दा बढीले कमनसेन्सयुक्त कुरालाई सही ठहर्‍याएका थिए। यस्तो ठान्नेहरूको विचारमा ज्ञान भनेको आफैँले अनुभूत गर्ने कुरा रहेको थियो। उनीहरूले कुनै न कुनै समयावधिमा यस्ता ज्ञानका कुरा जाने, सिकिएका हुन्छन् भनी राय प्रकट गरेका थिए।

यो समूहको एउटा सानो उपसमूहले भने कतिपय कमनसेन्सका कुराहरूलाई मिहिन तरिकाले विश्लेषण गर्न भ्याएको थियो। तर ‘कमनसेन्स’ विश्वभरका मानिसमा एउटै किसिमको भने नहुने अध्ययनले प्रमाणित गरेको छ। कमनसेन्सलाई प्रायः सामूहिक हुन्छ भन्ने मानिन्छ तर अध्ययनले भन्छ, ‘यो कम सामूहिक र बढीजसो व्यक्तिगत किसिमको हुने गर्छ।’ 

‘कम्तीमा कमनसेन्स त हुनुपर्ने हो भनेर कसैले भन्छ भने उसले आफ्नो बुझाइजस्तै अरूको बुझाइ हुनुपर्ने राय व्यक्त गर्ने गर्छ,’ अध्ययनमा संलग्न अध्येताहरूले लेखेका छन्।

खासमा संसारभर उडन्ते कुरामा विश्वास गर्नुका पछाडि पनि कुनै व्यक्तिले ग्रहण गर्ने, त्यसलाई विश्लेषण गर्ने र निक्र्योल निकाल्ने जस्ता कुरामा व्यक्तिगत क्षमताका आधार बन्ने गर्छ। यिनै कुराहरूले उनीहरूको कमनसेन्स निर्माण गरिरहेको हुन्छ।

मानिसको हुर्काइ, वातावरण र अन्य धेरै कुराले कमनसेन्समा फरक पारिरहेको हुने विज्ञहरूको धारणा छ। तर यस्तो कमनसेन्स निर्माणमा उमेर, लिंग, तिनको शैक्षिकस्तर आदिले भने फरक नपार्ने कमनसेन्सको तह निर्धारण नगर्ने अध्ययनमा बताइएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ९ माघ २०८० ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App