समाज

मकवानपुरमा देउसीभैलो राती ९ बजेसम्म मात्र

यस वर्षको तिहारमा मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो। 

राति ९ बजेपश्चात अनिवार्य रुपमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम बन्द गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए। तिहार र छठ मनाउने क्रममा पटका, भुइँचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत जनजीवनमै प्रतिकुल असर पर्ने भएकोले त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण तथा ओसारपसार नगर्न समेत उनले अनुरोध गरे।

यस्तै चाडपर्वको नाममा जुवातास खेल्ने, खेलाउने गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ। तिहारको समयमा मदिरा सेवनमा समेत धेरै कडाइ गर्ने प्रशासनको चेतावनी छ। झै–झगडा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि तिहारमा मदिरा सेवनमा कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए। यसवर्ष तिहारमा चोकचोकमा प्रहरीको चेकिङ हुनेछ। यस बर्षको तिहार भोलि शनिबारबाट सुरु हुँदैछ।

प्रकाशित: २४ कार्तिक २०८० १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App