समाज

सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव सङ्कलन गरिने

सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव सङ्कलन गरिने भएको छ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा अन्तरपार्टी महिला सञ्जालसँग छलफल गरी प्रदेश र जिल्ला तहबाट पनि सुझाव सङ्कलन गर्न लागिएको जानकारी गराएको हो। यस विषयमा निरन्तररूपमा समितिले छलफल अघि बढाएको समिति सभापति प्रकाश पन्थले  जानकारी दिए।

समितिले यसअघि राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगसँग छलफल गरेको थियो। आजको छलफलमा महिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर, पूर्वअध्यक्षद्वय कल्याणी रिजाल र मिलन वर्मालगायत सहभागी भएका थिए। उनीहरुले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिएका थिए। सञ्जालले लिएका सुझाव समितिमार्फत सुझावका रूपमा राष्ट्रिय योजना आयोगमा पठाइने सभापति पन्थले बैठकमा जानकारी गराए।

बैठकमा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी उपसमितिका संयोजक कमला पन्तले अहिले महिलाको विभिन्न क्षेत्रमा सहभागिताका बारेमा प्रस्तुति गरेकी थिइन। सो अवसरमा सांसदहरू नारायणप्रसाद दाहाल, जगप्रसाद शर्मा, भुवन सुनार, शारदादेवी भट्टलगायतले १६औँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा विशेष व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २२ भाद्र २०८० १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App