राजनीति

एमसिसीमा सहमतिका लागि बैठक नै बैठक

अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसद्बाट अनुमोदनका विषयमा सत्तारुढ राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा बिहीबारबाट सुरु हुने भनिएको सैद्धान्तिक छलफल अन्तिम समयमा शुक्रबारका लागि सारिएको छ।

प्रतिनिधि सभाको फागुन ८ को बैठकमा टेबल गरिएको उक्त प्रस्ताव माथि सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साथ नदिएपछि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको हो। एमसिसीको पक्षमा सहमति जुटाउन र गठबन्धन जुटाउनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बिहीबार सक्रिय भए।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि सोही दिन बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटारले कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए।

कार्यव्यवस्था समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले एमसिसीको विपक्षमा उभिने निर्णय गरेका थिए।

त्यसलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। माओवादी र समाजवादीले एमसिसी सम्झौता प्रतिनिधि सभामा टेबल गर्न मात्र सहमति दिएको भन्दै प्रधानमन्त्री देउवालाई पक्षमा मतदान गर्न नसक्ने जानकारी गराए। 

प्रधानमन्त्री देउवाले गठबन्धन र प्रधानमन्त्री पद नरहेपनि एमसिसी सम्झौता संसद्बाट पारित गराउन आफू दृढ रहेको दाहाललाई जानकारी गराएका थिए। दाहालले पनि आफूहरू सडक तताउने देउवालाई जानकारी गराएको स्रोतको  दाबी छ।

प्रधानमन्त्री देउवाले सरकारको प्रस्तावको विपक्षमा उभिने हो भने सरकारमा बसिरहने पनि नसुहाउने दाहालसँग बताएका थिए। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफूहरू सरकारबाट बाहिरनेसम्मको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए। त्यसबीचमा सुरु भएको कार्यव्यवस्था समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागि भएन। एमालेको सहभागिता बिना बसेको कार्यव्यवस्था समितिको बैठकले एमसीसी सम्झौता माथि सैद्धान्तिक छलफल अघि बढाउने र सहभागि हुने सांसदलाई ५ मिनेटको समय दिने निर्णय गरेको थियो।

तर देउवा र दाहालबीच सहमति जुट्न नसकेपछि त्यसको केही मिनेटमै सरकारको आग्रहमा सभामुखले बिहीबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजेसम्मका लागि स्थिगित गरेका थिए। बैठकका लागि संसद् भवन पुगेका प्रधानमन्त्री देउवासहित नेताहरू एमसिसीमा सहयोग खोज्न प्रमुख प्रतिपक्षी एमालेसँग वार्तामा जुटेको थियो। 

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कार्यकक्षमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल भएको थियो। त्यसलगतै देउवा र ओलीबीच मात्र कुरा भएको थियो। दुई दलका नेताहरूबीचको छलफलपछि बाहिरिएका नेताहरूले कुराकानी सकारात्मक भएको बताए। कांग्रेस महामन्त्री गगनकुमार थापाले भने वर्तमान सत्ता गठबन्धनको औचित्य सकिएको बताए।

कांग्रेस नेताहरू बाहिरिए लगत्तै ओलीसहित एमाले नेता भेट्न माओवादी केन्द्रका अध्यक्ष दाहालसहितका नेता पुगेका थिए। एमसिसी सम्झौता राष्ट्रघाती रहेको भन्दै माओवादीका नेताहरूले त्यसकाविरुद्ध उभिन एमालेलाई आग्रह गरे। त्यसका साथै ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव समेत गरेको दाबी गर्दै स्रोतले भन्यो, ‘एमालेले भने १४ सांसदलाई कारबाही गर्नुपर्ने, सभामुखले राजीनामा गर्नुपर्ने वा नेकपा हुँदा दाहालले लगाएको अभियोग फिर्तालिनुपर्ने पुरानै अडान थियो।’

कांग्रेस एमाले, एमाले माओवादीबीचका भेटघाट भइरहँदा गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले सभामुख सापकोटालाई भेटेका थिए। एमसिसी प्रस्तावलाई विफल बनाउनेगरी सभामुखले मत विभाजनमा लैजान लागेको भन्दै असन्तुष्टी जनाउन पुगेका खाँणले सरकारले ल्याएको प्रस्तावलाई स्वतन्त्र र खुला रूपमा अघि बढाउन सभामुखलाई आग्रह गरेका थिए। होइन भने सरकारले सभामुखका विषयमा पनि सोच्नुपर्ने अवस्था आउने बताएका थिए।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एमसिसीका विषयमा स्पष्ट नभएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईसहितका नेताहरू प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। भट्टराईसहितका नेताहरूसँगको छलफल लगतै पूर्वर्निधारित कार्यतालिका अनुसार छलफलका लागि साँझ ७ बजे एमाले शीर्ष नेता कांग्रेससँग छलफलका लागि बालुवाटार पुगेका थिए।

बालुवाटारमा प्रमुख प्रतिपक्षी एमाले र कांग्रेसबीच छलफल भइरहँदा गृहमन्त्री बालकृष्ण खाँणले एकीकृत समाजवादीका नेता तथा सरकारका मन्त्रीहरू किसान श्रेष्ठ र रामकुमारी झाँक्रीसँग सिंहदबारमा छलफलमा जुटेको स्रोतको दाबी छ। अहिलेको सत्ता गठबन्धन जोगाएर अघि बढ्न माओवादी र एकीकृत समाजवादीका केही शीर्ष नेताहरू एमसिसीको मतदानका बेला बैठकमा अनुपस्थित हुने र अन्य सांसदले पक्षमा मतदान गर्नेगरी सहमतिका लागि अन्तिम प्रयास भइरहेको स्रोतको दाबी छ। 

प्रकाशित: १३ फाल्गुन २०७८ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App