नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन्।
एमाले मोरङले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सबोधन गर्दै उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफूसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको उनले बताए।
‘अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् कसले बोलेको विश्वास गर्नु,’ ओलीले भने, ‘देउवा एउटा कुरा गर्छन्, प्रचण्ड अर्का कुरा गर्छन्। अरूका त कुरा सुन्ने फुर्सद पनि छैन। एमसीसीको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचन्डको फरकफरक धारणा आएपछि ओलीले यस्तो आरोप लगाएका हुन्।
ओलीले तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको पनि बताए। अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने ओलीको भनाइ छ। अरू दल कांग्रेसको पुच्छर भएर हिँडेको उनको आरोप छ।
‘चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेका छन्। कांग्रेस बोल्दैन। तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन्’, उनले भने चुनावमा जाँदा हालत के हुन्छ हामी पनि हेरेर बस्छौँ।’
प्रकाशित: २२ कार्तिक २०७८ १३:४९ सोमबार