राजनीति

सांसद वली भन्छिन्ः जबरजस्ती मुख्यमन्त्री निवासमा लगेर राखियो, शाैचालयको चप्पल लगाएर भागे

मुख्यमन्त्रीलाई विपक्षीको चेतावनीः अपराधको बलमा सत्ता टिकाउने सपना नदेख्नु

लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री निवासमा लगेर पाँच दिनसम्म राखेको बताएकी छन्। आज बुटवलमा पत्रकार सम्मेलन नै गरी सांसद वलीले आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री शंकर पोखरेलको निवासमा राखेर एमालेमा फर्किएको भन्ने विज्ञप्ती तयार गरी जबरजस्ती हस्ताक्षर गर्न लगाइएको बताएकी हुन्। वलीले आफूलाई साउन १५ गतेदेखि २० गतेसम्म बुटवल स्थित मुख्यमन्त्री निवासमा राखेर बाहिर निस्कन समेत नदिइएको पत्रकार सम्मेलनमा बताइन्।  

साउन १८ गते आफू सूर्य चिन्हबाट चुनाव जितेकाले एमालेमै फर्किएको भन्दै वलीको हस्ताक्षर भएको विज्ञप्ती निकालिएको थियो। तर बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सांसद वलीले सो विज्ञप्ती मुख्यमन्त्री निवासमै तयार गरेर आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको स्पष्ट पारिन्।  

‘वैशाख १९ गते नै पत्रकार सम्मेलन गरी मैले माओवादी केन्द्र रोजिसकेको जानकारी गराएकी थिए। अहिले फेरि पनि दोहोर्‍याएर भन्छु म माओवादी मै छु र रहनेछु’, विमलाले भनिन्।  

कसरी पुर्‍याइयो मुख्यमन्त्री निवासमा

विमलाका अनुसार साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित उनको घरमा पुगेका थिए। दुवै जनाले एमालेमा आउन दवाव दिएको पत्रकार सम्मेलनमा बताइन्। ढकाल र राउतले एमालेमा फर्कन दवाव र प्रलोभन देखाउँदै एक पटक मुख्यमन्त्रीसँग भेटका लागि अनुरोध गरेपनि आफूले इन्कार गरेको उनले बताइन्।  

सांसद वलीले आफू उपचारका लागि नेपालगञ्ज जान लागेको भन्दै तर्कन खोजे पनि ढकालले उल्टै आफूहरु पनि नेपालगञ्ज जाने भन्दै ढिपी छोडेनन्। ‘हामी पनि नेपालगञ्ज जाने हो संगै जाऔं भन्नु भयो। सांसद जस्तो व्यक्तिलाई मैले विश्वास गरेर गाडीमा बसें’, वलीले भनिन्। तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्ज जाने बाटो छोडेर गाडी बुटवलतर्फ मोडिएपछि बल्ल आफू आत्तिएको उनले बताइन्।  

‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें तर उहाँहरुले मेरो कुरै सुन्नु भएन। मुख्यमन्त्रीलाई नभेटी नहुने छ भन्दै बुटवल आएपछि बल्ल गाडी रोक्नु भयो’, विमलाले भनिन्।  

मुख्यमन्त्रीले भेटमा एमालेमै आउनुस भनेर आफूलाई दवाव र प्रलोभन देखाएको वलीले बताएकी छन्। ‘पहिला गल्ती भयो अब त्यस्तो हुँदैन भनेर मुुख्यमन्त्री पोखरेलले बारम्बार दवाव दिनुभयो तर मैले इन्कार गरीरहे’, वलीले भनिन्। त्यसपछिका चार दिनसम्म आफूलाई बाहिर निस्कनै नदिइ दवाव र प्रभावमा पार्न खोजेको आरोप वलीको छ।  

मुख्यमन्त्री निवासमै साउन १८ गते जबरजस्ती विज्ञप्तीमा हस्ताक्षर गर्न लगाएको र अन्य केही माइन्युटहरुमा पनि  हस्ताक्षर गराएको वलीले बताएकी छन्। ती माइन्युट आफूलाई पढ्नै नदिइ हस्ताक्षर मात्रै गराएको भन्दै उनले ससंदीय दलको या जिल्ला कमिटीको बैठकको पुरानो माइन्युट हुन सक्ने बताइन्।  

‘उनीहरुले भने अनुरुप हस्ताक्षर गरेपछि त्यहाँबाट बाहिर निस्कन पाइन्छ र त्यसपछि खण्डन गर्छु भन्ने सोचेको थिए तर झन कडाइ गर्न थाले पछि भाग्ने प्लान बनाउन बाध्य भएं’, वलीले भनिन्।  

साउन २० गते दिउँसो सबै आराम गरीरहेका बेला शौचालयकै चप्पल लगाएर भाग्न सफल भएको उनले बताइन्। आफ्नो चप्पल लगाउँदा आवाज आउने र अरुले थाहा पाउने आशंकाले शौचालयकै चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेको र सिधै माओवादी केन्द्रको संसदीय दलको कार्यालय पुगेको वलीले बताएकी छन्। मुख्यमन्त्री निवासमा आफूलाई सांसद सरस्वती गौतमसंगै राखिएको पनि वलीले बताइन्।  

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका प्रमुख सचेतक ढकालको प्रत्यक्ष संंलग्नतामा सांसद वलीलाई बन्धक बनाइएको बताएका छन्। सांसद अपहरण, बन्धक जस्ता अपराधीक क्रियाकलापको बलमा अल्पमतको सत्ता टिकाउने दिवा सपना नदेख्न मुख्यमन्त्री पोखरेललाई विपक्षी गठबन्धनले चेतावनी दिएका छन्। अपराधीक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाहीको माग विपक्षीले गरेका छन्।  

बिमलाका श्रीमान उत्तरकुमार वलीले दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचन जितेका थिए। तर दुई वर्षअघि सवारी दुर्घटनामा उनको मृत्यु भएपछि उपनिर्वाचनमा बिमलालाई उम्मेदवार बनाइएको थियो। सर्वोच्चको फागुन २३ गतेको फैसाला पछि भने सांसद बिमलाले दल रोज्न पाउने अधिकारको प्रयोग गर्दै नेकपा (माओवादी केन्द्र) राजेकी थिइन्। उनले गत वैशाख १७ मा नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश सभा दल सदस्यता प्राप्त गरेकी थिइन्।  

त्यसलगत्तै वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलनै गरेर आफूले माओवादी केन्द्र रोजीसकेको जानकारी गराएकी थिइन्। तर साउन १८ गते उनको नाममा एकाएक एमालेमा फर्किएको व्यहोरासहितको विज्ञप्ती निस्कीयो। तर उनी साउन १५ गतेदेखि नै दल र संचारकर्मीहरुको सम्पर्कमा आएकी थिइनन्।  

माओवादी केन्द्रले एमालेले उनलाई अपहरण गरी मुख्यमन्त्री कार्यालयमै बन्धक बनाइ जबरजस्ती विज्ञप्ती निकाल्न बाध्य पारेको दावी गर्दै आएको थियो। संचारकर्मीहरुले उनको अवस्था सार्वजनिक गर्न सत्यतथ्य सांसद बिमला मार्फत नै बाहिर आउनु पर्ने आवाज उठाएपछि बिहीबार बुटवलमा पत्रकार सम्मेलन नै गरी वलीले आफ्नो वास्तविकता सार्वजनिक गरेकी हुन्।

 

 

प्रकाशित: २१ श्रावण २०७८ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App