राजनीति

मिश्रा भन्छन् - 'भारतलाई साम्प्रदायिकतातर्फ लैजाने प्रयास भइरहेछ'

विश्वकै ठूलो लोकतन्त्र भनिने भारत अहिले १७ औं लोकसभा निर्वाचनमा होमिएको छ। यो निर्वाचनलाई संसारभरी निकै उत्सुकताका साथ हेरिएको छ। लामो समयको गठबन्धन सरकारको अभ्यासपछि स्थापित भाजपा नेतृत्वको सरकारको परीक्षणको रुपमा रहेको यो निर्वाचन भारतीय कांग्रेसको पनि परीक्षा हो।

सँगसँगै यो निर्वाचनलाई चिन्तनको द्वन्द्वको रुपमा पनि हेरिएको छ। भारतीय जनता पार्टीको हिन्दुत्ववाद र भारतीय कांग्रेस लगायतको उदारवादी लोकतन्त्रको प्रतिस्पर्धा पनि हो यो निर्वाचन। त्यसैले यो निर्वाचनका विविध आयाम छन्। यिनै आयामबारे डा. सतिश मिश्रासँग नागरिक न्युज नेटवर्कले कुराकानी गरेको छ।

डा. सतिश मिश्रा जर्मनीको हम्बोल्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका हुन्। उनी विभिन्न अनुसन्धानमा संलग्न पनि छन्। जीवनको ७१ औँ बसन्तमा हिंड्दै गरेका डा.मिश्रा भारतीय लोकतन्त्रको आरोह अवरोहका साक्षी पनि हुन्। डा. मिश्रासँग पुरुषोत्तम पौडेलले दिल्लीस्थित प्रेस क्लब अफ इन्डियाको कार्यालयमा गरेको कुराकानीः

भारतमा जारी निवार्चनलाई कसरी हेरिरहनुभएको छ?

यो निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को मत घट्ने देखिन्छ। यद्यपी प्रधानमन्त्री नरेन्द्र मोदीको प्रख्यातिले भाजपालाई केही सहयोग गर्नसक्छ। यसोभन्दै गर्दा मोदीको लोकप्रियता सन् २०१४ को तुलनामा  खस्किएको तथ्य बिर्सनुहुँदैन। यसका कारण यो निवार्चनमा भाजपाको सिट संख्यामा कमी आउने देखिन्छ। भारत त्रिशंकु संसद तिर उन्मुख छ। त्यसैले जसको नेतृत्वमा सरकार बने पनि त्यो गठबन्धन सरकार बन्ने छ।

तपाईंंले भारतको लोकतन्त्रको आरोह र अवरोहलाई नजिकबाट नियाल्नुभएको छ।मोदी कालसम्म आइपुग्दा भारतको लोकतान्त्रिक प्रक्रियालाई कसरी लिनुभएको छ?

हाल भारतमा १७ औँ चरणको लोकसभाको निवार्चन हुँदै छ। यसको मतलब १६ पटक लोकसभाको निवार्चन सम्पन्न भईसक्यो। यसले के देखाउँछ भने भारतमा लोकतान्त्रिक विधिले गहिरो रुपमा जरा गाडेर बसेको छ। दक्षिण एसिया र समग्र रुपमा एसियाकै कुरा गर्दा उपनिवेशकालिन समयपछिको अवस्थामा भारत बाहेक अन्य देशमा लोकतन्त्रमाथि विभिन्न समयमा अवरोध आइरहेको छ चाहे त्यो पाकिस्तान होस् वा माल्दिभ्स। नेपालमै पनि भारत स्वतन्त्र भएयता लोकतन्त्रमाथि आक्रमण भएको धेरै उदाहरण छ।

अवश्य पनि भारत एक ठूलो लोकतान्त्रिक देश हो। लोकतान्त्रिक देश हुँदै गर्दा यसका चुनौती पनि छन्। लोकतान्त्रिक प्रक्रियामा आएपछि आजसम्म यो चुनौती बढ्दै गएको छ। विशेषगरी निवार्चनमा पैसाको महत्व ज्यादा भएको छ।आर्थिक रुपमा राजनीतिक सहयोग बढ्दै गएको छ। यसले लोकतन्त्रलाई नकारात्मक रुपमा प्रभाव पार्छ। निवार्चनका क्रममा व्यापारीले आर्थिक सहयोग गर्छन् तर त्यो सहयोग स्वरुपपछि नीति निर्माणमा प्रभाव पनि पार्छन्।

यसैको प्रभाव स्वरुप मोदी सरकारले बजेटमा दाताले इलेक्टोरल बोन्ड किन्न सक्ने र त्यो राजनीतिक दललाई दिनसक्ने व्यवस्था गरेका छन्।  के यसले समस्या ल्याउँदैन? इलेक्टोरल बोन्डको विषय त ठीकै छ तर यो कसले किन्छ र कसरी राजनीतिक पार्टीलाई सहयोग गर्छ। यो विषयमा परर्दशिता छैन। यो खतरा हो।

भारत त्रिशंकु संसद तिर उन्मुख छ। त्यसैले जसको नेतृत्वमा सरकार बने पनि त्यो गठबन्धन सरकार बन्ने छ।

भारतीय राजनीति समान्य जनताबाट विमुख हुँदै ‘कर्पोरेट’ राजनीतितर्फ आकर्षित हुँदै छ भन्न खोज्नुभएको हो?

हो मेरो भनाईको आशय यही हो। राजनीतिमा पैसाको महत्व ज्यादा हुँदै छ जसलाई भारतीय लोकतन्त्रले सामना गर्नुपर्छ। इलेक्टोरल बोन्ड राजनीतिक पार्टीलाई कसले दिदैँछ भन्ने कसैलाई थाहा हुँदैन यसले अनिश्चिता कायम गरेको छ। राजनीतिक पार्टी अथवा यो प्राप्त गर्ने नेतालाई त यो थाहा हुन सक्छ तर यसले राजनीतिक भ्रष्टाचारलाई कम गर्न सक्दैन।

मोदी सरकारभन्दा अघि पनि त यो चुनौती थियो होला नि?

यो विवाद पहिले देखिको हो। यस विषयमा धेरै छलफल पनि भएका छन्।समाधानका लागि केही पहल पनि भएका छन्।तर ती पर्याप्त छैनन्।

एक राजनीतिक विश्लेषकका रुपमा तपाईं मोदीअघि र मोदीपछिको भारतको आन्तरिक नीतिलाई कसरी व्याख्या गर्नुहुन्छ?

सन् २०१४ मा भाजपा सत्तामा आएपछि भाजपाभित्रै ठूलो परिर्वतन आएको छ। सत्ता आगमनअघि भाजपा एक सामूहिक नेतृत्वमा चलेको पार्टीको रुपमा परिचित थियो तर अहिले एक नेताले पूरा पार्टी सञ्चालन गरेका छन्। मोदीको विचारले पार्टीमा बढी हस्तक्षेप गरेको छ। मोदीले राख्ने विचार राष्ट्रवाद हो भन्ने छ। तर मोदीको विचार राष्ट्रवाद होइन उग्र राष्टवाद हो। उग्र राष्टवाद सधैँ हानीकारक हुन्छ।

मोदीको उग्र राष्टवादले हिन्दुत्वलाई महत्व दिएको छ जुन राष्ट्रिय स्वयंम सेवक (आरएसएस)को मुद्धा हो। आरएसएस र भाजपाबीच नजिकको सम्बन्ध रहेको छ।

आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न मोदीले राष्ट्रिय सुरक्षाको विषयलाई जोड जोडले उठाएका छन्। पाकिस्तान र मुसलमान समुदायलाई शत्रु देखाउने प्रयास भएको छ। समुदायलाई शत्रु देखाउने प्रयास भएको छ। देशलाई साम्प्रदायिकतातर्फ उन्मुख गराउने चलाखीपूर्ण प्रयास हो यो। भारतमा हिन्दु समुदायको प्रतिनिधित्व धेरै छ। निर्वाचनमा त्यो समुदायलाई आफूप्रति आकर्षित गर्न पनि साम्प्रदायिकताको विषयलाई प्रमुख रुपमा उचालिएको छ। मोदीकालमा भारतमा आएको आन्तरिक नीतिको ठूलो परिर्वतन हो यो।

सन् २०१४ मा ३१ प्रतिशत मतभार ल्याएको मोदीको पार्टीले यो निवार्चनमा त्यसलाई कायम गर्न सक्छ कि सक्दैन भन्नेले अन्य धेरै विषय निर्धारण गर्छ। 

उग्र राष्ट्रवादले फासीवादतर्फ उन्मुख गराउँछ भन्छन्। के भाजपाको उग्रराष्ट्रवादले पनि भारतीय समाजलाई फासीवादतर्फ डोर्याउँदै छ?

भारतीय समाज त म भन्दिन किनकी भारतीय समाज फरक हो। सन् २०१४ मा भाजपाले लोकसभाको निवार्चनमा बहुमत ल्याउँदा मोदी त्यसको नेतृत्वकर्ता थिए। बहुमत प्राप्त गर्दै गर्दा पनि भाजपाले राष्ट्रिय मतभारमा जम्मा ३१ प्रतिशत मत ल्याएको तथ्यलाई हामीले बिर्सनुहुँदैन। त्यसैले मोदी र उनको पार्टीको कार्यलाई भारतीय समाजसँग जोडेर हेरिनु गलत हुन्छ।

भाजपालाई मतदान गर्ने ३१ प्रतिशत जनतामा पनि धेरैलाई यो पार्टीलाई मत दिँदा देश कुन दिशातर्फ जान्छ होला भन्ने थाहा थिएन। हुनसक्छ केही प्रतिशत मानिसलाई भारतमा तानाशाही शासन हुनुपर्छ भन्ने लाग्छ होला। फाँसिवाद पनि तानाशाहीतन्त्रबाट आउने हुँदा केही प्रतिशत मानिस त्यो प्रति आकर्षित छन् कि भन्ने आकलन गर्न सकिन्छ। तर, भारतीय समाज फाँसिवादी शक्ति उन्मुख पार्टीबाट शासित छ भने हामी भन्न सक्छाँै।

बलिउड चलचित्रबाट भारतीय समाज प्रभावित गरेको कुरा त हामी नकार्न सक्दैनौँ। चलचित्र समाजको एक दर्पण हो। चलचित्रमा नायकको हस्तपेक्ष अपेक्षित हुन्छ। जसरी चलचित्रमा नायकको वैभावशाली उपस्थिति देखाइन्छ एकादलाई छोडेर, ठीक यस्तै भारतीय समाजले पनि मोदीलाई त्यस्तै वैभावशाली व्यक्तिको रुपमा चित्रित गर्न खोजेको हो?

यो विश्लेषण गलत छ। यो गलत यस कारण छ कि मोदी नायक होइनन्। हुनसक्छ एउटा तप्काका मानिसका लागि उनी नायक हुन् तर जब हामी सम्पूर्ण भारतको कुरा गछौँ त्यो अवस्थामा मोदीलाई नायकको रुपमा चित्रित गर्नु उर्पयुक्त हुँदैन।

जहाँसम्म नायकको प्रभावको प्रसंग छ त्यो भारतमा मात्रै होइन सम्पूर्ण विश्वमा नै त्यो छ। नायक सधैँ सकारात्मकतासँग जोडिएको हुन्छ। मोदीको कुरा गर्दा उनी ज्यादा नाकारात्मकतासँग जोडिएका छन्।

सन् २०१४ को लोकसभाको निवार्चनअघि भारतीय जनताले मोदीलाई चिन्दैन थिए। उनी गुजरातको मुख्यमन्त्री थिए मात्रै थिए, गुजरात बाहिरका भारतीयलाई उनको विषयमा धेरै जानकारी पनि नहुनसक्थ्यो। त्यो अवस्थामा उनलाई प्रधानमन्त्रीको रुपमा विजयी गराए। आज हेर्नुहोस्, त्यो निवार्चनमा उनले गरेका कति वाचा पूरा भएका छन्? जनताबीच उनको प्रभाव सकारात्मकताबाट नकारात्मकतातिर उन्मुख छ। यस्तो अवस्थामा उनलाई कसरी नायकको रुपमा हामी हेर्न सक्छौँ?

सन् २०१४ मा ३१ प्रतिशत मतभार ल्याएको मोदीको पार्टीले यो निवार्चनमा त्यसलाई कायम गर्न सक्छ कि सक्दैन भन्नेले अन्य धेरै विषय निर्धारण गर्छ। 

हो भारतीय राजनीतिमा केही यस्ता नायक पनि थिए जो जनताको समस्यासँग परिचित थिए। सन् १९८७ देखि सन् १९९१ सम्म भारतका प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई ‘राजा होइन फकिर हो देशको तक्दिर हो’ भनिन्थ्यो। अहिलेको अवस्था त्यस्तो छैन। अहिले जनता ‘राजा होइन रंक हो देशको कलंक हो’, भन्ने स्थितिबीच मोदीलाई कसरी नायकको रुपमा प्रस्तुत गर्न सकिन्छ?

भारतमा देखिएको साम्प्रदायिक प्रभावले दक्षिण एसियाका अन्य देशमा पनि प्रभाव पार्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा हालको स्थितिबाट भारतीय समाज कता जाँदै छ जस्तो लाग्छ?

भारतीय समाज चाहे मोदी हुन् नहुन्, कांग्रेस होस् नहोस् अघि बढ्छ र बढ्नुपर्छ। परिस्थिति भारतको अनुकुल छ। युवा जनशक्ति छ यो देशमा। मोदी नेतृत्वको सरकारको धेरै कमजोर आर्थिक नीति जस्तै डिमोनिटराइजेशन, जिएटीबीच हाम्रो आर्थिक वृद्धिदर निरन्तर वृद्धि भई रहेको छ। सरकारको कमजोर नीतिबीच हाम्रो अर्थतन्त्र ७ प्रतिशतभन्दा माथि छ जुन चीनलाई पनि सम्भव छैन। यो कसैले रोक्न सक्ने विषय होइन। राम्रो नेतृत्व हुँदा यो आर्थिक वृद्धिदर अझै बढ्न सक्ने सम्भावना छ।

भारतीय जनताले लोकतान्त्रिक लडेर ल्याएका हुन् उनीहरूलाई थाहा छ कस्तो सरकार बनाउनुपर्छ भन्ने। सोही अनुसार निवार्चनमा मतदान गर्ने छन्। भारतीय लोकतान्त्रिकमा सरकारलाई विश्वास होस् नहोस् आम जनतालाई विश्वास छ, मलाई विश्वास छ। हाम्रो लोकतान्त्रिक आउने दिनमा अझै सुदृढ हुँदै जान्छ यसको विकल्प छैन।

मोदी नेतृत्वको पालामा भएको सकारात्मक कुरा पनि त छन् होलान् नि? मोदी नेतृत्वमा भएको जस भारतीय राज्य व्यवस्थालाई र नकारात्मक कुराको अपजस सरकारलाई दिने यो दोधारे विश्लेषण भएन र?

मैले उनले केही राम्रो काम नै गरेनन् भनेको छैन। राम्रा काम पनि भएको छ। जस्तैः शौचालय निर्माण। भारतीय कर्मचारीतन्त्रलाई स्वतन्त्रता दिने कदम चालेका छन्, व्यक्तिगत रुपमा नै नीति निमार्णमा हस्तक्षेप गरेका छन् र त्यसको संयोजन गरेका छन्। पहिला मन्त्रालयबीच नै वैमनश्यता उत्पन्न हुने स्थिति थियो जुन यो सरकारको पालोमा कम देखियो। यस्ता सकारात्मक काम अरु पनि छन्। तर मेरो भनाईको आशय यदि सरकारले गलत आर्थिक नीति लिदैन थियो भने भारतको आर्थिक वृद्धि आजेको दिनको तुलनामा २ प्रतिशतले बढी हुने थियो। मैले मेरो व्यक्तिगत विचार राखेको छैन। म एक अनुसन्धानकर्ता भएको हिसाबले पनि प्रकाशित आंकडाको हिसाबमा आफ्नो भनाई राखेको हुँ।

विदेश नीतिमा यो सरकारले केही राम्रो काम गर्यो केही नराम्रो। धेरै वाचा गरेको आएको सरकार थियो सरकारले। तर पाकिस्तानसँगको सम्बन्ध, श्रीलंकासँगको सम्बन्ध, बंलादेशसँगको सम्बन्ध अझै नेपालसँगको सम्बन्धमा सरकार पूर्ण रुपमा असफल भएको हो। भुटानसँगको हाम्रो सम्बन्धको विषयमा प्रश्न चिन्ह लागेको छ। यदी तपाईले मलाई यो सरकारलाई कति नंम्बर दिनुहुन्छ भन्नु हुन्थ्यिो भने म ५० भन्दा कम नम्बर दिन्थिए होला। 

निवार्चन परिणामको घोषणापछिको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ?

यस्तै हुन्छ भन्न सक्ने अवस्था त छैन तर मैले अघि पनि भनिसकें भारत त्रिशंकुतिर उन्मुख हुँदै छ।

यो शृंखलामाः

१. चुनावको मुखमा के सोच्दैछन् भारतीय ?

२. ‘भारतमा बहुमतको सरकार बन्ने सम्भावना कम छ’

३. मोदीकालमा जेएनयूलाई कसरी बनाइँदैछ कमजोर?

४. मेरो राजनीति कर्पोरेट क्षेत्र पोस्न हैन : कन्हैया कुमार

५. बेगुसरायमा कन्हैयाको घरमा जे देखियो

६. चुनाव प्रचारमा कन्हैया : झुस्स दाह्री, त्यही निलो चप्पल, उही रातो सर्ट

 

प्रकाशित: १० वैशाख २०७६ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App