७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बेगुसरायमा कन्हैयाको घरमा जे देखियो

बेगुसराय – भारतको  १७ औँ लोकसभा निर्वाचन रिपोर्टिङको क्रममा म विहारको बेगुसराय जिल्लामा आइपुगेको छु।

यो निर्वाचनमा यतिधेरै चर्चित जिल्ला भारतमै सम्भवतः अर्को छैन। चर्चाको केन्द्र हुन्, कन्हैया कुमार। जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी आन्दोलनबाट परिचित भएका हुन् उनी। नरेन्द्र मोदीको सरकारले देशद्रोहीको आरोपमा पक्राउ नै गरेपछि उनको चर्चा अझ चुलिएको हो।

त्यसैले म पनि कन्हैयाको घरमा आइपुगेको छु। दिल्लीबाट उनको घर पुग्दा लगभग सोमबार दिनको ३ः४० बजेको छ। 

त्यहाँ पुग्दा उनको घर र गाउँ पुरै सुनसान छ। उनको घर अगाडि केही मानिस बसेका छन्। त्यत्ति हो। मलाई कसोकसो नरमाइलो लाग्छ। भारतीय सञ्चारमाध्यममा कन्हैयाको चर्चा निकै नै चुलिएपछि म जेएनयूमा अध्ययनरत केही साथी, प्राध्यापक र केही परिचित भारतीयको सहयोग लिँदैै आइपुगेको छु। तर यहाँ सञ्चारमाध्यमले भनेजस्तो सरगर्मी छैन। 

सुनसान घरबाट कन्हैयाका काका निस्किए। उनले मलाई मलाई त्यहाँ राखिएको कुर्सीमा बस्न आग्रह गरे। त्यसको केही क्षणमा निर्वाचन प्रचारमा सहभागी हुन भारतको विभिन्न ठाउँबाट आएका महिला आइपुगे। 

मैले उनीहरुलाई नेपालबाट आएको बताए। 

उनीहरुको अनुहार उज्यालो बन्यो। 

‘तपाई पनि कन्हैयाको निर्वाचन प्रचारलाई साथ दिन नेपालबाट आउनुभएको?’, ती महिलामध्ये एक महिलाले आश्चर्य मिश्रित शब्दमा सोधिन। 

मैले आफ्नो भ्रमणको योजना र आफू सम्बद्ध संस्थाको परिचय गराएपछि अनुहारमा देखिएको उत्साह केही कम पाएँ।

दिल्लीबाटै कन्हैयासँगको अन्तरवार्ता लिने निधो सहित म त्यहाँ पुगेकाले म उनको प्रतिक्षामा बस्छु। दिल्लीबाट हिँड्ने बेलामा मलाई भारतीय कांग्रेस पार्टीका एक वरिष्ठ नेतासँग अन्तर्वार्ता लिने समय पनि मिलेको थियो। तर म कन्हैयाको प्रख्याति सुनेर उनको घर पुगेको थिएँ। 

केही क्षणमा ती महिला प्रचारमा निस्किए। उनीहरु गएपछि कन्हैया कुमारको आमासँग मेरो भेट भयो। 

सामान्य छ, कन्हैया कुमारको घर। त्यहीँ घरको पछाडिपट्टी निर्वाचन प्रचारमा आएका व्यक्तिलाई खुवाउन खाना बनाउने ठाउँ बनाइएको छ। प्रचारको समयमा धेरै मान्छे आउने भएर होला खाना पाकाउने ठाउँ केही ठूलो थियो। मान्छेहरु बेलुकाको खाना पकाउने सुरसारमा लागि सकेका थिए। 

त्यहीँनेर म कन्हैयाको आमासँग कुरा गर्न थाल्छु। अचम्म उनको अनुहार भावशुन्य छ। त्यहाँ कुनै उत्साह पाइँदैन। 

‘तपार्इं त उत्साहित हुनुपर्ने तर झोक्राई रहनुभएको छ त?’, म सोध्छु। 

‘तपाईंलाई त्यस्तो लागेको मात्र हो’, उनी भन्छिन्, ‘म खुशी नै छु।’

‘तपाईले ठीक छु भन्नु त एउटा कुरा हो, तर मुखको आकृतिले त अर्कै केही बताउँदै छ’, म जिद्दी गर्न छोड्दिनँ। 

मैले जिद्दी गरेपछि एकजना महिला कन्हैयाको आमाको समर्थन गर्न थाल्छिन्। 

‘आमा ठीकै त हुनुहुन्छ नि !’, उनी भन्छिन्। 

थाहा लाग्छ, उनी कन्हैयाकुमारको दिदी रहिछन्। नाम जुम्ली। कन्हैया त कान्छा रहेछन्। उनका दाई र दिदी पनि रहेछन्। 

छोरी नै आमाको पक्ष लिएर बोल्न आएपछि मैले फेरी सोध्छु, ‘निर्वाचनको दिन नजिकिँदै छ, कन्हैयाको लोकप्रियतालाई देखेर परिवारमा कुनै धम्की त आएको छैन नि?’

मेरो प्रश्नले आमा छोरी मुखामुख गर्छन्। आमा केही फरासिलो स्वरमा भन्छिन्, ‘त्यस्तो केही छैन। केही थकित भने छु।’

नथाकुन् पनि कसरी ? कन्हैयाको घरमा अहिले खाना खाने मान्छेको संख्या तीन, चार सय पुग्नेरैछ। काम सघाउन बेगुसराय भगवानपुरकी स्थिायी निवासी कन्हैयाकी दिदी माइती घर आएकी रैछिन्।

आमासँगको संवादको क्रम थप जोडिन्छ–

‘छोरा त अब संसद बन्दै छ तपाईं त अब गाउँ बिर्सिएर दिल्ली बस्ने जाने होला नि?’

‘म आफ्नो गाउँ छोडेर कतै जाँदिन। म गाउँमै बस्छु।’ 

संयुक्त परिवारमा बस्दा रहेछन् कन्हैया। उनका बुबाका तीन भाई एउटै घरमा बस्दै आएका रहेछन् पहिले। अहिले एक भाई भने बेगुसरायमा बसाई सरेका रहेछछन्। अहिले त्यो घरमा दुई परिवार संयुक्त रुपमा बस्छन्– कन्हैया र उनका काकाको परिवार। 

कच्ची घर साढे दुई कठ्ठामा फौलिएको छ। घरको अगाडी पट्टीको भित्रामा लेखिएको छ,‘नेता होइन छोरा छान्नुहोस्।’

आमासँगको कुराकानीका क्रममा थाहा भयो कन्हैया, सिंह रहेछन्। तर, पिताले आफ्नो थर सिंह लेखे पनि कन्हैया र उनका दाजु मिकान्तले कुमार लेख्दा रहेछन्। उनका पिता विजयशंकर सिंहको आठ महिना पहिला प्यारलाइसिसका कारण ५८ वर्षको उमेरमा निधन भएको रैछ।

स्थानिय आगनवाढी प्राथमिक स्कूल शिक्षिका आमासँग कुराकानी गर्दै गर्दा उनलाई भेट्न अरु मान्छे (सायद पार्टीका) आए। र, हाम्रो सम्वादको क्रम त्यही टुंगियो।

घर अगाडी आउँछु र काकासँग कुरा गर्छु। 

‘निर्वाचनको माहोल जस्तो त खासै लाग्दैन नि यहाँ?’

५५–५६ वर्षका देखिने काका भन्छन्, ‘हो, निर्वाचन खर्च कटाउन व्यानर, झन्डा खासै प्रयोग गरिएको छैन, त्यसैले यहाँ आउने जो कोहीलाई निर्वाचनको माहोल नभनेको जस्तो लाग्छ।’

भारतीय निर्वाचन आयोगले निर्वाचनमा एक उम्मेदवारले जम्मा ७० लाख भारतीय रुपौँया खर्च गर्न पाउने नियम लागाएको छ। जनताको सहयोगमा कन्हैयाले आफ्नो निर्वाचन खर्च उठाएका छन्। यस्तो अवस्थामा कन्हैयाको गाउँमा निर्वाचनको माहोल किन देखिदैन भन्ने मेरो प्रारम्भिक प्रश्नले उत्तर पाउँछ।

साँझ पर्दै जाँदा त्यहाँ चहलपहल पनि बढ्दै जान्छ। विभिन्न ठाउँबाट कन्हैयाको निर्वाचन अभियानमा साथ दिन मान्छे आई पुग्छन्। कन्हैयाको निर्वाचन प्रचारमा सहभागी (त्यो दिनको प्रचार अभियानमा सहभागी नभएका) मध्ये प्रदेशका एक युवाका हिमान्शु पंडितका अनुसार यहाँ आउन इच्छा धेरैले राखेका छन्। तर कन्हैयाले खानेबस्ने व्यवस्था आफैँ गर्नुपर्ने बताएपछि उनीहरु आउन सकिरहेका छैनन्। 

बाहिरबाट आएका ५०–६० मान्छेले बस्ने व्यवस्था गरिएको भए पनि त्यो भन्दा बढीलाई गर्न सकिने अवस्था त्यहाँ नरहेको उनी बताउँछन्। भन्छन्,‘खाना त दैनिक २–३ सय जानलाई पाक्छ तर बस्ने व्यवस्था धेरैलाई गर्न सकेका छैनन्।’ 

मुजर्फपुरबाट कन्हैयाको घरतर्फ

मुजर्फपुरबाट कन्हैयाको घर बरौनी जिरो माइल आउँदा करिब ४ घण्टा लागेको थियो। दिल्लीबाट बरौनी आउन मजर्फपुर पुग्नुपर्ने रहेछ। त्यो यात्राका क्रममा गाडीमा रहेका केही मान्छेसँग कुराकानी गर्दा यो निर्वाचनमा कन्हैयाले जित्ने सम्भावना रहेको उनीहरुको तर्क थियो। चार घण्टाको दैरान करिब १२ मानिससँगको कुरामा कोही कसैले पनि निश्चित जित्छ भन्नेनन्।

यस्तै बरौनी जिरो माइलबाट कन्हैयाको घर पुग्न करिब १० मिनेटको बाटो आफू नयाँ भएकाले घर पत्ता लगाउन सहज होस् भनेर अटो लिन्छु। 

अटोवालाको विश्लेषण छ– ‘प्रतिस्पर्धा कन्हैया र भाजपाका नेता गिरिराज सिंहमध्ये भए पनि स्थानियको आकलन यी दुइबीच प्रतिपर्धा हुँदा राष्टिय जनता दल (लालु प्रदास यादव) पार्टीका उम्मेदवार तनवीर हसनलाई हुने छ।’

स्थानियसँग बुझदै जाँदा यहाँको राजनीतिमा जातिय प्रभाव निकै हुने रहेछ। भुमिया जाति यहाँको उपल्लो जाति हो। कन्हैया सोही जातिय समुदायका रहेछन्। भुमिया जातियको बाहुल्यता रहेको क्षेत्र भएकाले पनि कन्हैयाको जित हुने उनका समर्थकले भन्दै गर्दा मुश्लिम, कुर्मी यादव समुदायका मानिसको उपस्थितिलाई नजरअन्दाज गर्न सकिने अवस्था रहेनछ। 

भुमियापछि यो ठाउँमा बढी मात्रामा मुसलमान बस्दा रहेछन्। जनसंख्याको आकडा खोज्दा सन् २०११ मा भएको जनगठना भेटियो। भारतको जनसंख्या तीव्रतर हिसाबमा बढ्दै गएको अवस्थामा सन् २०११ को आकडाले निर्वाचन परिणामको सही दृश्य दिन सक्दैन थियो।

कन्हैयाको घरमा उपस्थित मानिसको कुरा सन्दा यो निर्वाचनलाई कुर्मी समुदायको भोटले निकै प्रभाव पार्ने देखिएको छ। यहाँको निर्वाचन जातीय र सत्ता प्रभावमा हुने उनीहरुको आकलन छ। कन्हैयाको पक्षमा लहर देखिए पनि निवार्चमा लहर मात्रैले काम गर्दैन भन्ने नेपालकै अनुभव ताज छ। शहरी क्षेत्रमा विवेकशील साझाको लहर देखिए पनि २०७४ सालको संघीय संसदको निर्वाचन परिणामले लहर एक कुरा परिणाम अर्को भन्ने देखाएको थियो।

बेगुसरायमा निर्वाचन तीन प्रतिपर्धीबीच छन् र तीनको आफ्नै निर्वाचन जित्ने आधार। कन्हैयाका कारण देश विदेशमा बेगुसराय जिल्लाको चर्चा छ। उनको पृष्ठभूमि र प्रख्यातिको अलवा भुमिया समुदायको उनीप्रति सदाशयता देखिन्छ। यस्तै अर्का प्रतिपर्धि तनविर हसन मुस्लिम भएकाले र लालुसाद यादवको पार्टीका उमेदवार भएकाले मुस्लिम र यादव उनको पक्षमा जान सक्ने कुरालाई कन्हैयाकै सहयोगी रहेका मध्ये प्रदेशका हिमांशु पण्डित बताउँछन्। यस्तै गिरिराज सिंहको राज्यमन्त्रीको हैसियतमा सरकारमा सामेल छन्। उनले आफ्नो सत्ताको दुरुपयोग गर्ने सम्भावना रहने पण्डित बताउँछन्। 

कन्हैयाकै प्रतीक्षा

कन्हैयाको प्रतिक्षामा रहँदै गर्दा त्यहाँ मुस्लिम समुदायका मानिसको उपस्थितिले मलाई केही आकर्षित गर्यो। हुन त करिब २–३ लाख मुस्लिम समुदायका मानिसको बसोबास भएको बेगुसराय जिल्लामा मुस्लिम समुदायको उपस्थितिले खासै आकर्षित नगर्नु पर्ने हो। तर, त्यहाँ उपस्थित मुस्लिम मानिस जिल्लाबासी नभएर बाहिरी जिल्लाबाट आएका हुँदा म उनीहरुप्रति आकर्षित हुन्छु।

‘साम्प्रादायिकताको मुद्दाले देशलाई बर्बाद बनाउने भयो। धर्मको आडमा केन्द्र सरकारले अन्य सम्प्रदायका मानिसमाथि भेदभाव गर्ने काम गरेको छ यसले समाजलाई विखण्डन तिर लग्दैछ,’ उपस्थित मुश्लिम मध्येका एक व्यक्तिले भने। 

यसमा अर्का व्यक्ति थप्छन्, ‘विकासको नारा लगाएर सन् २०१४ मा भोट माग्न आएको भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हामीले भोट दिएका हौँ। निर्वाचनको मन्डेट नै नभएको साम्प्रदायीकताको मुद्धालाई यो सरकरले उठाउने मन्डेट कहाँबाट पायो?’ 

मुश्लिम समुदायको प्रतिनिधि आवाजको रुपमा उनीहरु प्रश्न गर्दै थिए।

रातको साढे आठ बजिसक्दा पनि कन्हैयाको अत्तोपत्तो थिएन। जमघट भने बढ्दै थियो। यस्तैमा यहाँ उपस्थित एक व्यक्तिसँग म प्रश्न गर्छु, ‘आखिर कन्हैयालाई पनि आफ्नो उमेदवारी दिँदा बलिउडको सहारा लिन पर्यो है?’ अक्सर भारतीय निर्वाचनमा उमेदवारी दिन जाँदा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकारलाई साथै राख्ने यहाँको चलन जस्तै भइसकेको छ। कन्हैयाको उम्मेदवारी दर्ताका दिन दिन नायिका स्वरा भाष्कर उनको साथमा देखिएकी थिइन्।

उनको तत्काल जवाफ दिए, ‘तपार्इंले यो कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउनुभएको होला, हाम्रो सञ्चारमाध्यम जे बिक्छ त्यही बताउँछ, देखाउँछ। विषय वस्तु सत्यबाट टाढा भए पनि त्यो वास्ता गर्दैनन्।’

उनका अनुसार स्वरा भाष्कर जेएनयूकी पूर्वविद्यार्थी रहिछन् र कन्हैयालाई समर्थन गर्न आएको ती व्यक्तिले बताए। यस्तै भाष्कर पनि विहारलाई नै प्रतिनिधित्व गर्ने भएकाले पनि उनको उपस्थितिमा बलिउड समर्थनको विषय जोड्न उचित नहुने उनको तर्क थियो।

कन्हैयाको प्रतिक्षामा बस्दै जाँदा त्यहाँ केरलादेखि गुजरातसम्मका मानिस कन्हैयाको प्रचार अभियानमा सहभागी हुन आई पुगेका थिए।

यस्तै जेएनयू, दिल्ली विश्वविद्यालय, हैदरावाद विश्वविद्यालयबाट विद्यार्थी र प्राध्यापक पनि कन्हैयालाई मानसिक बल प्रदान गर्न यहाँ आएका छन्। स्नाकोत्तर, एमफिल, पिएचडी तहमा अध्ययनरत विद्यार्थीको यहाँ उपस्थिति छ।

कन्हैयालाई नैतिक बल प्रदान गर्न नजिबकी आमा पनि केही दिन अघि बेगुसराय आएकी रहिछन्। नजिब त्यही व्यक्ति हुन् जसलाई जेएनयूबाट २ वर्षअघि गायब बनाइएको थियो।

यस्तै कन्हैया जेएनयूको विद्यार्थी सभापति हुँदा उपसभापति रहेकी शायला रसिद पनि केही दिनअघिसम्म यही रहेको जानकारी प्राप्त भयो।

रातको दस बजेसम्म पनि कन्हैया प्रचार अभियानबाट फर्किएका थिएनन्। म भने व्याकुल हुँदै गएको थिएँ। पक्का भइसकेको एउटा अन्तरवार्तालाई छोडेर म कन्हैयाको गाउँमा उपस्थित जो भएको थिएँ। यसैबीच लगभग साढे १० बजेतिर खबर आउँछ अन्तरवार्ता भोली अर्थात मंलगबार चुनावी प्रचारकै क्रममा गर्ने।

प्रकाशित: ५ वैशाख २०७६ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App