७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको मुखमा के सोच्दैछन् भारतीय ?

दिल्ली- आजदेखि भारतको १७ औं लोकसभाको निर्वाचन सुरु भएको छ। अघिल्लो निर्वाचनमा एकल पार्टीको सरकार बनाउने गरी बलियो बनेको भाजपाको पाँच वर्षे शासनको परीक्षण यही निर्वाचनले गर्दैछ। वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल लम्बिने वा यही रोकिने भन्ने पनि यही निर्वाचनले निश्चित गर्नेछ। अर्कोतर्फ मोदीविरुद्ध भारतीय कांग्रेस लगायतले बनाएको गठबन्धनको सामथ्र्य पनि यही निर्वाचनले परीक्षण गर्नेछ।

यो निर्वाचनमा भारत कसरी भाग लिँदैछ भन्ने रिपोर्टिङको लागि म काठमाडौंबाट दिल्ली आइपुगेको छु।

दिल्लीमा निवार्चनका लागि करिब एक महिना बाँकी रहे पनि राजधानी भएकाले यहाँ निवार्चनको सरगर्मी बढ्दो क्रममा छ।

यसो त दिल्लीको हिन्दू समुदायमा नवरात्रिको उत्साह पनि उत्तिकै छ। तर नवरात्रीभन्दा निर्वाचन र यसको परिणामलाई लिएर यहाँका मानिसले बढी चर्चा गर्ने गरेको पाइन्छ।

निर्वाचनका विषयलाई लिएर दिल्लीमा बस्ने एक तप्काका भारतीयमा चसो देखिए पनि अर्कातप्काका मानिस आफ्नै दैनिक गुजाराका लागि नै मरिमेट्दै छन्। यो पनि दिल्लीको अर्को सत्य हो।

मोहनलालजस्ता निम्न आय भएका जनतालाई भने साम्प्रदायिकताले खासै प्रभाव पारेको देखिएन। यो निर्वाचनपछि लोककल्याण मार्ग (भारतीय प्रम निवास)मा को बस्छ भन्नेबारे पनि उनलाई खासै चासो छैन। उनी त सरकारले आफूजस्ता विपन्नका लागि स्वास्थ्य, शिक्षा जस्ता आधारभुत छुट देओस् भन्ने चाहन्छन्।

दक्षिण दिल्लीस्थित हज खसमा चिया बेच्दै गरेका भारत झारखण्डका लाल मोहनलाई मैले बुधबार दिउँसो भेटेको थिएँ। उनमा निर्वाचनप्रति खासै चासो थिएन। बरु आफ्नो छोराको स्वास्थ्यलाई लिएर चिन्तित थिए उनी। घरपरिवार र नातागोतासँग पनि उनी चुनावभन्दा बढी छोराको स्वास्थ्यबारे कुराकानी गरिरहेका थिए।

उनको पाँच वर्षको छोरा मुटु रोगी रहेछन्। दिल्लीको कुनै राम्रो अस्पतालमा छोराको उपचार गर्ने उनको चाहना आर्थिक अभावकै कारण पूरा हुन सकेको छैन।

‘दिल्ली जस्तो महंगो ठाउँमा दैनिक हजार–पन्ध्र सय कमाई हुन्छ। दैनिक खाना खर्च र बसाई खर्च कटाएर घरमा मुश्किलले मासिक १० हजार पठाउँदै आएको छु’, उनी भन्छन्, ‘कमाई गरौँला भन्दै घर छोडेको धेरै भएको छैन यहीबेला छोरा बिरामी पर्यो।’

हुन त यो मोदी शासनको पाँच वर्षमा सबैभन्दा बढी उचालिएको विषय नै हिन्दुत्व थियो। भारत स्थापनादेखि नै जरो गाडेको साम्प्रदायिकता भारतीय जनता पार्टीको उत्थानसँगै उकासिएको विश्लेषण गर्ने गरिन्छ। नेपालदेखि दिल्लीसम्म यात्रा गर्दा पनि भेटिएका विभिन्न मानिसले पनि भारतको राजनीति झन् बढी साम्प्रदायिक हुँदै गरेको बताएका थिए।

मोहनलालजस्ता निम्न आय भएका जनतालाई भने साम्प्रदायिकताले खासै प्रभाव पारेको देखिएन। यो निर्वाचनपछि लोककल्याण मार्ग (भारतीय प्रम निवास)मा को बस्छ भन्नेबारे पनि उनलाई खासै चासो छैन। उनी त सरकारले आफूजस्ता विपन्नका लागि स्वास्थ्य, शिक्षा जस्ता आधारभुत छुट देओस् भन्ने चाहन्छन्।

रामनवमी र नवरात्रीको उल्लासमा रमिरहेका हिन्दूजन भने यो निर्वाचनबाट पनि नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी नै विजय हुनेमा आशावादी देखिए। नवरात्रीको अवसरमा लागेको भण्डारामा उपस्थित अधिकांश मानिस हिन्दु समुदायकै भएकाले पनि होला उनीहरुको समर्थन मोदीलाई नै हुने देखियो।

दिल्ली आउने क्रममा गोरखपुरबाटसँगै यात्रा गरेका उत्तर प्रदेश फारबिसगञ्जका मनोज तिवारी भने यो पटकको निवार्चन खासै उत्साहप्रद नभएको बताउँदै थिए। भनेका थिए, ‘अघिल्लो लोकसभा निवार्चनमा ठूलो आशा गरेर मोदीको पार्टीलाई मतदान गरे पनि मोदी सरकार हाम्रो विश्वासमा खरो उत्रिन सकेन।’

कृषिकर्म गरेर जीवन चलाउने ४३ वर्षिय तिवारी सबै राजनीतिक पार्टीको उद्देश्य नै सत्ताप्राप्ति हुने गरेको र त्यसका लागि जनता प्रयोग मात्रै भएको ठान्छन्।

चैत २५ गते सोमबार तिवारीले मोदी सरकारको आलोचना गर्दै गर्दा रात्रीकालीन समय थियो। विहनीपख यकिन गर्न नसकिने ठाउँमा बाहिर हेर्दा तिवारीको आलोचनामा दम भएको अनुभूति भयो। आर्थिक हिसाबमा उन्नति गर्दै गएको भारत अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानमा अबको केही वर्ष भित्र विश्वको तेस्रो आर्थिक शक्ति राष्ट्र बन्दै छ। तर, बिहानीपख शौच गर्न लोटा लिएर खेतबारीका पाटोमा बसेका पुरुषहरुको दृश्यले केही अरु नै संकेत गथ्र्यो।

त्यो दृश्यले मलाई भारतीय चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ को सम्झना गरायो। मनमनै सोचे पुरुषको त यो हाल छ भने महिलाको के हाल हुँदो हो ?

सरकार गठन पश्चात् भारतीय प्रधानमन्त्री मोदीले चलाएको ‘स्वच्छ भारत अभियान’ लाई बारीका पाटामा बसि सौच गरि रहेका पुरुषको लस्कारले गिज्याई रहेको आभास भयो। त्यसको केही पर चुनावी व्यानर टाँगिएको देखिन्थ्यो। यो व्यानरको मुल नारा के थियो राम्रोसँग देखिएन। तर दिल्लीका चोक–चोकमा लागेका चुनावी व्यानरमा नारा सहित प्रायः सबै व्यानरमा लेखिएको ‘फिर एक बार मोदी सरकार’ भन्ने नाराले बाटोमा देखिएको व्यानरमा पनि सायद त्यो नारा थियो भन्ने अनुमान लगाउन मुश्किल भएन।

यात्राको क्रममा होस् अथवा दिल्लीमा बस्दै गर्दा भारतको १७ औँ लोकसभाको निर्वाचनमा जवारलाल नेहरु विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी संगठनका पूर्व सभापति कन्हैया कुमारको चर्चा अत्याधिक मात्रामा भएको पाइन्छ। दिल्लीमा भेटिएका राजनीतिक विश्लेषक डा. सतिश मिश्राको शब्दमा सन् २०१४ को निवार्चनमा जसरी मोदीको चर्चा थियो यो लोकसभाको निवार्चनमा कन्हैयाको चर्चा यस्तै छ।

‘कन्हैयाको वाक पटुता र उनले गर्ने भाषणले आम मानिसलाई सजिलै छुन्छ’, डा. मिश्रा भन्छन्, ‘त्यही कारण पनि हुन सक्छ उनीप्रतिको आकर्षण धेरै नै छ।’

तर, कन्हैयाकै प्रदेश विहार बस्तिपुर जिल्ला निवासी रतन झा भने कन्हैयाको चर्चा भए पनि उनले निवार्चन जित्नेमा शंका व्यक्त गर्छन्। दिल्लीमा अटो चालक रहेका उनी भन्छन्, ‘केन्द्रिय मन्त्रीसँग निवार्चन प्रतिस्पर्धामा रहेका कन्हैयाले निवार्चन जित्न मुश्किल छ।’

कन्हैया कुमार विहारको बेगनसुराय जिल्लाबाट भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। उनको प्रमुख प्रतिस्प्रधिको रुपमा रहेका छन् मोदी सरकारमा राज्य मन्त्री रहेका गिरिराज सिंह। सिंह आफ्नो परम्परागत निवार्चन क्षेत्र विहारको नवाडाबाट निर्वाचनमा प्रतिस्पर्धा नगरि कन्हैयासँग प्रतिस्प्रर्धा गर्न सिंहलाई भाजपाले बेगनसुराय जिल्लामा पठाएको हो।

झाको विचारमा सिंहको तुलनामा कन्हैया फुच्चे प्रतिप्रर्धी हुन्। झा थप भन्छन्, ‘चर्चा हुनु एउटा कुरा हो भने विजयी हुनु अर्को। केन्द्रिय मन्त्री भई सकेको व्यक्तिले जिल्लाको विकासमा धेरै काम गर्न सक्छ, कन्हैयाबाट त्यो आश गर्न सकिदैन।’

झा जस्तै दिल्लीमा भेटिएका विहारलाई प्रतिनिधित्व गर्ने अन्य व्यक्तिले पनि कन्हैयाको चर्चा मात्रै बढी भएको बताउँदै गर्दा डा. मिश्राको भनाई याद आयो। दिल्लीले विश्वास गरेको कन्हैयालाई विहारका मानिसले किन विश्वास गर्न सकेका छैनन् त?

सन् २०१४ को तुलनामा यो लोकसभाको निवार्चनमा मोदीको पक्षमा पनि जनलहर नरहेको सर्वसाधारण भारतीय बताउँछन्। मोदीको पक्षमा जनलहर नभए पनि भेटभएका अधिकांश भारतीय, मोदीको विकल्प भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी हुन नसक्ने विचार व्यक्त गर्छन्।

लोकसभाको निवार्चनमा प्रमुख प्रतिस्प्रधिका रुपमा रहेको भाजपा र कांग्रेसको प्रचार व्यानरलाई हेर्ने हो भने भाजपाको प्रचार सामाग्रीमा समावेश नारा आम जनतालाई सहज आकर्षित गर्ने किसिमका छन्।

नाराले मात्रै निवार्चनमा विजय हासिल गरिन्छ भन्ने भने होइन। निवार्चन सबै जनतालाई एक साथ लिएर अघि बढ्ने प्रजातान्त्रिक विधिको एक उत्कृष्ट नमुना भने हो। निवार्चनका क्रममा गरिएका वाचा र निवार्चनपछि ती वाचा पुरा गर्न तत् तत् राजनीतिक पार्टीले कस्तो कार्यक्रम सञ्चालन गरे भन्ने विषयले जनताको मतलाई प्रभावित पार्छ।

जे होस् भारत यात्राको क्रममा र छोटो समय दिल्ली बस्दै गर्दा के कुरा अनुमान गर्न सकिन्छ भने यो लोकसभाको निर्वाचनबाट अघिल्लो लोकसभाको निर्वाचनमा जस्तै कुनै एक दललाई भारतीय जनताले बहुमत दिने वाला छैनन्। मतदानको दिन नजिकिँदै गर्दा गर्दा राजनीतिक रुपमा मत परिणामको नतिजालाई लिएर गोप्य जोड घटाउका खेल हुन पनि सक्छन्। यस्तो भएको खण्डमा यो अनुमानलाई त्यसले पक्कै असर पार्नेछ।

प्रकाशित: २८ चैत्र २०७५ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App