राजनीति

म माथि लागेको आरोपको अनुसन्धान होस्ः प्रा.डा. संग्रौला

प्राध्यापक डा. युवराज संग्रौलाले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे स्वतन्त्र अनुसन्धान गर्न माग गरेका छन्।

आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै पनि अनुसन्धान निकायले छानबिन गर्ने हो भने आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताए।

साथै, सामाजिक सञ्जालमा व्यक्त अमूर्त आरोपलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यदि साँच्चिकै पीडित छन् भने कानुनी प्रक्रियामा जानुपर्ने उल्लेख गरे।

उनले भने, ‘मेरो ३७ वर्षको व्यावसायिक ईमानदारीतामा कुनै अनुसन्धान निकायले शंका गर्छ भने मलाई हत्कडी लगाएर लैजान सक्छ। तर, सामाजिक सञ्जालमा कसैले प्रमाणविना व्यक्त गरेको भनाइलाई आधार बनाएर मिडियाले ट्रायल गर्ने हो भने राम्रा मानिसहरू पीडित बन्नेछन्।’

डा. संग्रौलाले आरोपहरूलाई खण्डन गर्दै आफ्नो विषयगत अध्ययनका क्रममा कक्षा कोठामा गरिएका चर्चा गलत तरिकाले व्याख्या गरिएको बताए।

साथै, समाजिक सञ्जालमा आएका धम्कीपूर्ण टिप्पणीहरूप्रति आपत्ति जनाउँदै उनले कानुनी राज्य र स्वतन्त्र न्यायपालिकामाथि आफूलाई पूर्ण विश्वास रहेको धारणा राखे।

यसैबीच, काठमाडौं स्कुल अफ लको व्यवस्थापनले प्रकरणको निष्पक्ष छानबिनका लागि वरिष्ठ पत्रकार तीर्थ कोईराला, अधिवक्ता सीमा धामी तथा डा. श्रीकृष्ण भट्टराईको संयोजनमा जाँचबुझ समिति गठन गरेको छ।

प्रकाशित: ३ चैत्र २०८१ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App