राजनीति

विदेशमा भएका नेपालीलाई मतदानको अधिकार दिनुपर्छ : प्रवक्ता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनुपर्ने माग गरेका छन्। शाहीले सामाजिक सञ्जालमार्फत विभिन्न ८ बुँदे सुझाव जारी गर्दै यस्तो बताएका हुन्। 

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने अनि त्यो दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्ने उल्लेख गरेका छन्। 

उनले प्रदेश संरचना खारेज गर्नुपर्ने बुद्ध, किराँत र हिन्दु सहितको वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना गर्नुपर्ने तर्क गरेका छन्। त्यस्तै, राष्ट्रपति र राजाको विषयमा पनि जनमत सङ्ग्रहमा जानुपर्ने उनको सुझाव छ। भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण गर्नुपर्नेमा उनको जोड छ। 

त्यस्तै, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गरिनुपर्ने पनि उनले स्पष्ट पारेका छन्। सांसद शाहीले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनुका साथै युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने कुरा समेत उल्लेख गरेका छन्। कर्मचारी तथा शिक्षकहरूलाई राजनीति गर्न बन्देज लगाउनुपर्ने पनि उनको भनाइ रहेको छ। 

शाहीले पार्टीमा एकअर्कालाई आरोप र प्रत्यारोप लगाएर पार्टीको केन्द्रिय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेको आरोप समेत लगाएका छन्।

प्रकाशित: १३ माघ २०८१ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App