राजनीति

लागूऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्। शुक्रवार (आज) महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन्।

उनले पछिल्लो समय लागूऔषधले भयावह स्थिति सिर्जना गरेको बताउँदै यसको न्यूनिकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। “समाजमा लागूऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ”, गृहमन्त्री लेखकले भने, “लागूऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवात गरोस्।” गृहमन्त्री लागूऔषधले घर घरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रुपमा लिएर लागूऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। 

त्यसैगरी उनले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्। “सरकारले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेका छौ।” उनले भने, “त्यसकारण सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढून् तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ ।” गृहमन्त्री लेखकले शिक्षाको क्षेत्रमा निजी र आवासीय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको जनाए। 

उनले भने, “सरकारले निजी विद्यालयलाई पनि राम्रोसँग सञ्चालन गर्ने कुरामा सरकार लाग्नेछ। शिक्षाको गुणस्तरसँग सम्झौता गर्ने कुरा, चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नुपर्छ।” उहाँले अहिले संघिय संसद्‌मा विद्यालय सम्बन्धी विधेयक छलफलमा रहेको पनि जानकारी गराएका छन्। शिक्षा विधेयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निमार्ण गरेर शिक्षालाई अत्यन्त सुलभ, सरल र सबै नेपाली नागरिकको पहुँच हुन सक्ने तर्फ सरकार लागिपरेको उनको दाबी थियो।  

प्रकाशित: २६ पुस २०८१ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App