राजनीति

दुई राप्रपाबीच एकताको तीव्र प्रयास

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताको प्रयास सुरु भएको छ।

हुन त यी दुई पार्टीबीच तात्त्विक रूपमा फरक छैन। राजनीतिक उद्देश्य र सैद्धान्तिक कार्यदिशाका हिसाबले पनि पनि यी दुई पार्टी फरक होइनन्। तर, २०७८ मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताए।

त्यसयता उनीहरूबीच अपवादबाहेक भेटघाट र बोलचाल पनि हुँदैनथ्यो। तर, पछिल्लो समय भने उनीहरू भेट्न थालेका छन्, बोल्न थालेका छन्।

अलिक दिन पहिले उनीहरूबीच लामै संवाद भयो। जहाँ, उनीहरू 'मिल्नुपर्छ' भन्ने बिन्दु पुगेको नेताहरूले बताएका छन्। त्यसबाहेक दोस्रो तहका नेताहरूले विभिन्न मितिमा संवाद गरिरहेका छन्।

विगतका तमाम कमजोरी र भविष्यमा हिँड्नुपर्ने मार्ग पर्गेलेर मिल्नुपर्ने दुबै पार्टीको निष्कर्ष रहेको दुबै पार्टीका नेताहरूले बताएका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, 'चिया गफ सुरु भएको छ। एकता हुनुपर्छ भन्ने विषयहरू उठेका छन्। एकता गर्ने तर, भविष्यमा छुटेर नजाने खालको सुनिश्चितता हुनुपर्‍यो भनेर हामीले भनेका छौँ।'

यता राप्रपा नेपालको त केन्द्रीय समिति बैठकले नै समान विचार भएका दलहरूका बीचमा एकता हुनुपर्ने निष्कर्ष निकालेको छ। यही निष्कर्षअनुरूप आफूहरू अगाडि बढ्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला बताउँछन्।

'छलफलको वातावरण बनेको छ। संवाद पनि सुरु भएको छ। ढिलोचाँडो एकता हुन्छ र हुनुपर्छ पनि। त्यहीअनुरूप अध्यक्षकै तहमा पनि संवाद सुरु भएको छ,' बर्तौलाले भने।

त्यसो त हिन्दु गणतन्त्र भन्दै आएका कमल थापाले पछिल्लो समय संवैधानिक राजतन्त्र भन्न थालेका छन्। जुन राप्रपासँग मिल्ने निकटको बिन्दु हो। यस सम्बन्धमा राप्रपाले थप सुनिश्चितता खोजेको छ। यसमा थप छलफल र संवाद गर्ने प्रवक्ता श्रेष्ठ बताउँछन्।

राजसंस्था पुनर्स्थपानका लागि अनुकूल समय

राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थपानका लागि अहिले सर्वाधिक अनुकूल समय रहेको विश्लेषण गरेको छ।

भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा प्रेषित राजनीतिक प्रतिवेदनमा अध्यक्ष कमल थापाले भनेका छन्, 'राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने सन्दर्भमा अहिले सर्वाधिक अनुकूल अवस्था बनेको छ। सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रका संवाहकहरूप्रति तीव्र वितृष्णा देखिएको तथा जनताले कंग्रेस-कम्युनिष्टको विकल्प खोजिरहेको विद्यमान परिस्थितिमा समेत राजावादी र हिन्दुवादीहरू एकठाउँमा उभिन नसक्नु उदेकलाग्दो छ।' 

यता राप्रपाको ठम्याइ पनि त्योभन्दा भिन्न छैन। प्रवक्ता श्रेष्ठका अनुसार अहिले राप्रपाले एउटा राष्ट्रवादी शक्ति बनाउन चाहेको छ। 'एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने भन्नेमा हामी सहमत छौँ। संवाद सुरु भएकै छ। त्यसलाई मूर्त रूप दिनका लागि हामी प्रयासरत छौँ। राष्ट्रवादी सम्मान विचारधारा भएका दलहरूबीच एकता हुनुपर्छ र अहिलेको समयमा पार्टीको एजेन्डासम्म पुग्न सकिन्छ भन्ने हो।'

राप्रपाले आगामी माघ ११ र १२ गते बैठक आह्वान गरेको छ। उक्त बैठकमा यी तमाम विषयमाथि छलफल हुने नेताहरूले बताएका छन्। 

यो पनि पढ्नुहोस्

कमल थापाको विश्लेषण- राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि अहिले सर्वाधिक अनुकूल अवस्था

प्रकाशित: २४ पुस २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App