पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्पत्तिको सबै स्रोत खुलाउन नसकेको जनाइएको छ। लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण संकलन गर्ने क्रममा उनीहरूले सम्पत्ति स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरूको बैंक खाता विवरण संकलन गरिएको थियो। प्रहरीका अनुसार उनीहरूको बैंक खातामा २२ करोडभन्दा बढी बिनास्रोतको रकम जम्मा भएको देखिन्छ। चन्दा तथा सहयोगबाट आएको रकम भने करिब चार करोड मात्रै देखिएको प्रहरीको दाबी छ।
‘लामिछानेकी पत्नी निकिताको खातामा आएको करिब २२ करोड रूपैयाँको स्रोत खुलेको देखिन्न। उहाँले दाबी गरेको चन्दाबापतको रकम करिब चार करोड मात्रै देखिन्छ,’ सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने। प्रहरी स्रोतका अनुसार चन्दाबापतको रकम लामिछाने र पत्नी निकिताको खातामा पनि जम्मा भएको छ तर स्रोत खुल्ने गरी बाहेकको रकम कसरी आयो र कहाँबाट आयो भन्ने जानकारी देखिँदैन ।
प्रहरीले पुस ३ देखि ५ गतेभित्र अनुसन्धान सिध्याएर लामिछानेलाई सरकारी वकिल कार्यालयमा पठाउने तयारी गरिरहेका बेला सम्पत्तिको स्रोत खुल्न नसक्ने अवस्था देखिएको हो। कास्की प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सिध्याएर सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरेको छ।
बयानका क्रममा सरकारी वकिल साथमै रहेका कारण बयानबाहेकका अन्य अनुसन्धान चाँडै सिध्याएर प्रहरीले मिसिल सरकारी वकिल कार्यालयमा पठाउन लागेको हो। ‘अबका केही दिनमा अनुसन्धान सिध्याएर मिसिल सरकारी वकिलको कार्यालयमा पठाइनेछ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता दानबहादुर कार्कीले भने।
पाँच जिल्लाका पाँचवटा सहकारी ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले सबैभन्दा पहिला पोखराको सूर्यदर्शन सहकारीको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाउने भएको छ। सरकारी वकिलले सो अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दायर गर्नेछन्। ‘सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण गरी तीनवटैमा सजायको माग दाबी गरिनेछ,’ कास्की प्रहरी स्रोतले भन्यो।
कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको ठगीमा ४० जनाविरुद्ध पूरक अभियोगपत्र तयार पारिरहेको छ। यीमध्ये पाँच जना हाल कास्की प्रहरीको हिरासतमै रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार छविलाल जोशी पक्राउ परेको मितिलाई आधार मानेर मुद्दा लैजाने तयारी भएको हो। जोशी असोज ६ गते पक्राउ परेका थिए। उनी पक्राउ परेको करिब एक महिनापछि मात्रै लामिछाने पक्राउ परेका हुन्।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी चितवन हुँदै पोखरा लगिएको थियो। त्यसअघि जिबी राईसँग निकट रहेकी र अस्वाभाविक कारोबारसमेत देखिएकी लीला पछाई, छविका अंगरक्षक रामबहादुर खनाल र सहकारीकै एक सञ्चालक कृष्ण गुरुङ पक्राउ परेका थिए।
पूरक अभियोजन लैजानुअघि जिबी राई, कुमार रम्तेलसहित १९ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ। तीमध्ये राईसहित केही फरार छन् भने केही पुर्पक्ष थुनामा छन्। सहकारीको रकम संगठित रूपमा ठगी गरेको आरोपमा लामिछानेलाई मुद्दा चलाउन लागिएको हो। प्रहरीका अनुसार संगठित अपराध गर्ने गिरोहमा प्रमुख चार योजनाकारका रूपमा जिबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र रवि लामिछाने छन्।
‘रवि लामिछानेले ग्यालेक्सी टिभी सञ्चालन गर्ने आँट र भरोसा नदिएको भए सहकारीको त्यति ठुलो रकम डुब्ने थिएन भन्ने निष्कर्षमा पुगिएको छ, जसले गर्दा यसको प्रमुख योजनाकार उनी नै रहेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
प्रहरीका अनुसार गोर्खा मिडियामार्फत पाँच करोड ५८ लाख रूपैयाँ संगठित तवरले ठगेको निष्कर्षका आधारमा संगठित अपराधको मुद्दा लैजाने तयारी भएको हो। पोखराको सूर्यदर्शन सहकारीसहित अन्य सहकारी रकम गरी ६७ करोड रूपैयाँ संगठित रूपमा गोर्खा मिडियामा लगेको प्रहरीको दाबी छ।
सहकारी ठगीकै रूपमा प्रहरीले गरेको अनुसन्धान अनुसार १५ करोडभन्दा माथि लामिछानेको भागमा बिगो पर्ने देखिन्छ। ‘सहकारी ठगीको बिगोका रूपमा हेर्ने हो भने १५ करोडभन्दा माथि देखिन्छ, सम्पत्ति शुद्धीकरण र संगठित अपराध अलग्गै मुद्दा हुन्,’ कास्की प्रहरी स्रोतले भन्यो।
प्रहरीले उनी गृहमन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणलाई आधार मानेर अनुसन्धान सुरु गरेको थियो। उनी अमेरिकाबाट फर्किंदासम्म कुनै पनि प्रकारको गणनायोग्य सम्पत्ति नदेखिएको प्रहरीको दाबी छ।
नेपाल आएपछि उनको खातामा अप्रत्यासित रूपमा ६ करोड देखिएको र अमेरिकामा रहेकी पत्नीसँग सम्बन्ध विच्छेद गर्दा पाँच करोड रूपैयाँभन्दा बढी पठाएको देखिएको थियो। तर त्यो रकम पनि वैधानिक तवरबाट पठाएको नदेखिएकाले त्यसबारे पनि थप अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ। गृहमन्त्री बनेपछि बुझाएको सम्पत्ति विवरणमा लामिछानेले आफ्नो खातामा एक लाख १० हजार रूपैयाँ मात्र रहेको उल्लेख गरेका छन्।
निकिताका नाममा बुढानीलकण्ठ नगरपालिका–८ मा पाँच आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रूपैयाँमा खरिद गरेको र त्यसको स्रोत पारिश्रमिक रहेको उल्लेख भए पनि कुन तहबाट पारिश्रमिक लिएको भन्ने खुलाइएको छैन।
काठमाडौं महानगरपालिका–७ मा निकिताकै नाममा १० रोपनी जग्गा रहेको तर त्यो सगोलकै सम्पत्ति भनी लेखिएको छ। यस्तै करिब ८० तोला सुन, १५ देखि २० किलो चाँदी रहेको र अधिकांश सुनचाँदी बुवाआमाबाट प्राप्त भएको तथा केही खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। विभिन्न बैंकमा निकिताको खातामा पाँच लाख ५८ हजार रूपैयाँ रहेको पनि विवरणमा उल्लेख छ।
यस्तै निकिताका नाममा आठ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर, ४२ लाख रूपैयाँमा किनेको कार, तीन करोडको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया र चार वर्षअघि घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ।
साथै प्रहरीले दिएको जानकारीअनुसार उनीविरुद्ध कास्की, रूपन्देही, पर्सा, चितवन र काठमाडौ गरी पाँचवटै जिल्लामा मुद्दा दायर हुनेछ। जसमध्ये स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा सबैभन्दा बलियो प्रमाण रहेको पनि प्रहरीले जनाएको छ। ‘उहाँले सहकारीकै रकमबाट गाडी किनेको देखिन्छ, सहकारीकै रकमबाट अन्य कामहरू पनि गरेको देखिन्छ,’ स्रोतले भन्यो ।
प्रकाशित: २९ मंसिर २०८१ ०६:५८ शनिबार