राजनीति

रवि लामिछानेको 'लास्ट सीट' !

दुई वर्षअघि धुमधामका साथ नेपाली राष्ट्रिय राजनीतिमा उदाएका राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको दिन निको चलिरहेको छैन ।

टेलिभिजनबाट राजनीतिमा निस्किएको छोटो समयमै उनले अनेकन् उतारचढाव भोगे । नागरिकता, पोसपोर्ट हुँदै सहकारी प्रकरणसम्म आउँदा उनले लामै प्रहरी हिरासतमा बिताउनुपर्‍यो ।

सहकारी ठगीसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई पोखरा, काठमाडौं, बुटवल, चितवन र पर्सा जिल्ला पुर्‍याएर सम्बन्धित सहकारीहरूको रकम अपचलनसम्बन्धीको बयान लिइएको छ ।

यहीअन्तर्गत बुधबार मात्रै उनलाई पर्साबाट काठमाडौं हुँदै पोखरा पुर्‍याइएको छ ।

पक्राउ गरेलगत्तै उनलाई पोखरा पुर्‍याएर जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखियो । त्यहाँ सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धीको बयान लिइयो ।

यसपछि उनलाई कात्तिक २७ गते पोखराबाट बुटवल पुर्‍याइयो । उनलाई भैरहवा विमानस्थलमा अवतरण गराइयो, बुद्ध एयरको जहाजको 'लास्ट सीट'मा बसाएर । त्यहाँ उनी चार दिन रहे, कात्तिक ३० गते उनलाई पुन: पोखरा पुर्‍याइयो ।

बुटवल लगिँदै रवि लामिछाने ।

यसपछि उनलाई मंसिर १३ गते काठमाडौं ल्याइयो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा पनि उनी मुछिएका थिए । त्यसबारे बयानका लागि उनी बुद्ध एयरको जहाजकै अन्तिम सीटमा बसेर काठमाडौं आए । उनलाई मंसिर १७ गतेसम्म यहाँ राखियो, उनले बयान दिए ।

र, मंसिर १८ गते चितवन उडे बुद्ध एयरकै जहाजको अन्तिम सीटमा बसेर । १८ र १९ गते उनले त्यहाँको साहारा सहकारीको रकम हिनामिनाबारे बयान दिइसके । त्यहाँबाट भने उनलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याइयो । जो अहिले 'हट केक' बनेको छ ।

लामिछानेले इच्छाविपरीत उनलाई राति नै पोखरा पुर्‍याइयो । यस्तोमा लामिछानेको मानव अधिकारको हनन भएको बहस उठेको छ । यस सम्बन्धमा मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

त्यसपछि लामिछानेलाई मंसिर २४ गते काठमाडौं हुँदै पर्सा (वीरगञ्ज) लगियो, बुद्ध एयरको जहाजको अन्तिम सीटमै राखेर । त्यहाँ तीन दिन रहेका उनले सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइसके र उनलाई पुन: काठमाडौं हुँदै पोखरा पुर्‍याइएको छ । त्यो पनि अन्तिम सिटमै राखेर । 

सुरक्षा जानकार भन्छन्, 'लास्ट सीटमा राख्नु भनेको सुरक्षाकाे कारण नै हो । जहाजमा उनलाई सबैभन्दा अन्तिममा बोर्डिङ गरिन्छ । अन्तिममा चढाइन्छ र सुरुमा उतारिन्छ ।'

काठमाडौं ल्याइँदै रवि लामिछाने ।

दिनको हिसाबले हेर्ने हो भने लामिछाने पक्राउ परेको ठ्याक्कै ५४ दिन भयो । यसबीचमा उनले पाँचवटा सहकारी सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, साहारा र सानो पाइलाको रकम हिनामिनाबारे बयान दिए ।

उनलाई पाँचवटा जिल्ला घुमाइयो, पोखरा, बुटवल, काठमाडौं, चितवन र पर्सा । संयोग नै भन्नुपर्ला, उनी जहाँबाट जहाँ गए पनि अन्मित सीटमा बसे । तर, लामिछानेको राजनीतिक 'करिअर' र उनको रास्वपाको पछिल्लो जनमत हेर्दा भने उनको लास्ट सीट संयोग मात्र हो भन्न स्वाभाविक नहोला कि ! 

२०७९ को संसदीय निर्वाचन हुँदा उनको दल रास्वपा बच्चै थियो, पाँच महिनासम्म राम्रो पुगेको थिएन । तर, निर्वाचनमा २० सिट जित्दै चौथो ठूलो दल बन्यो । जुन अपेक्षा स्वयम् रविले समेत गरेका थिएनन् ।

त्यसपछि बनेका दुईवटा सरकारहरूमा रास्वपाले भाग लियो । त्यसपछि रास्वपा र त्यसका सभापति रवि लामिछानेमाथि अनेकन् तवरले समीक्षा र आलोचना हुन थाल्यो । त्यसपछि भन्न थालियो— रवि लामिछाने पुरानै पार्टीहरूसँग उठबस गर्न थाले, उनी पुरानाभन्दा खराब निस्के ।

यो 'न्यारेटिभ' एक हदसम्म ठीकै पनि थियो । किनभने उनी पुराना दल र तिनका नेताहरूलाई गाली गर्दै, 'नो नट एगेन' भन्दै स्थापित भएका थिए तर, पछि चौथो ठूलो दल बनेपछि भने उनले सरकारमा जानुलाई नै उपलब्धि मान्न थाले । उनी शेरबहादुर देउवा, केपी शर्मा ओली वा पुष्पकमल दाहाल; जोसँग पनि ठीकै भए । यसका प्रति आलोचनाहरू भएका थिए ।

उपनिर्वाचनमा रास्वपाबाट कामपा १६ मा निर्वाचित रोजिना श्रेष्ठ।

त्यसबीचमा उनको प्रहरी हिरासतको बसाइ सुरु भयो । यता उपनिर्वाचनमा होमिएको उनको दल रास्वपा १ पदमा सीमित रह्यो, जबकि निर्वाचन ४४ पदका लागि भएको थियो । यसरी हेर्दा रविको लास्ट सीटको अर्थ फरक आउन सक्छ ।

जे होस्, उनी र उनको दल रास्वपा पहिलेजस्तो कहाँ छ !

प्रकाशित: २६ मंसिर २०८१ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App