राजनीति

यो सरकार बिचौलियाले बनाएको पुष्टि भयोः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।                        

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार बुटवलमा उद्घाटन गर्दै पुनले आफूहरुले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।

‘हाम्रा अध्यक्ष प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने,  ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो ।’  

आफूहरुले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरुले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो । उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए ।  

पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस(एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए ।

उपमहासचिव पुनले पुष्पकमल दाहाल नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धकै कारण अहिलेका राजनीतिक उपलब्धी हासिल भएकाले त्यसलाई अनमुल्यन र अपमान गर्ने कार्य कदापी स्वीकार्य नरहेको टिप्पणी गरे । 

प्रकाशित: १८ भाद्र २०८१ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App