राजनीति

वर्तमान सरकारको सडकबाट निगरानी हुन्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने बताएका छन्।

प्रेस सेन्टर बाँकेले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारका गतिविधि हेर्दा शंका गर्ने ठाउँ प्रशस्त रहेको बताए। ‘यो सरकार अबैध छ, हामी सडकबाट प्रतिकार गर्छौं, त्यो प्रतिकार शान्तिपूर्ण हुनेछ,’ उनले भने।

सरकार गठन प्रक्रिया समेत बैध नभएको दाहालको भनाइ छ। सरकार कसले गठन गरेको हो ? भन्ने कुरा देखिसकेकोले यो सरकारको बैधता नभएको बताए। आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टचारलाई नियन्त्रण गरेको दावि गर्दै भ्रष्टलाई बचाउन यो सरकार बनेको उनले प्रतिक्रिया दिए।

बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न उनले सरकारलाई सुझाव दिए। ‘यस विषयमा पार्टीभित्र बहस र छलफल भइरहको छ, दाहाललाई नै नेतृत्वमा देख्न चाहेका छन्, यहाँहरुले नयाँ नेतृत्व पाउनुहुनेछ,’ उनले भने।

अर्को प्रसंगमा उनले भने, ‘आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन। मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन। अध्यक्षभन्दा म माथि भइसके। टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोँच बनाएको छु’, अध्यक्ष दाहालले भने।

माओवादी अब जनतामा केन्द्रित हुने भन्दै उनले माओवादी जनताकै मुद्दा बोकेर आए र अहिले पनि जनताकै साथमा रहेको बताए।

पार्टीले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्न उनी नेपालगञ्ज आएका हुन्। 

अध्यक्ष दाहलसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, सचिव चक्रपाणी खनाल लगायतका नेताहरू नेपालगञ्ज आईपुगेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले जानकारी दिएका छन्।

प्रकाशित: १६ भाद्र २०८१ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App