राजनीति

गुटबन्दीको भासमा नेकपा एस

नेकपा एमालेबाट विभाजन भई तीन वर्षअघि गठित नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र तीव्र गुटबन्दी देखिएको छ। माधव नेपाल अध्यक्ष रहेको उक्त पार्टीमा सर्वसम्मत पदाधिकारी चयन हुन नसक्नु र पदाधिकारीको निर्वाचनमा नेताहरूले आफ्ना उम्मेदवार भन्दै काखी च्याप्नुमा तीव्र गुटबन्दीको खेलले काम गरेको हो। पदाधिकारी चयनमा अध्यक्ष नेपालले सर्वसम्मत गर्न खोज्दा पनि नसकेपछि निर्वाचनमा जानुपर्‍यो। 

नेपालको नेतृत्वमा २०७८ भदौ ९ गते निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भएको थियो। दल दर्ताको तीन वर्षपछि भएको महाधिवेशनपछि पदाधिकारी चयन हुँदा गुटबन्दी सुरु भएको छ। शीर्ष नेताहरूले नै गुटबन्दी गरेको आरोप केन्द्रीय सदस्यले लगाएका छन् । ३४४ केन्द्रीय सदस्य मतदानमा सहभागी भएर पदाधिकारी चयन गरेका छन्। निर्वाचनमा अध्यक्ष नेपालको तर्फबाट भन्दै एउटा समूहले पदाधिकारीको सूची बाँडेको थियो। त्यस्तै महासचिव घनश्याम भुसालको तर्फबाट भन्दै पदाधिकारीका लागि अर्को सूची बाँडिएको थियो।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको थियो। त्यसबाहेक मंगलबार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाइ सर्वसम्मत चयन भए भने पदाधिकारी मतदानबाट छानिए। पार्टीभित्र र बाहिर चर्चित तत्कालिन सचिव रामकुमारी झाँक्री महिला उपाध्यक्षमा पराजित भइन्। उनलाई जयन्तीदेवी राईले पराजित गरिन्। झाँक्री पराजित भएको विषयलाई लिए सामािजक सञ्जालमा व्यापक चर्चा छ। वरिष्ठ उपाध्यक्ष दाबी गरिरहेका घनेन्द्र बस्नेत, प्रमेश हमाल र वेदुराम भुसाललाई वरिष्ठ नेता बनाउने सहमति भएको छ। उनीहरू सुरुदेखि नेपाललाई सहयोग गर्दै आएका नेता हुन्।

नेकपा एसमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव छाने पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न नसकेपछि पछि गर्ने सहमति भएको थियो। केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि सम्भव नभएपछि निर्वाचनमा जानुपरेको हो । मधेसी समुदायको उपाध्यक्षमा रामचन्द्र झालाई पराजित गर्दै धर्मेन्द्रप्रसाद साह निर्वाचित भएका छन् ।  

खुला उपाध्यक्षहरूमा गंगालाल तुलाधर, जगनाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी विजयी भएका छन्। उनीहरू क्रमशः १८९, १६१, १४५ र १५६ मतसहित विजयी भएका हुन्। चार उपमहासचिवमा मेटमणि चौधरी १५८, रामकुमार खड्का १०७ गरिमा शाह १०७ र राजेन्द्र राई १०६ मत पाएर विजयी भएका छन्। चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो। सात सचिवमा चन्द्रबहादुर शाही, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, टोकबहादुर वाइवा र गणेश विके विजयी भएका छन्। कुँवर १५३, पाण्डे १४१, बराल १०७, भुसाल १०६ र शाही ९१ र मतसहित विजयी भएका हुन। 

वाइवा आदिवासी जनजाति र विके दलित समुदायका तर्फबाट सचिवमा निर्वाचित भएका हुन्। मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगत राजनीति छरपष्ट भएको छ।डा. विजयकुमार पौडेल, विरोध खतिवडा, उर्वादत्त पन्त, रामचन्द्र झा, डा. वंशीधर मिश्र, डा. राजेन्द्रमान श्रेष्ठ, राजन राई, धनराज आचार्य, दिलकुमार पन्तजस्ता चर्चित नेताहरू पराजित भएका छन्। ९७ मत ल्याएर उपमहासचिवमा पराजित भएका जीवनराम श्रेष्ठले कार्यालय सचिव पदबाट राजीनामा दिइसकेका छन्। साउन १८ गते बसेको केन्द्रीय समितिको बैठकले ३४४ जनाको केन्द्रीय समिति घोषणा गरेको थियो।

प्रकाशित: १३ भाद्र २०८१ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App